Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगघोराही सिमेन्टद्वारा ऋण तिर्न आईपीओ बिक्री

घोराही सिमेन्टद्वारा ऋण तिर्न आईपीओ बिक्री

व्यवसाय विस्तारमा छैन योजना


काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडले आज जेठ ३२ गते बिहीबारदेखि सर्वसाधारणलाई प्रिमियममा सेयर बिक्री खुला गरेको छ । सगरमाथा ब्रान्डमा सिमेन्ट उत्पादन गरिरहेको यस कम्पनीले जारी गरेको विवरण–पत्र हेर्दा कम्पनीको आईपीओमा लगानी गर्दा मात्रै पनि जोखिम हुने देखिन्छ ।

कम्पनीको विवरण–पत्रमा भएका विवरणहरू हेर्दा भ्रमपूर्ण रहेको स्पस्ट हुन्छ । धितोपत्रले सार्वजनिक निष्काशन गर्दा समान्यतया एक सय रुपैयाँ अंकित मूल्यमा निष्काशन गर्छ । तर, कम्पनीको राम्रोे आम्दानी छ भने प्रिमियम मूल्य थप गरेर समेत सेयर जारी गर्नसक्ने व्यवस्था छ । यही व्यवस्थाको सदुपयोग गर्दै घोराही सिमेन्टले एक सय रुपैयाँमा तीन सय ३५ रुपैयाँ प्रिमियम थप गरी सर्वसधारणलाई चार सय ३५ रुपैयाँ प्रतिकित्ताका दरले साधारण सेयर बिक्री निष्काशन गरेको हो ।

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ ले पनि प्रिमियममा आईपीओ जारी गर्न केही मापदण्ड तोकेको छ । उक्त नियमावलीको २०७३ को दफा २५ मा प्रिमियममा सेयर निष्काशन गर्ने व्यवस्था छ । यसका लागि पछिल्लो तीन वर्ष खुद मुनाफा भएको हुनुपर्ने, नेटवर्थ बढी हुनुपर्नेलगायतका सर्तहरू तोकिएका छन् । कम्पनीले प्रिमियम मूल्य कसरी निर्धारण भयो भन्ने विवरण विवरण–पत्रमा देखिँदैन ।

कम्पनीले यसअघि वैशाख १९ गतेदेखि जेठ १७ गतेसम्म वैदेशिक रोजगारीमा गएका र उद्योग प्रभावित क्षेत्रका स्थानीयका लागि आईपीओ निष्काशन गरी बिक्री गरिसकेको छ । यसबाहेक समूहिक लगानी कोष र कर्मचारीका लागि छुट्याएको सेयर समेत बाँडफाँट भएको छ । जहाँ कम्पनीमा कार्यरत कर्मचारीहरूले नै छुट्याएजति सेयर किनेका छैनन् । वैदेशिक रोजगारीमा गएका, स्थानीय बासिन्दा, सामूहिक लगानी कोष र कर्मचारीले छुट्याएको मध्ये आठ लाख ७४ हजार तीन सय ८२ कित्ता सेयर बिकेको थिएन । नबिकेका बाँकी सेयर समेत थपेर आजदेखि सर्वसधारणका लागि कुल ६९ लाख ११ हजार छ सय ७० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

बस्तीको बीचमा रहेको उद्योगलाई सार्नुपर्ने मागसहित दाङको घोराहीवासीले आन्दोलन नै गरेका थिए । तर, उद्योगले स्थानीयलाई सेयर दिएर आन्दोलन थामथुम पार्ने प्रपञ्चसहित आईपीओ निष्काशन गर्ने रणनीति लिएको थियो । यसमा कम्पनीले भ्रमपूर्ण विरणहरू राखेर वित्तीय विवरण तयार गरी बोर्डमा पेस गरेको र बोर्डले आँखा चिम्लिएर स्वीकृति दिएको आरोप लाग्दै आएको छ ।

कम्पनीले विवरण–पत्रमा चालू आर्थिक वर्षको पुस मसान्तसम्मको विवरणअनुसार वार्षिक प्रतिसेयर आम्दानी ५० पैसा मात्रै छ । तर, त्यही विवरण–पत्रमा चालू आर्थिक वर्षको अन्तिममा प्रतिसेयर आम्दानी ११ रुपैयाँ ६५ पैसा पुग्ने प्रक्षेपण गरिएको छ । जुन लक्ष्य पूरा नहुने विवरण–पत्रले नै देखाउँछ । आधा वर्षमा ५० पैसा प्रतिसेयर आम्दानी भएको कम्पनीले वर्षको अन्त्यमा ११ रुपैयाँ ६५ पैसा पु-याउँछु भन्दै दिएको विवरणलाई मानेर धितोपत्र बोर्डले प्रतिकित्ता चार सय ३५ रुपैयाँमा सेयर बिक्री गर्न स्वीकृति दिएको छ ।

कम्पनीको विवरण–पत्रमा उल्लेख गरेको प्रक्षेपित विवरण र विगतको तीन वर्षको विवरण हेर्दा पत्यार नलाग्ने विवरणहरू देख्न सकिन्छ । विगतमा नाफा कमाएर राम्रो प्रतिफल दिन नसकेको कम्पनीले अगामी तीन आर्थिक वर्षमा निकै आकर्षक नाफा कमाउने प्रक्षेपण गर्नु त्यति स्वभाविक देखिएको छैन । कम्पनीको प्रतिसेयर आम्दानी आर्थिक वर्ष २०७६/७७ मा एक दशमलव ८३ प्रतिशत, २०७७/७८म ११ दशमलव ९९ प्रतिशत र २०७८/७९ मा छ दशमलव ८१ प्रतिशत रहेको थियो । यसले पनि विगतमा कम्पनीको वित्तीय विवरण राम्रो देखाउँदैन । तर प्रक्षेपित विवरणअनुसार आर्थिक वर्ष २०७९/८० मा ११ दशमलव ६५ प्रतिशत, २०८०/८१ मा १६ दशमलव ३३ प्रतिशत र २०८१/८२ मा २४ दशमलव ५८ प्रतिशत प्रतिसेयर आम्दानी हुने देखाएको छ । जुन पत्याउन सक्ने आधार छैन ।

चालू आर्थिक वर्षको अन्त्यसम्म घोराही सिमेन्टले ४६ करोड २८ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ । यस्तै आर्थिक वर्ष २०८०/८१ मा ६४ करोड ८७ लाख ३४ हजार रुपैयाँ र आर्थिक वर्ष २०८१/८२ मा ९७ करोड ६३ लाख ८१ हजार रुपैयाँ कमाउने प्रक्षेपण गरेको छ ।

कम्पनीको आह्वान पत्र र विवरण–पत्रमा देखाइएका तथ्यांकहरूले कम्पनीमाथि प्रश्न उठाउने प्रशस्तै सुविधा दिएको छ । नेपालका सबैभन्दा ठूलो व्यावसायिक घराना त्रिवेणी ग्रुपको लगानी रहेको यो कम्पनीमा संस्थागत सुशासन पनि देखिँदैन । हुन त त्रिवेणी ग्रुप विगतमा केही गैरकानुनी कारोबारमा संलग्नता भएको भन्दै उजुरबाजुर भएको घराना पनि हो । विशेषगरी लागुऔषध कारोबारमा यो समूह निकै पहिला जोडिएको भन्नेसम्मका समाचारहरू सम्प्रेषण भएका थिए । त्यही कारण पनि हुन सक्छ, यो कम्पनीको साधारण सेयरप्रति लगानीकर्ताहरूको खासै चासो देखिएको छैन ।

यस्तै, नेपाल विद्युत् प्राधिकरणले घोराही सिमेन्टले डेडिकेटेड प्रसारण लाइनको विद्युत् महसुल एक अर्ब २८ करोड रुपैयाँ भुक्तानी नगरेको भनेर पटक–पटक ताकेता गर्दै आएको छ । महालेखापरीक्षकको ६०औँ प्रतिवेदनले पनि उक्त रकम उठाउनुपर्ने उल्लेख गरेको छ । कम्पनीले यो रकम विद्युत् प्राधिकरणलाई तिर्ने हो भने कम्पनीको नेटवर्थमा ठूलो असर पुग्नेछ । यसो भए प्रिमियममा सेयर किन्नेहरूले ठूलो नोक्सानी व्यहोर्नुपर्ने देखिन्छ ।

अझ कम्पनीको गत पुस मसान्तसम्म दीर्घकालीन ऋण आठ अर्ब ८९ करोड ९८ लाख रुपैयाँ र अल्पकालीन ऋण दुई अर्ब ७३ करोड ४३ लाख रुपैयाँ गरी कुल ११ अर्ब ६३ करोड रुपैयाँ बढी ऋण रहेको कम्पनीले ब्याज खर्च जम्मा ३९ करोड रुपैयाँ मात्रै देखाएकोे छ । जुन आफैँमा पत्यार नलाग्दो छ । यी विवरण हेर्दा घोराही सिमेन्टले सर्वसाधारणलाई कम्पनीमा प्रतिनिधित्व गराउने उद्देश्यभन्दा आईपीओ जारी गरेर ऋण तिर्नु रहेको देखिन्छ । सर्वसाधारणबाट उठाएको पुँजी बैंकहरूको ऋण तिर्नमै खर्च हुने विवरण–पत्रमा देखिन्छ । विवरण–पत्रमा व्यवसाय विस्तार तथा नयाँ योजनाका लागि पैसा छुट्याएको छैन ।

कम्पनीले १३ वटा वाणिज्य बैंकलाई करिब साढे तीन अर्ब रुपैयाँ ऋण तिर्ने जनाएको छ । यो ऋण तिरेपछि पनि कम्पनीको ऋण आधा पनि नघट्ने देखिन्छ ।

यी सबै विवरण हेर्दा सर्वसधारणलाई सेयर बिक्री गर्न बदनियतपूर्ण तरिकारले कागजीरूपमा मात्र नाफामा रहेको देखाउने र आईपीओ जारी गरिसकेपछि कम्पनी घाटामा देखाउने यी समूहको रणनीति नै देखिन्छ । त्रिवेणी समूहको यही व्यापारिक रणनीतिको मतियार बनेर धितोपत्र बोर्डले घोराही सिमेन्टलाई आईपीओ जारी गर्न अनुमति दिनु लगानीकर्तामाथि खेलबाड गरेको रूपमा लिनुपर्ने कतिपयले बताएका छन् ।

हुन त बोर्डले यसअघि पनि पैसा र पहुँचको आधारमा यस्ता धेरै कम्पनीहरूलाई कागजी नाफा देखाएकै भरमा सेयर निष्काशन गर्न दिएर लगानीकर्तालाई डुबाएको थुप्रै उदाहरण छन् । तत्कालीन हिमालयन फाइनान्स, नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स कम्पनी यसका उदाहरण हुन् ।

घोराही सिमेन्टको हकमा लगानीकर्ताले एक कित्ताका लागि चार सय ३५ रुपैयाँ तिर्नुपर्छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १० लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी तीन अर्ब ९७ करोड १९ लाख छ सय रुपैयाँको २० प्रतिशतले हुने ७९ करोड ४३ लाख ८० हजार एक सय रुपैयाँबराबरको ७९ लाख ४३ हजार आठ सय एक कित्ता सेयर निष्काशन गरेको हो ।

कम्पनीको क्रेडिट रेटिङ प्रतिवेदनले पनि कम्पनीको सेयरमा लगानी गर्नु कम सुरक्षित भएको उल्लेख गरेको छ । केयर रेटिङ नेपालले घोराही सिमेन्टलाई केयर एनपी ट्रिपल बी माइनस इस्युअर रेटिङ दिएको छ । जुन रेटिङले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ । अर्थात् कम्पनीको सेयर प्रिमियम मूल्यमा लगानीको दृष्टिकोणले खासै सुरक्षित नभएको बुझ्नुपर्छ ।

तर, कम्पनीले धितोपत्र बोर्डसमेतलाई प्रयोग गरेर बदनियतपूर्णरूपमा सेयर खरिद गर्नको लागि सर्वसाधारण लगानीकर्ताहरूलाई आह्वान गरिरहेको छ । कम्पनीको वास्तविकताभन्दा पर रहेको कागजी नाफामा मात्र हेरेर बोर्डले उक्त कम्पनीलाई साधारण सेयर जारी गर्न अनमुति दिएर लगानीकर्ताको हितविपरीत कार्य गरेको यिनै विवरणले पुष्टि गर्छ । यही कारण सर्वसाधारण लगानीकर्ता भ्रमपूर्ण विवरण हेरेर सेयरमा पैसा खन्याउँदा भविष्यमा लगानी डुब्ने जोखिमतर्फ सचेत हुनुपर्छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया