Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगडिजिटल उपभोक्ताको अधिकार संरक्षण गर्न नीतिगत तहमै सुधार गर्नुपर्नेमा जोड

डिजिटल उपभोक्ताको अधिकार संरक्षण गर्न नीतिगत तहमै सुधार गर्नुपर्नेमा जोड


काठमाडौं । डिजिटल उपभोक्ताको अधिकार संरक्षण गर्न नीतिगत तहमै सुधार गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा नेपाल दूरसञ्चार प्राधिकरणले आयोजना गरेको कार्यक्रममा सहभागीहरुले कानुनमै डिजिटल उपभोक्ताको अधिकारलाई प्रस्ट पार्नुपर्नेमा जोड दिएका हुन् ।

राष्ट्रिय योजना आयोगका सदस्य डा. राम कुमार फुँयालले उपभोत्ता, सेवा प्रदायक, उत्पादक, नियन्त्रकलगायत सबै क्षेत्रबाट प्रविधिको प्रयोगलाई व्यवस्थित र उपभोक्तामैत्री बनाउन जोड दिनुपर्ने बताए । अहिले ग्रिन डिजिटल रुपान्तरणको अभ्यासहरु भइरहेको हुँदा नेपालले पनि यसतर्फ ध्यान दिएर कार्यक्रमहरु बनाउनुपर्ने र सबैतर्फबाट यसलाई कार्यान्वयनमा जोड दिनुपर्ने बताए । यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव नेत्र सुवेदीले पछिल्लो प्रविधिको विकासक्रमलाई ध्यानमा राख्दै मन्त्रालयले नयाँ कानुन निर्माण तथा विद्यमान कानुनको पुनरवलोकन गरिरहेको जानकारी दिए । दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले डिजिटल उपभोक्ताको अधिकारमा जनचेतनाको खाँचो रहेको बताए । उपभोक्ताहरु पनि आफैँ सचेत हुनुपर्ने र यससम्बन्धी कानुनलाई सुदृढ गरेर उपभोक्ता अधिकारलाई अझ सुनिश्चित गर्न सकिने उनले बताए ।

कार्यक्रममा पूर्वमन्त्री गणेश शाहले प्रविधिको प्रयोगले महिला हिंसा बढेको उदाहरण दिँदै उपभोक्ता सचेतना हरेक स्थानीय निकायहरुमा केन्द्रित गरेर सञ्चालन गर्नुपर्नेमा जोड दिए । अहिले प्रविधि एआई, फाइभजीसँगै ग्रिन तथा इकोफ्रेन्ड्ली हुनुपर्ने अवस्था आइसकेको हुँदा यसतर्फ एक कदम अगाडि बढेर योजना बनाउने र यसतर्फ काम गर्नुपर्नेमा उनले जोड दिए । कार्यक्रममा दुईवटा कार्यपत्र प्रस्तुति समेत भएको थियो । डिजिटल सेवा प्रदायकको नजरबाट क्लिन डिजिटल ट्रान्जिसनबारे कार्यपत्र प्रस्तुत दिँदै डिशहोमका प्रबन्धनिर्देशक सुदिप आचार्यले नीतिगत सुधारमा जोड दिए । प्रविधिका डिभाइसहरु पुनः प्रयोग, रिसाइकल र वातावरणमैत्री बनाउनुपर्नेमा सेवाप्रदायकको जोड रहेको र यसतर्फ नीतिगत सुधार पनि आवश्यक रहेको आचार्यले आफ्नो प्रस्तुतिमा उल्लेख गरे ।

डिजिटल उपभोक्ताको नजरबाट क्लिन डिजिटल ट्रान्जिसनमा कार्यपत्र प्रस्तुत गर्दै अधिवक्ता प्रविण सुवेदीले डिजिटल प्रदूषण बढेको भन्दै व्यक्तिगत डेटा सुरक्षित गर्ने कडा कानुनको आवश्यकता औँल्याए । कन्टेन्ट फिल्टरिङ र डेटा प्राइवेसी कुरामा हामीले तत्काल सम्बोधन गर्नुपर्ने सुवेदीले प्रस्तुतिमार्फत जानकारी दिए । कार्यक्रममा ‘इम्पावरिङ दि कन्जुमर थ्रु क्लिन डिजिटल ट्रान्जिसन’ विषयमा प्यानल डिस्कसन समेत भएको थियो । प्यानल सेसनमा बोल्दै काठमाडौं विश्वविद्यालयका एसिस्टेन्ट प्राध्यापक डा. सुधाम्शु दाहालले भएका कानुन पनि प्रभावकारी रूपमा कार्यान्वयन नभएको बताए । यस्तै प्राधिकरणका निर्देशक अर्जुन घिमिरेले पछिल्लो समय हरेक क्षेत्रमा दूरसञ्चारको प्रयोग भएको बताउँदै डिजिटल प्रदूषणको नियन्त्रण एनटीएले मात्रै गरेर नहुने बताए ।

सन् १९८३ देखि मार्च १५ को दिन विश्वस्तरमा मनाउन सुरु गरिएको विश्व उपभोक्ता अधिकार दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गर्दै मनाउने गरिएको छ । उक्त दिवसको अवसर पारेर दूरसञ्चार प्राधिकरणले सोमबार राजधानीमा विभिन्न मन्त्रालय, नियामक निकायहरु, सेवा प्रदायक, उपभोक्ता अधिकारकर्मी, विज्ञ, सरोकारवाला र उपभोक्ताहरुको उपस्थिति डिजिटल सेवा विस्तारसँगै कन्टेन्टसम्मलाई कसरी सफा र व्यवस्थित गर्ने सन्दर्भमा विशेष कार्यक्रम आयोजना गरेको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया