Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनआईसी एसिया बैंकको ‘सर्वश्रेष्ठ बचत तथा मुद्दती खाता’ योजना

एनआईसी एसिया बैंकको ‘सर्वश्रेष्ठ बचत तथा मुद्दती खाता’ योजना


काठमाडौं । एनआईसी एसिया बैंकले सर्वाधिक ब्याजसहितको निक्षेप योजना सार्वजनिक गरेको छ । बैंकले निक्षेप योजनामा आम ग्राहकहरूलाई सर्वाधिक फाइदाहरूले भरिपूर्ण ‘सर्वश्रेष्ठ बचत तथा मुद्दती खाता’ योजना सार्वजनि गरेको हो ।

बैंकको २४औँ वार्षिकोत्सवको उपलक्ष्यमा सार्वजनिक योजनामा ग्राहकहरूलाई उच्च प्रतिफलको साथमा तीन बीमासम्बन्धी सुरक्षाका फाइदाहरू, तीन कर्जासम्बन्धी फाइदाहरू तथा १८ अन्य अतुलनीय फाइदाहरू प्रदान गरेको छ । योजनाअन्तर्गत खाता खोल्ने ग्राहकहरूले २१ लाख रुपैयाँसम्मको तीन प्रकारका बीमा सुविधा प्राप्त गर्न सक्नेछन् । जसअन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा १० लाख रुपैयाँसम्मको बीमा सुविधा, १८ घातक रोगहरूको लागि १० लाख रुपैयाँसम्मको बीमा सुविधा र एक लाखसम्मको औषधि उपचार बीमा सुविधा प्राप्त गर्न सक्नेछन् । औषधि उपचार बीमाअन्तर्गत बैंकले आफ्ना ग्राहकहरूलाई अझ विशेष सुविधा दिने उद्देश्यले बहिरंग उपचारमा २० हजारसम्म र अस्पताल भर्नाबापत ८० हजारसम्मको बीमा सुविधा प्रदान गर्नेछ ।

उल्लिखित बीमा सुविधाहरू बैंकले नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडसँगको सहकार्यमा खातावाललाई प्रदान गर्नेछ । बैंकले २० चैत २०७५ देखि खातावालालाई बचतसँगै बीमा सुविधा उपलब्ध गराउँदै आएको छ । यसअघिका बचत खाताहरूमा प्रदान गरेको बीमा सुविधालाई ग्राहकहरूले अत्यन्त मन पराएकाले यो बचत योजनामा समेत उक्त योजनालाई निरन्तरता दिइएको छ । सोही बीमासहितको निक्षेप योजनाअन्तर्गत हालसम्म देशभरका छ सय १० जनाभन्दा बढी ग्राहकहरूले बीमाबापतको तीन करोड ८५ लाखभन्दा बढी रकम प्राप्त गरिसकेको बैंकले जानकारी दिएको छ । बैंकको यस बचत खाताले ग्राहकहरूको बचतमा उच्चतम प्रतिफल मात्रै नभएर भविष्यमा आइपर्ने भवितव्यको लागि वित्तीय जोहो गर्न समेत महत्वपूर्ण योगदान गर्ने विश्वास लिएको छ । साथै, सर्वश्रेष्ठ बचत खाता भएका ग्राहकहरूले तीन कर्जासम्बन्धी फाइदाअन्तर्गत कर्जामा सहुलियत ब्याजदर, प्रशासनिक शुल्कमा विशेष छुट र पूर्वस्वीकृत कर्जा सुविधा समेत प्राप्त गर्न सक्नेछन् ।

बीमा तथा कर्जासम्बन्धी सर्वाधिक फाइदाहरूका साथसाथै १८ अन्य सर्वाधिक फाइदाहरू सर्वश्रेष्ठ बचत खातामा समाविष्ट गरिएको छ । जसअन्तर्गत पाँच वर्षसम्म निःशुल्क डेबिट कार्ड र मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग सुविधा उपलब्ध गराएको छ । यसका साथै सर्वश्रेष्ठ बचत खातामा पाँच लाखसम्मको निःशुल्क क्रेडिट कार्ड सुविधा, निःशुल्क होम बैंकिङ्ग सुविधा, निःशुल्क लकर तथा लकरको मार्जिन शुल्कमा शतप्रतिशत छुट सुविधा, देशभरका कुनै पनि बैंकको कुनै पनि एटिएम बाट रकम झिक्दा शुल्क नलाग्ने, पोर्टफोलियो म्यानेजमेन्ट सर्भिसमा ५० प्रतिशत छुट लगायतका फाइदाहरू रहेका छन् । साथै सर्वश्रेष्ठ बचत खातामा आकर्षक स्विप इन–स्विप आउट सुविधा समेत रहेको छ । जसअन्तर्गत बैंकले सर्वश्रेष्ठ बचत खातामा दुई लाख भन्दा बढी रकम भएमा उक्त बढी रकमलाई १० हजारले गुणा गर्ने गरी तीन महिनाको मुद्दती निक्षेपमा स्वतः रकमान्तर हुनेछ र सो रकममा १० दशमलव १० प्रतिसतसम्मको ब्याजदर प्रदान गरिनेछ । यसरी मुद्दती निक्षेपमा स्विप इन गरिएको रकम आवश्यकताअनुसार सजिलै झिक्न अर्थात् स्विप आउट गर्न सकिन्छ ।

ग्राहकहरूले आफूअनुकूल हुने र इच्छाइएको रकम बचत गर्नका लागि गुडविल एम्बेसडर, प्राइड र पार्टनर गरी तीन श्रेणीका सर्वश्रेष्ठ बचत खाता योजनाहरूमध्ये कुनै पनि खाता खोल्न सक्ने व्यवस्था गरिएको छ । उल्लेखित तीनै श्रेणीका बचत खाताहरू अनलाइनमार्फत वा नजिकैको शाखा कार्यालय मार्फत खोल्न सकिने व्यवस्था गरिएको छ । यी तीनै श्रेणीका खाताहरूमा वार्षिक आठ दसमलव १० प्रतिसत ब्याजदर प्राप्त हुनेछ भने गुडविल एम्बेसडर श्रेणीको बचत खाताहरूमा अति विशिष्ट सुविधाहरू प्रदान गरिनेछ । गुडविल एम्बेसडर श्रेणीको बचत खाताहरूमा उपलब्ध उल्लेखित २४ विभिन्न सुविधाहरूलाई मौद्रिक मूल्यमा गणना गर्दा एक पटक खाता खोलिसकेपछि ग्राहकहरूले न्यूनतम तीन लाख ३६ हजारभन्दा बढीको फाइदा प्राप्त गर्न सकिने प्रक्षेपण बैंकले गरेको छ ।

सर्वश्रेष्ठ बचत खाता योजनाअन्तर्गत ५५ वर्ष पुगेको ग्राहकहरूले सर्वश्रेष्ठ ज्येष्ठ नागरिक बचत खाता खोली पेन्सनको आधारमा कर्जा सुविधा र होम बैंकिङ्ग सुविधा समेत प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ । त्यसैगरी सन्तानको उज्वल भविष्यका लागि आमाबुवाले आफ्ना छोराछोरीका नाममा सर्वश्रेष्ठ बाबु नानी बचत खाता खोल्न सकिने व्यवस्था गरिएको छ । सर्वश्रेष्ठ बचत योजना अन्तर्गत माथि उल्लेखित बाहेक सर्वश्रेष्ठ नारी बचत खाता, सर्वश्रेष्ठ तलब बचत खाता, सर्वश्रेष्ठ सहज बचत खाता, सर्वश्रेष्ठ विद्यार्थी बचत खाता, सर्वश्रेष्ठ स्वरोजगार बचत खाता र सर्वश्रेष्ठ मासिक निक्षेप खाता रहेका छन् ।

सर्वश्रेष्ठ बचत खातासँगै एक वर्षदेखि १० वर्षसम्मको सर्वश्रेष्ठ मुद्दती निक्षेप योजना समेत रहेको छ जसमा वार्षिक ११ दशमलव १० प्रतिशतसम्मको आकर्षक ब्याजदर सुविधा प्रदान गरिएको छ । साथै सर्वश्रेष्ठ मासिक निक्षेप खाताअन्तर्गत एन आई सी एशिया बैंकका ग्राहकहरूले जम्मा गरेको रकममा ११ दशमलव १० प्रतिशतसम्मको ब्याजदर प्राप्त गर्ने गरी मासिक निक्षेप खातामा रकम स्थानान्तरण गर्न सकिने व्यवस्था गरिएको छ ।

ग्राहकले आफ्नो बचत खाताबाट हरेक महिना कति रकम मासिक निक्षेप खातामा स्थानान्तरण गर्ने भन्ने जानकारी बैंकको शाखामा गएर निर्देशन दिनुपर्ने र स्थानान्तरण गरिने रकम पाँच सय रुपैयाँका दरले गुणन गरेर हुन आउने रकम (जस्तै रू ५००, रू १०००, रू १५०० आदिको अनुपातमा) तय गर्नुपर्ने व्यवस्था गरिएको छ । मासिक निक्षेप खाता तीन महिनादेखि १० वर्षसम्मको लागि खोल्न सकिने साथै ग्राहकहरूले चाहेको समयमा आफैँले मोबाइल बैंकिङ्ग वा इन्टरनेट बैंकिङ्ग प्रयोग गरी थप रकम मासिक निक्षेप खातामा जम्मा गर्न सकिने व्यवस्था गरिएको छ । बैंकले सार्वजनिक गरेको यस सर्वश्रेष्ठ बचत खाता योजनाबाट मुलुकका सबै क्षेत्र, भेग, तह र तप्काका ग्राहकहरूलाई अधिकतम फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

बैकले हाल मुलुकभर रहेका तीन सय ५६ शाखा कार्यालयहरू, चार सय ७३ एटिएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । २७ लाख ३६ हजारभन्दा बढी निक्षेप खाता एवं ९१ हजारभन्दा बढी कर्जा खाता गरी २८ लाख २७ हजारभन्दा बढी खाताहरूमार्फत ग्राहकहरूमाझ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् । देशको कुल जनसंख्यामध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ ।

उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब दुई अर्ब ८३ करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८० प्रतिसत भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया