Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमहँगीले नागरिकको जीवन कष्टकर

महँगीले नागरिकको जीवन कष्टकर


काठमाडौं । महँगीले नागरिकको दैनिक जीवन कष्टकर बन्दै गएको भए पनि राष्ट्र बैंकले सार्वजनिक गरेका केही आर्थिक सूचकहरु भने सकारात्मक देखिएका छन् । राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको पुस मसान्तसम्मको प्रतिवेदनअनुसार रेमिट्यान्स आप्रवाह र विदेशी मुद्रा सञ्चिति बढेको छ भने शोधनान्तर खाता र चालू खाता बचतमा देखिएको छ । वैदेशिक व्यापार पनि एक वर्षअघिको तुलनामा घटेको छ । मंसिरको तुलनामा पुसमा महँगी बढेको छ । सेवा आयमा पनि दबाब परेको छ । पर्यटन आयभन्दा विदेश भ्रमण र पढ्न जानेले गरेको खर्च बढी देखिएको छ ।

मूल्यवृद्धि पाँच दशमलव २६ प्रतिशत
पुसमा वार्षिक विन्दुगत उपभोक्ता मूल्यवृद्धिदर (मुद्रास्फीति) पाँच दशमलव २६ प्रतिशत देखिएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा दुई प्रतिशत विन्दुले कम हो । गतवर्ष पुसमा मूल्यवृद्धिदर सात दशमलव २६ प्रतिशत थियो ।

एक वर्षअघिको तुलनामा मूल्यवृद्धि कम देखिए पनि मंसिरको तुलनामा पुसमा बढेको छ । मंसिरमा मूल्यवृद्धिदर चार दशमलव ९५ प्रतिशत थियो । कात्तिकसम्म लगातार उच्च मूल्यवृद्धि भएकामा त्यसपछि केही कम हुँदै गएको थियो तर पुसमा फेरि बढेको छ ।

पुसमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति पाँच दशमलव ७७ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति चार दशमलव ८५ प्रतिशत छ । घ्यू तथा तेल, तरकारी, मासु तथा माछा र यातायात उपसमूहको मूल्य सूचकांक घटेको छ । मरमसला र चिनी तथा चिनीजन्य वस्तु उपसमूहमा पनि कमी आएको छ । तलब तथा ज्यालादर र थोक मूल्य सूचकांकको वृद्धिदरमा पनि कमी आएको छ । घ्यू तथा तेलको मूल्य १३ दशमलव शून्य सात, तरकारी एक दशमलव शून्य चार र मासु तथा माछा शून्य दशमलव शून्य छ प्रतिशतले घटेको छ ।

मरमसलाको मूल्य ३५ दशमलव छ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ११ दशमलव ३८ प्रतिशत, दाल तथा गेडागुडीको ११ दशमलव १४ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १० दशमलव २९ प्रतिशत र फलफूलको १० दशमलव १५ प्रतिशतले मूल्य बढेको छ । यातायात क्षेत्रको मूल्य सूचकांक एक दशमलव ६२ प्रतिशतले घटेको छ । मनोरञ्जन सूचकांक १२ दशमलव ८४ प्रतिशत विविध वस्तु तथा सेवाको नौ दशमलव ७३ प्रतिशत, शिक्षाको आठ दशमलव ९२ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणहरुको पाँच दशमलव १८ प्रतिशत र कपडा तथा जुत्ता चप्पलको चार दशमलव ९६ प्रतिशतले बढेको छ । पुस महिनामा थोक मुद्रास्फीति तीन दशमलव ३६ प्रतिशत छ । गतवर्ष पुसमा यस्तो मुद्रास्फीति नौ दशमलव ८२ प्रतिशत थियो ।

विदेशी विनिमय सञ्चिति १८ खर्ब नाघ्यो
विदेशी विनिमय सञ्चिति बढेको छ । २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँबराबर रहेको विदेशी विनिमय सञ्चिति १८ प्रतिशतले बढेर २०८० पुस मसान्तमा १८ खर्ब १६ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० पुस मसान्तमा १६ दशमलव नौ प्रतिशतले वृद्धि भई १३ अर्ब ६९ करोड पुगेको छ । विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव पाँच प्रतिशत छ ।

आर्थिक वर्ष २०८०/८१ को पहिलो छ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४ महिना १५ दिनको वस्तु आयात र १२ महिना तीन दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको देखिन्छ ।

विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३३ दशमलव आठ प्रतिशत, एक सय दशमलव नौ प्रतिशत र २७ दशमलव सात प्रतिशत छन् । २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८ दशमलव छ प्रतिशत, ८३ प्रतिशत र २५ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

बढ्यो रेमिट्यान्स आप्रवाह
मुलुकले वैदेशिक रोजगारीबाट प्राप्त गर्ने आय अर्थात् रेमिट्यान्स आप्रवाह बढेको छ । पुस मसान्तसम्म रेमिट्यान्स आप्रवाह २५ दशमलव तीन प्रतिशतले बढेर सात खर्ब ३३ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २२ दशमलव छ प्रतिशतले बढेर पाँच अर्ब ५२ करोड पुगेको छ ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या दुई लाख सात हजार नौ सय ७० र पुनः श्रम स्वीकृति लिनेको संख्या एक लाख ३५ हजार चार सय ३५ छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः दुई लाख ७५ हजार छ सय ४३ र एक लाख ४२ हजार पाँच सय ४८ थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर २४ प्रतिशतले वृद्धि भई सात खर्ब ९९ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २२ दशमलव सात प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ ।

चालू खाता एक खर्ब ६१ अर्ब बचतमा
मुलुकको चालू खाता एक खर्ब ६१ अर्ब ६२ करोड रुपैयाँ बचतमा देखिएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ३५ अर्ब ५७ करोड रुपैयाँ घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २७ करोड ९६ लाखले घाटामा रहेको चालू खाता यसवर्ष पुसमा एक अर्ब २१ करोडले बचतमा छ ।

पुँजीगत ट्रान्सफर ३० प्रतिशतले कमी आई तीन अर्ब ११ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी चार अर्ब ५३ करोड आएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर चार अर्ब ४३ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी ७४ करोड ९४ लाख रुपैयाँ मात्रै थियो ।

शोधनान्तर खाता दुई खर्ब ७३ अर्ब बचतमा
समीक्षा अवधिमा शोधनान्तर स्थिति दुई खर्ब ७३ अर्ब ५२ करोड रुपैयाँले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ९२ अर्ब १५ करोड रुपैयाँले बचतमा थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ६९ करोड ७४ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा दुई अर्ब छ करोडले बचतमा देखिएको छ ।

पर्यटन आयभन्दा व्यय बढी
नेपाल घुम्न आउने पर्यटकबाट हुने आयभन्दा विदेश भ्रमण र अध्ययनमा जाने नेपालीले लैजाने विदेशी मुद्रा बढी देखिएको छ । चालू आर्थिक वर्षको छ महिनाको तथ्यांक हेर्दा खुद सेवा आय ३६ अर्ब छ करोड रुपैयाँले घाटामा देखिएको छ ।

साउनदेखि पुस मसान्तसम्मको भ्रमण आय ३९ अर्ब ५६ करोड रुपैयाँ छ । यो आय गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४४ दशमलव चार प्रतिशतले बढी हो । गतवर्ष पुस मसान्तमा भ्रमण आय २७ अर्ब ४० करोड रुपैयाँ थियो ।

यसवर्ष छ महिनामा विदेश भ्रमण र अध्ययनमा जानेले ९२ अर्ब ८७ करोड रुपैयाँ खर्च गरेको राष्ट्र बैंकले जनाएकोे छ । यसमा वैदेशिक शिक्षातर्फ ५८ अर्ब ९५ करोड रुपैयाँ खर्च भएको छ । भ्रमण व्यय ६० दशमलव छ प्रतिशतले बढेको देखिएकोे छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ५७ अर्ब ८२ करोड रुपैयाँ रहेकोमा शिक्षातर्फ ३५ अर्ब ३६ करोड रुपैयाँ बाहिरिएको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया