Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमंगलबारबाट दैनिक दुुई घण्टा सेयर कारोबार खुला हुने

मंगलबारबाट दैनिक दुुई घण्टा सेयर कारोबार खुला हुने


काठमाडौं, वैशाख २८
नेपाल स्टक एक्सचेन्जको नियमित सेयर कारोबार कक्ष आगामी मंगलबारबाट खुला हुने भएको छ । नेप्सेका प्रमुुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदका अनुसार नेपाल धितोपत्र बोर्डको निर्देशन पश्चात यही वैशाख ३० गतेबाट दैनिक दुुई घण्टा अर्थात् ११ बजेदेखि एक बजेसम्मको लागि सेयर कारोबार खुला गर्न लागिएको हो ।

नेपाल सरकारको यही वैशाख २४ गतेको निर्णयअनुुसार बैक तथा वित्तीय संस्था, धितोपत्र, सहकारीमार्फत आवश्यक सेवा प्रवाह गर्ने निर्णयअनुसार शुुक्रबार नेपाल धितोपत्र बोर्डको कार्यलयमा धितोपत्र बजार सम्बद्ध पक्षहरू नेपाल स्टक एक्सचेन्ज, सिडिएस, मर्चेन्ट बैंकर, डीपी ब्रोकर आदिसँग भएको छलफलपश्चात् यही वैशाख ३० गतेबाट आंशिकरूपमा सेयर कारोबार खुला गर्न लागिएको हो, प्रमुख कार्यकारी साउदले भने । उक्त दिनबाट प्रारम्भिक कारोबार सत्रमा मूल्य प्रविष्टी गर्दा अघिल्लो दिनको अन्तिम मूल्यको एक प्रतिशतसम्म परिवर्तन हुन सक्ने र कारोबार आदेश प्रविष्टी गर्दा दुुई प्रतिशतसम्म परिवर्तन हुनसक्ने व्यवस्था गरी समग्रमा दिनको तीन प्रतिशतभन्दा बढी परिवर्तन हुन नदिने व्यवस्था गर्ने निर्णय पनि बोर्डले गरेको र सोहीअनुुरूप कारोबार खुल्छ, उनले भने ।

धितोपत्रको बिक्रीको भुक्तानी गर्दा अनिवार्यरूपमा आईपीएस वा विद्युतीय माध्यममार्फत गर्नुपर्ने र धितोपत्र खरिद गर्दा आईपीएस वा विद्युतीय माध्यममार्फत गर्न प्रोत्साहित गर्ने तर २०७७ श्रावणदेखि अनिवार्यरूपमा विद्युतीय माध्यमबाट मात्र गर्नुपर्नेछ । लगानीकर्तालाई मेरो सेयर खाता खोली सोही खाताबाट अनिवार्यरूपमा ईडीआईएसमार्फत राफसाफ गर्ने व्यवस्था गर्ने र २०७७ असार मसान्तसम्म मेरो सेयरको नयाँ खाता खोल्दा कुनै पनि शुल्क नलाग्ने व्यवस्था कायम गर्नुुपर्नेछ । बोर्डको निर्देशनअनुसार सम्पूर्ण निक्षेप सदस्यको केन्द्रीय कार्यालयमार्फत राफसाफको व्यवस्था मिलाउनुु पर्ने छ ।

धितोपत्र दलालले विनियमावलीमा व्यवस्था भएबमोजिमको लगानीकर्ताबाट अनिवार्यरूपमा मार्जिन लिने विद्यमान प्रावधानलाई कडाइका साथ लागू गर्ने निर्णय पनि बोर्डले गरेको छ । यसैगरी नेप्से परिसूचक २ प्रतिशतले घटी वा बढी भएमा सो दिनको कारोबार बन्द गर्ने, २०७७ असारसम्म अनलाइनबाट कारोबार गर्ने लगानीकर्ताहरूसँग पासवर्ड र युजर आईडी प्राप्त गर्न ग्राहकसँग कुनै शुल्क नलिने व्यवस्था गर्ने निर्णय पनि बोर्डले गरेको छ । २०७७ श्रावणदेखि नियमानुसार तोकिएको शुल्क तिरेर मात्र ग्राहकले पासवर्ड र युजर आईडी लिनसक्ने व्यवस्था कार्यान्वयनमा ल्याउने निर्णय पनि बोर्डले गरेको छ ।

यसैगरी सीडीएसको सिस्टमबाट आउने एभरेज प्राइसलाई धितोपत्र दलालले म्यानुअल इन्टी गर्न नपर्ने व्यवस्था रहेको हुँदा सोअनुरूप कारोबार गर्ने व्यवस्था मिलाउन पनि बोर्डले निर्देशन दिएको छ । लगानीकर्ताहरूको गुनासा सुन्ने र समाधान गर्ने सम्बन्धमा हेल्प डेक्सको व्यवस्था गर्ने र सोको जानकारी दिने, नेप्से र सिडिएसले आवश्यक सेफ्टी प्रोटोकल बनाई आफ्नो र धितोपत्र दलाल, निक्षेप सदस्य, मर्चेन्ट बैंकरले लागू गर्ने व्यवस्था गर्ने निर्णय गरेको छ । नेप्से, सीडीएस, मर्चेन्ट बैंकर, डिपी ब्रोकर कार्यालय सञ्चालन गर्दा नेपाल सरकारबाट निर्णय भएअनुसार कुल कर्मचारीको एक तिहाइ कर्मचारीबाट आलोपालो गरी कार्यालय सञ्चालन गर्ने व्यवस्था गर्न पनि बोर्डले निर्देशन दिएको छ ।

नेप्से, सिडिएस, मर्चेन्ट बैंकर, डीपी ब्रोकर ककार्यालयलाई सवारी साधनको लागि सवारी पासको आवश्यक परेमा आफ्नो कार्यालयमा भएका सवारी साधनहरूमध्ये एक चौथाइ सवारी साधनलाई मात्र बोर्डले सवारी पास उपलव्ध गराउनेछ । सोको लागि सम्बन्धित कार्यालयको कार्यालय प्रमुखले सावरी साधनको नम्बरसहित पत्राचार गरी बोर्डसमक्ष अनुरोध गर्ने, धितोपत्र बजारमा लगानीकर्तालाई कुनै विशेष अवस्थामा कारोबारको सन्दर्भमा एक पटकको लागि सवारी पासको आवश्यकता परेमा ब्रोकरको सिफारिससहित बोर्डमा सम्पर्क राख्नसक्ने व्यवस्था पनि बोर्डले गरेको छ ।

नेप्सेसहित सीडीएस, मर्चेन्ट बैकर, डीपी ब्रोकरको कार्यालय आगामी आइतबारबाट सञ्चालन गर्ने र धितोपत्रको दोस्रो बजार कारोबार यही वैशाख ३० गते मंगलबारबाट सञ्चालन गर्ने निर्णय पनि बोर्डले गरेको र सोहीअनुसार बजार खुला हुुने प्रमुख कार्यकारी साउदले बताए ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया