Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनआईसी एसिया बैंकबाट ग्राहकको करोडौँ रुपैयाँ चोरी

एनआईसी एसिया बैंकबाट ग्राहकको करोडौँ रुपैयाँ चोरी

इमेल र फोनमार्फत ग्राहकको गुनासो संकलन गर्दै बैंक


विष सेवन गरेर शाखाप्रमुख आईसीयूमा भर्ना

काठमाडौं,बैंक पैसा राख्ने सबैभन्दा सुरक्षित स्थान हो । विश्वभर नै बैंकलाई वित्तीय मध्यस्थकर्ताको रूपमा लिइन्छ । बैंकमा पैसा राख्नु आफ्नो कमाइलाई पारदर्शी र सुरक्षित बनाउनु हो । बैंकमा बचत गरिएको रकम सुरक्षित हुन्छ भनेर आम नागरिकलाई विश्वस्त पार्ने काम बैंकबाट हुने गरे पनि त्यही बैंकले आम नागरिकको बचत थाहै नदिई चोरी गरिदिने घटनामा वृद्धि भएको छ ।पछिल्लो समयमा बैंकमा नयाँ–नयाँ प्रविधिको प्रयोग भएर ग्राहकलाई बचत सुरक्षित छ भन्ने विश्वास दिलाउँदै बैंककै कर्मचारी/शाखाप्रमुखले बचतकर्ताको रकम धमाधम चोरी गर्नेगरेको भेटिएको छ । बचतकर्ताको रकम चोरीको पछिल्लो उदाहरण बनेको छ, एनआईसी एसिया बैंक लिमिटेड ।

एनआईसी एसिया बैंकको ललितपुरको खुमलटारस्थित शाखाप्रमुख अभिनाष कर्णले नै बचकर्ताहरूले जम्मा गरेको रकम चोरी गरेपछि अहिले बैंकले उजुरी गर्ने ग्राहकलाई बैंकको इमेल ठेगाना दिएर उनीहरूको हराएको रकमको एकिन विवरण संलकन गर्न थालेको छ । बैंकले अहिलेका नयाँ शाखाप्रमुखको फोनबाट पनि गुनासो सुन्ने काम गरिरहेको छ । यद्यपि बैंकले पैसा हराउने बचतकर्ताहरूलाई सूचना प्रकाशित गरेर उजुरी गर्न आह्वान भने गरेको छैन ।

सूचना प्रकाशित गरेर रकम हराउने ग्राहकको गुनासो संकलन गर्दा हल्ला हुने भएको कारण जस–जसले पैसा खाताबाट हरायो भनेर बैंकको शाखाप्रमुखको मोबाइल नम्बरमा फोन गर्छन् उनीहरूलाई मात्र इमेल ठेगाना दिएर गुनासो बुझ्ने काम उक्त शाखाकी नयाँ प्रमुखले गरिरहेकी छिन् ।मंगलबार साँझ कार्यालयपछिको समयमा पनि केही ग्राहकले आफ्नो पैसा हराएको भनेर गरेको फोन रिसिभ गर्दै यही असार १ गतेदेखि उक्त शाखाप्रमुखको पद सम्हाल्न पुगेकी सञ्जीवा श्रेष्ठले सबै विवरण इमेल ठेगानामा पठाइदिन आग्रह गरेकी थिइन् । एक ग्राहकले फोन गरेर आफ्नो खाताको रकम हराएको विवरण दिएलगत्तै आर्थिक दैनिकले साँझ ७ बजेर ३६ मिनेट जाँदा फोन गर्दा नयाँ शाखाप्रमुख श्रेष्ठले फोन रिसिभ गरिनन् र ७ बजेर ४१ मिनेट जाँदा भने कल ब्याक गरेकी थिइन् । तर, आर्थिक दैनिकबाट फोन गरेको भनेपछि उनले आफूलाई पैसा हराएको बारेमा केही थाहा नभएको प्रतिक्रिया दिइन् ।

‘कसले फोन गर्नुभएको रहेछ भनेर मात्र कल ब्याक गरेको हो । बचतकर्ताको पैसा हराएको बारेमा मलाई आधिकारिकरूपमा केही थाहा छैन । थाहा नभएको कुरा मैले कसरी भनौँ’, उनले आर्थिक दैनिकसित भनिन्, ‘यसअघिका शाखाप्रमुख रिकभरी शाखामा ट्रान्सफर भएपछि म असार १ गतेदेखि यो शाखामा आएकी हुँ ।’

बचतकर्ताहरूका अनुसार उक्त बैंकको खुमलटार शाखाबाट पैसा हराएको गत पुस/माघदेखि थाहा भएको हो । यसबारेमा तत्कालीन शाखाप्रमुख कर्णसँग बचतकर्ताहरूले कुरा गर्दा कसरी यस्तो भयो, म खोज्दै छु, तपाईँहरूको पैसा हराउँदैन भन्ने आश्वासन दिने गरेका थिए । तर, महिनौँ बित्दा पनि उनले खाताबाट पैसा हराउने बचतकर्तालाई पैसा फिर्ता दिनुको सट्टा विभिन्न ठाउँमा ट्रान्सफर गरेको भेटिएको छ । ग्राहकले गुनासो गर्दै पैसा माग्न थालेपछि बैंक व्यवस्थापनले कर्णलाई सो शाखाबाट हटाएर त्यहाँ अनुसन्धानका लागि सञ्जीवा श्रेष्ठलाई पठाएको हो । कर्ण शाखाप्रमुख हुँदा प्रयोग गर्नेगरेको मोबाइल नम्बर श्रेष्ठलाई दिइएको छ । सो नम्बरबाट पैसा हराउने बचतकर्ताको पहिचान हुने र कर्णको बदमासी पत्ता लाग्ने भएको कारण बैंकले अफिस समयपछि पनि फोन रिसिभ गर्ने र कल ब्याक गर्न नयाँ शाखाप्रमुख श्रेष्ठलाई निर्देशन दिएको स्रोतले जानकारी दिएको छ ।

कर्ण खुमलटार शााखामा २०७७ सालदेखि प्रमुखका रूपमा कार्यरत थिए । स्रोतका अनुसार कर्णले बचतकर्ताको पाँच÷सात लाखदेखि ४०÷५० लाख रुपैयाँसम्म चोरी गरेका छन् । ‘कर्णले खुमलटार शाखाबाट बचतकर्ताको करोडौँ रुपैयाँ चोरी गरेको देखिन्छ’, एक ग्राहकले मंगलबार आर्थिक दैनिकसित भने ।

शाखाप्रमुख कर्णले नै बचतकर्ताको करोडौँ रकम खाताबाट चोरी गरेपछि बैंकले थप कारबाही अगाडि बढाएपछि उनले विष सेवन गरेका छन् । विष सेवन गरेपछि कर्णलाई उपचारका लागि यही असार १७ गते आइतबार बूढानीलकण्ठ नगरपालिका–१३ घट्टचोकमा रहेको करुण अस्पतालको आईसीयूमा भर्ना गरिएको छ । कर्णको स्वास्थ्य अवस्थाका बारेमा आर्थिक दैनिकले उक्त अस्पतालमा फोन गर्दा एक जना डाक्टरले उनी उपचाररत रहे पनि आफूले फोनमा उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिन अस्वीकार मात्र गरेनन् आफ्नो नाम पनि भन्न चाहेनन् । आर्थिक दैनिकले मैले आफ्नो परिचय दिएर फोन गरेको छु, तपाईँले पनि आफ्नो नाम भन्नुहोस् भन्दा उनले म डाक्टर हो तर नाम भन्दिनँ र फोनमा कर्णको स्वास्थ्य अवस्थाको बारेमा पनि जानकारी दिन सक्तिनँ भन्ने जवाफ फर्काएका थिए । उक्त करुण अस्पतालको ०१५१२८२०१ नम्बरमा राति १० बजेर १९ मिनेटमा आर्थिक संवाददाताले फोन गरेका थिए । आफूलाई फोन किन दिएको भनेर ती डाक्टरले फोन नै नराखी फोन दिने कर्मचारीलाई हप्काएका थिए ।

आफ्नै शाखाप्रमुखले बचतकर्ताको रकम चोरी गरेर फिर्ता नगर्ने र बैंकले चोरी गर्ने शाखाप्रमुखमाथि अनुसन्धान थालेपछि विष सेवन गरेर अस्पतालको आईसीयूमा भर्ना भए पनि बैंकका मुख्य गुनासो व्यवस्थापन अधिकारी अर्जुनराज खनियाँले भने कुन कर्मचारी बिरामी पर्छ, को सुत्केरी हुन्छ आफूलाई जानकारी नहुने भन्दै गैरजिम्मेवारपूर्ण जवाफ दिए । आर्थिक दैनिकले कोको कर्मचारी बिरामी छन् भनेर सोधेको थिएन । खुमलटारका पूर्वशाखाप्रमुख कर्णले विष सेवन गरेर करुणा अस्पतालमा भर्ना भएको हो÷होइन भनेर सोधेको थियो ।

ग्राहकको पैसा हराएको जानकारी पहिला बैंकमा आउनुपर्नेमा अहिलेसम्म नआएको भन्दै पत्रिकामा कसरी उक्त जानकारी गयो भनेर खनियाँले जानकारी दिने बचतकर्ताको नाम सोध्ने प्रयत्न गरेका थिए । ‘अहिलेसम्म कुनै पनि ग्राहकले पैसा हराएको जानकारी÷उजुरी बैंकमा दिएका छैनन्’, खनियाँले आर्थिक दैनिकसित भने ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया