Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारवित्तीय अपराधमा बढ्यो प्रविधिको प्रयोग

वित्तीय अपराधमा बढ्यो प्रविधिको प्रयोग

अनलाइन बैंकिङमा पहुँच पु-याई एक वर्षमा नौ करोड २२ लाख ठगी


काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले केही वर्षयता अनलाइन बैंकिङ सेवा प्रवाहमा विशेष जोड दिँदै आएका छन् । इन्टरनेटको सहज पहुँच र बैंकहरूको डिजिटल बैंकिङ प्रवर्द्धनका कारण अनलाइन बैंकिङमा मानिसहरूको आकर्षण बढिरहेको छ । राष्ट्र बैंकको तथ्यांकले पनि अनलाइन बैंकिङका प्रयोगकर्ताहरू बढ्दै गएको देखाउँछ । भुक्तानी र कारोबारका लागि सहज र सजिलो मानिएको अनलाइन बैंकिङका जोखिमहरू पनि उत्तिकै छन् ।

वित्तीय अपराधमा प्रविधिको प्रयोग बढ्दै गएको देखिएको छ । केही वर्षअघिसम्म पनि डकैती, लुटपाटलगायतका गतिविधिमार्फत नगद रकम चोरी हुनेगरेकोमा पछिल्लो समय अनलाइन बैंकिङमा पहुँच पु-याई रकम चोरी हुने क्रम बढेको हो ।

जिल्ला प्रहरी परिसरको कार्यालय काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीका अनुसार पछिल्लो एक वर्षमा अनलाइनमार्फत ग्राहकको खातामा अनधिकृत पहुँच पु-याई, भुक्तानी प्रदायक कम्पनीमार्फत नौ करोड २२ लाख ८१ हजार छ सय ४५ रुपैयाँ ठगी भएको छ । आर्थिक वर्ष २०७९/८०को असार ३१ गतेसम्म अनलाइनमार्फत रकम ठगी भएको घटनाका विषयमा छ सय दुईवटा उजुरी दर्ता भएका छन् । यी छ सय दुई उजुरीबाट उक्त परिमाणमा रकम ठगी भएको देखिएको हो । परिसरप्रमुख कार्कीका अनुसार पार्सल तथा डलर पठाई करबापतको रकम जम्मा गर्न लगाई ठगी गरेको सम्बन्धी विषयमा एक सय २६ वटा निवेदन दर्ता हुँदा उक्त शीर्षकमा मात्र तीन करोड ४६ लाख ५० हजार चार सय १० रुपैयाँ ठगी भएको देखिएको छ । यसैगरी वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी ठगी गरेको शीर्षकमा ४४ वटा निवेदन दर्ता हुँदा दुई करोड २४ लाख ७८ हजार चार सय ५१ रुपैयाँ ठगी भएको देखिएको छ । बैंक खातामा अनधिकृतरूपमा पहुँच पु-याई रकम चोरी शीर्षकमा एक सय सातवटा निवेदनमार्फत एक करोड आठ लाख ९७ हजार आठ सय ४७ रुपैयाँ ठगी भएको परिसरप्रमुख कार्कीले जानकारी दिए । अनलाइन सामान तथा सेवा खरिदबिक्री गर्दा हुने ठगी शीर्षकमा एक सय पाँचवटा निवेदन दर्ता हुँदा ४३ लाख ४० हजार पाँच सय ७८ रुपैयाँ ठगी भएको देखिएको छ ।

सामाजिक सञ्जालमा पहुँच पु-याई ठगी गरेको शीर्षकअन्तर्गत भने २१ वटा उजुरीका आधारमा सात लाख ८८ हजार रुपैयाँ ठगी भएको देखिएको छ । चिट्ठा परेको भनी ठगी गरेको शीर्षकअन्तर्गत भने २७ वटा निवेदन दर्ता हुँदा ५२ लाख ६१ हजार सात सय ३१ रुपैयाँ ठगी भएको खुलेको छ । यसैगरी रकम डबल हुन्छ भनी ठगी शीर्षकमा भने २३ वटा निवेदन दर्ता हुँदा ५७ लाख १८ हजार एक सय ४० रुपैयाँ ठगी भएको देखिएको छ । अन्य ठगीअन्तर्गत भने ५३ वटा निवेदन दर्ता भएको आधारमा ८१ लाख ४६ हजार चार सय ८८ रुपैयाँ ठगी भएको खुलेको छ । यसैगरी साइबर अपराध र अन्य शीर्षकमा पनि क्रमशः ६१ र ३५ वटा निवेदन दर्ता भएका छन् । यी दुई शीर्षकमा कति रकम ठगी भएकोे छ खुलेको छैन ।

परिसरप्रमुख कार्कीका अनुसार आर्थिक वर्ष २०७९/८०मा अनलाइन ठगीसम्बन्धी छ सय दुईवटा निवेदन दर्ता भएकोमा २० वटा निवेदनको मुद्दा दर्ता भएको छ । दर्ता भएको कुल निवेदन संख्यामध्ये ५२ वटा मिलापत्र भएका छन् भने पाँच सय ३० वटा अनलाइन ठगीसम्बन्धी मुद्दा अनुसन्धानकै चरणमा रहेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया