Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगग्यालेक्सी हस्पिटलको निःशुल्क स्वास्थ्यशिविर

ग्यालेक्सी हस्पिटलको निःशुल्क स्वास्थ्यशिविर


पोखरा । ग्यालेक्सी हस्पिटल प्रालिले पोखरा महानगरपालिका ३३ बागमारामा निःशुल्क स्वास्थ्यशिविर आयोजना गरेको छ । सरस्वती टीका मावि परिसरमा भएको उक्त बृहत् निःशुल्क स्वास्थ्यशिविरमा हाडजोर्नी तथा नशारोग, प्रसूति तथा स्त्रीरोग, सामान्य चिकित्सा, बालरोग, नाक, कान, घाँटी, आँखालगायत रोगका विशेषज्ञ डाक्टरहरुले स्थानीय पाँच सय ८५ जनालाई चेकजाँच गरी औषधि समेत वितरण गरिएको हस्पिटलका अध्यक्ष डा. हेमन्तकुमार मानन्धरले बताए ।

उक्त बृहत् निःशुल्क स्वास्थ्यशिविरमा डा. हेमन्तकुमार मानन्धर, डा. कल्याण बराल, डा. प्रेमराज पंगेनी, डा. सृजना शर्मा, डा. सुरज बराल, डा. सुरेश परियार, डा. रोजिना पौडेल, डा. विक्रमबाबु कार्की, डा. अन्जिता हिराचन, डा. सुमन पराजुलीलगायतले बिरामीलाई निःशुल्क चेकजाँच, स्वास्थ्य परामर्श तथा औषधि वितरण गरिएको र लक्षित समूहमा सेवा उपलब्ध गराउन सकिएको ग्यालेक्सी हस्पिटलका प्रबन्धनिर्देशक दिपेन थापाले बताएका छन् । सो अवसरमा एक सय ६० जनाको निःशुल्क सुगर तथा युरिक एसिड जाँच र एक सय २० जनाको भिडियो एक्स–रे समेत गरिएको थियो ।

आवश्यकताअनुसार बिरामीलाई एक हप्तादेखि तीन महिनासम्मको लागि निःशुल्क औषधि वितरण गरिएको बताइएको छ । २४ घण्टा विशेषज्ञ स्वास्थ्य सेवा दिइरहेको हस्पिटलले अनुभवी तथा दक्ष चिकित्सकबाट अत्याधुनिक स्वास्थ्य प्रविधिको प्रयोग गर्दै पोखरा १० उत्तमचोकबाट सबै प्रकारका रोगको उपचारसहितका स्वास्थ्य सेवा प्रदान गरिरहेको छ भने प्रत्येक हप्ताको सोमबार निःशुल्क हाडजोर्नी तथा नशारोगको क्लिनिक सञ्चालन गरिरहेको छ ।

साथै यस हस्पिटलले नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको सामाजिक सुरक्षा कोष कार्यक्रममा आबद्ध हुने सबै सदस्यहरुलाई सहुलियत दरको मात्र २० प्रतिशत शुल्कमा र उक्त कोषका सदस्यहरुको दुर्घटना भई चोट पटक लागेमा शतप्रतिशत निःशुल्कसहित स्वास्थ्य उपचार तथा परामर्श सेवा उपलब्ध गराइरहेको ग्यालेक्सी हस्पिटलका मेडिकल सुपरिटेन्डेन्ट डा. ऋषिराम ढकालले बताए ।

 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, स्वास्थ्य / जिवनशैली
ट्याग : #page 3

तपाईको प्रतिक्रिया