Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगजजिराको उडान सुरु, राष्ट्रिय ध्वजावाहक उडाउन माग

जजिराको उडान सुरु, राष्ट्रिय ध्वजावाहक उडाउन माग


भैरहवा । खराब मौसमको कारण देखाउँदै भैरहवा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बन्द भएको जजिरा एयरवेजको उडान फेरि सुरु भएको छ । विमानस्थलका प्रवक्ता सुभाष झाका अनुसार कुवेतबाट बिहीबार बिहान सवा ७ बजे ६६ जना यात्रु लिएर आएको जजिराको विमान सवा ८ बजे ९३ जना यात्रु लिएर उडेको हो । जजिराले अब मङ्गलबार, बिहीबार र शनिबार गरी हप्तामा तीन दिन नियमित उडान गर्ने झाले बताए ।

गत जेठ २ गते विमानस्थल उद्घाटनसँगै सोही दिनदेखि उडान सुरु गरेको जजिराले मौसमको कारण देखाउँदै पुस ६ गतेदेखि उडान रोकेको थियो । यसअघि जजिराले उडान सुरु गर्ने विभिन्न मिति तोके पनि उडान भएको थिएन । भैरहवा विमानस्थलबाट एउटा एयरलाइन्सको हप्तामा तीनवटा मात्र उडानले विमानस्थल दिगोरूपमा सञ्चालन हुन नसक्ने भन्दै व्यवसायीले अन्य एयरलाइन्सलाई आकर्षित गर्न नेपाल एयरलाइन्सले पनि उडान गर्नुपर्ने माग गरेका छन् । बन्द भएको जजिरा एयरलाइन्सको उडानले यो क्षेत्र उत्साहित भए पनि यो पर्याप्त नरहेको सोसाइटी फर नेपाल टुर्स एण्ड ट्राभल्स अपरेटरका लुम्बिनी प्रदेश अध्यक्ष सञ्जय बजिमयको भनाइ छ । उनले जजिराले श्रमिकलाई मात्र लक्षित गरी उडान गरेकाले यहाँ पर्यटक लक्षित विमान उडान हुन आवश्यक रहेको बताए । ‘गुणस्तरीय पर्यटकका लागि नेपालकै ध्वजावाहकसँगै हिमालय, बुद्ध एयरलगायतले पनि यहाँबाट अन्तर्राष्ट्रिय उडान गर्नुपर्छ’, बजिमयले भने, ‘नेपाल–भारत, नेपाल–चीनलगायत अन्य बौद्ध धर्मावलम्बी देशहरूमा भैरहवाबाट उडान भरेमात्र विमानस्थलले सार्थकता पाउँछ ।’

करिब ३५ अर्ब रुपैयाँको लागतमा निर्माण भएको विमानस्थलको २०७९ जेठ २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए । त्यसपछि अन्तर्राष्ट्रिय उडानका रूपमा जजिराले कुवेत–भैरहवा–कुवेत उडान सुरु गरेको थियो । सुरुमा उत्साहित जजिराले उडानको केही समयमा नै दैनिक उडान गरिरहेको थियो । तर त्यसको केही समयपछि विभिन्न बहाना बनाउँदै उसले पुनः सातामा तीन उडान गर्दै अन्ततः उडान नै बन्द गरेको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया