Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारग्लोबल आइएमई बैंकमा स्वीस इन्भेस्टमेन्ट फन्डको लगानी

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेस्टमेन्ट फन्डको लगानी


काठमाडौं  । स्वीस इन्भेस्टमेन्ट फन्ड फर इमर्जिङ मार्केटले ग्लोबल आइएमई बैंक लिमिटेडलाई १० मिलियन अमेरिकी डलर अर्थात् करिब एक अर्ब ३२ करोड रुपैयाँ लगानी गर्ने भएको छ ।

यससम्बन्धी सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र स्विस इन्भेस्टमेन्ट फन्ड फर इमर्जिङ मार्केटका अध्यक्ष जोर्ग फ्रिडेनले हस्ताक्षर गरेका हुन् । उक्त लगानीलाई बैंकले कृषि, लघु, साना तथा मझौला व्यवसायमा वित्तीय पहुँच बढाउन परिचालन गर्नेछ । यो लगानीको उद्देश्य कृषि, लघु, साना तथा मझौला उद्यमलाई वित्तीय पहुँच प्रदान गर्दै बजारमा प्रतिष्पर्धी बनाउन सहयोग गर्ने, वित्तीय समावेशीकरणमा सुधार गर्ने र रोजगारी सिर्जना गर्ने रहेको छ ।

स्विस इन्भेस्टमेन्ट फन्ड फर इमर्जिङ मार्केटसँगको यस लगानी सम्झौताबाट नेपालको कृषि, लघु, साना तथा मझौला उद्यमको विकासमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । नेपाल स्थित स्विट्जरल्याण्डको दूतावासले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत यो लगानीले नेपालमा कृषि, लघु, साना तथा मझौला व्यवसाय विस्तारका लागि नेपालको ठूलो बैंकसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरेको छ ।

ग्लोबल आइएमई बैंक मुलुकको ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको तीन सय ५४ वटा शाखा कार्यालय, तीन सय ७९ वटा एटीएम, दुई सय ७७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीन वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजार एक सयभन्दा बढी सेवा केन्द्र रहेका छन । ग्लोबल आइएमई बैंक, सबैका लागि बैंकिङ सेवा प्रदान गर्ने बैंक हो, जसले विभिन्न सेवा तथा सुविधासहितका योजनामार्फत आफ्ना ४६ लाखभन्दा बढी ग्राहकलाई, उत्कृष्ट सेवा प्रदान गरी लाभान्वित गरिरहेको छ ।

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया