Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल लाइफ इन्स्योरेन्सको ‘समुन्नत जीवन योजना’

नेपाल लाइफ इन्स्योरेन्सको ‘समुन्नत जीवन योजना’


काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नेपाल लाइफ समुन्नत जीवन’ जीवन बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीले मंगलबार सापेक्ष ग्राहकको चाहना तथा अभिकर्ताहरूको सुझावलाई मध्यनजर गर्दै नयाँ नयाँ जीवन बीमा योजनाहरू ल्याउने क्रममा नेपाल लाइफ समुन्नत जीवन जीवन बीमा योजना सार्वजनिक गरेको हो । कम्पनीका अनुसार यो जीवन बीमा योजना मुनाफामा सरिक हुने सावधिक जीवन बीमा हो ।

विकासोउन्मुख देश र भौगोलिक बनावटका कारणबाट नेपालको जीवनयापनमा जोखिम रहेको पाइन्छ । विकासको गति बढेसँगै ठूला ठूला परियोजनाहरू, हाइड्रोपावरहरू, भवन निर्माणलगायतका निर्माणकार्य तीव्र गतिमा अघि बढेका छन् । यस्तो विकास निर्माणका काममा जोखिम बढिरहेको हुन्छ । साथै अन्य जोखिमयुक्त पेसाहरू जस्तै डाक्टर, इन्जिनियर, बाइक राइडर, फ्याक्ट्री वर्करदेखि लेबरसम्मका पेसा अपनाउने व्यक्तिहरूलाई लक्षित गरेर यो बीमा योजना ल्याएको हो । यसरी बढी जोखिमयुक्त पेसामा लागेका व्यक्तिको एउटै बीमालेखबाट अधिकतम जोखिम बहन गर्ने विशेषता भएको बीमा योजनाको माग भएको सर्वेक्षणका आधारमा कम्पनीले नेपाल लाइफ समुन्नत जीवन बीमा योजना ल्याएको हो ।

Open photo

यस बीमा योजनाको मुख्य आकर्षण भनेको बीमा अवधिभित्र बीमितको दुर्घटनाका कारण मृत्यु भएमा बीमांक रकमको तेब्बर र आर्जित बोनसबीमितका इच्छाइएको व्यक्तिले भुक्तानी प्राप्त गर्न सक्नु हो । यो बीमालेख १८ वर्षदेखि ६० वर्ष उमेरसमूहका व्यक्तिले लिन सक्नेछन् । पाँच वर्षदेखि अधिकतम ३० वर्षसम्म अवधिको बीमा लिन सकिनेछ भने १८ वर्षदेखि ६० वर्षसम्मै घातक रोग उपचार खर्च योजना ऐच्छिक सुविधा लिन सकिनेछ । अतिरिक्त बीमा शुल्क तिरेर बीमांक रकमबराबर वा अधिकतम ५० लाख रुपैयाँसम्मको घातक रोग उपचार खर्च योजनामा सामेल हुन सकिनेछ  । यो बीमालेखको बीमा समाप्ति अधिकतम ६५ वर्ष उमेरमा हुनेछ  । ५० हजारदेखि एक करोड रुपैयाँसम्मको बीमांक रकमको बीमा गर्न सकिनेछ । वार्षिक, अर्धवार्षिक, त्रैमासिक र मासिकरूपमा बीमा शुल्क भुक्तानी गर्न सकिने ‘नेपाल लाइफ समुन्नत जीवन’ जीवन बीमा योजनामा वार्षिक बीमा शुल्क तिर्ने तरिका लिँदा एक प्रतिशत छुट, त्रैमासिक बीमा शुल्क तिर्ने तरिका लिँदा तीन प्रतिशत थप र मासिक बीमा शुल्क तिर्ने तरिका लिँदा छ प्रतिशत थप लाग्नेछ भने अर्धवार्षिक बीमा शुल्क तिर्ने तरिका लिँदा प्रिमियममा थप घट हुने छैन ।

बीमालेख चालू रही बीमा अवधि समाप्त मितिसम्म बीमित जीवित रहेमा बीमा अवधि समाप्तीको अन्त्यमा बीमांक रकम प्लस आर्जित बोनस एकमुष्ट बीमितलाई भुक्तानी दिइनेछ । बीमालेख चालू रही बीमा अवधिभित्र जुनसुकै कारणबाट (बीमालेखअन्तर्गत नपर्ने जोखिमहरूबाहेक) बीमितको मृत्यु भएमा दुई गुणा बीमांक रकम प्लस आर्जित बोनस एकमुष्ट बीमितको इच्छाइएको व्यक्तिलाई भुक्तानी दिइनेछ ।

बीमा अवधिभित्र बीमितको दुर्घटनाको कारणबाट मृत्यु भएमा बीमालेखमा उल्लेख भएको तीन गुणा बीमांक रकम प्लस आर्जित बोनस रकम एकमुष्ट बीमितको इच्छाइएको व्यक्तिलाई भुक्तानी दिइनेछ । यदि कदमकदाचित बीमालेखलाई निरन्तरता दिन नसक्ने अवस्था आएमा वार्षिक तीन किस्ता बीमा शुल्क भुक्तानी गर्नुको साथै बीमा प्रारम्भ मितिबाट तीन वर्ष पूरा भएपश्चात् समर्पण मूल्य प्राप्त गर्न सकिनेछ । वार्षिक तीन किस्ता बीमाशुल्क भुक्तानी गर्नुको साथै बीमा प्रारम्भ मितिबाट तीन वर्ष पूरा भएपश्चात् बीमालेखलाई धितो राखी समर्पण मूल्यको ९० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सकिनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया