Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठअटो बजारनाडा र इनस्योरबीच सम्झौता

नाडा र इनस्योरबीच सम्झौता


काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र नेपालमा दिगो तथा सम्मानित रोजगारीका लागि सिप परियोजना (इनस्योर) बीच अटोमोबाइल क्षेत्रका कर्मचारी तथा प्राविधिकहरूलाई तालिम प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौतामा नाडाका अध्यक्ष डा ध्रुव थापा र इनस्योरका टिम लिडर रवीन्द्रबहादुर सिंहले हस्ताक्षर गरेका हुन् । नाडाको सचिवालयमा बुधबार नाडाका पदाधिकारीहरू, नाडाअन्तर्गत गठित सिप विकास इकाईका सदस्यहरू तथा स्वीस सरकारको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हेल्भेटासअन्तर्गत रहेको नेपालमा दिगो तथा सम्मानित रोजगारीका लागि सिप परियोजनाका उच्च अधिकारीहरूको समुपस्थितिमा बृहत् तालिम सञ्चालनका लागि उक्त सम्झौता भएको हो । त्यस्तै, सो कार्यलाई अघि बढाउन दुवै संस्थाको सहमतिमा नियम र सर्तहरू (टीओआर) समेत तयार गरिएकोे छ ।

नाडाका सदस्य कम्पनीहरूमा कार्यरत कर्मचारी, प्राविधिज्ञलगायत नयाँ कर्मचारी र प्राविधिकहरूलाई दक्ष र सिपयुक्त बनाउनका लागि यो सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर गरिएको हो । यसका लागि दुवै संस्थाको सहमतिमा २४ महिने र १२ महिने पाठ्यक्रम तयार गरी आवश्यक तालिम प्रदान गर्ने व्यवस्था गरिने छ, जसका लागि नाडाका सदस्य कम्पनीहरूले आफ्ना आवश्यकतानुसार कर्मचारी तथा प्राविधिकहरूलाई तालिम दिन सिफारिससमेत गर्नेछ । जसमा सैद्धान्तिक तथा व्यावहारिक दुवै खालको तालिम समावेश हुनेछ । नाडाले आफ्नो इतिहासमा पहिलोपटक यस्तो तालिम सञ्चालन गर्न लागेको हो  । नाडाले यसलाई दीर्घकालसम्म सञ्चालन गर्ने उद्देश्य राखेको जनाएको छ । यस किसिमको तालिमले अटोमोबाइल क्षेत्रमा सहजरूपमा दक्ष जनशक्ति पूर्ति हुने विश्वास नाडाले लिएको छ । यसका लागि नाडाले छुट्टै कर्मचारी र कार्यालयसमेतको व्यवस्था गरिसकेको छ । नाडाले यस किसिमका कार्यहरू सुचारु गर्न सिप विकास इकाईसमेत गठन गरेको छ ।


क्याटेगोरी : अटो बजार, कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया