Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा ढुंगाना

नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा ढुंगाना


काठमाडौं । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतको पदमा ज्ञानेन्द्र प्रसाद ढुंगाना नियुक्त भएका छन् । बैंकका अनुसार ढुंगानालाई आउँदो असार १७ गतेदेखि लागू हुनेगरी आगामी चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो ।

हाल ढुंगाना कुनै पनि बैंकमा प्रमुख कार्यकारी रहेका छैनन् । उनले गत पुस १६ गतेबाट नै नेपाल बंगलादेश बैंकको प्रमुख कार्यकारी अधिकृृतको पदबाट राजीनामा दिएका थिए । नबिल बैंकसँगको प्राप्ति प्रक्रियामा उल्लेखनीय भूमिका खेलेकै कारण ढुंगानालाई प्राप्तिपछि बन्ने नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतको नियुक्ति गरिएको जानकारी बैंकले दिएको छ । हाल नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा अनिल केशरी शाह रहेका छन् । शाहको कार्यकाल सकिन लागेपछि ढुंगानालाई नबिलले प्रमुख कार्यकारीमा नियुक्त गरेको हो ।

नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्न नबिल बैंकले गत शनिबार मात्र विशेष साधारणसभा सम्पन्न गरेको थियो । सभाले नेपाल बंगलादेश बैंक लिमिटेडलाई एक्विजिसन (प्राप्ति) गर्नेसम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ ।

नेपाल बंगलादेश बैंकको सम्पत्ति र दायित्वको मूल्यांकन प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्थाको आधारमा निर्धारण गरिएको सेयरमूल्य अनुपात १००ः४३ लाई उक्त विशेष साधारणसभाले स्वीकृति प्रदान गरेको छ । जसअनुसार नेपाल बंगलादेश बैंकका सेयरधनीहरूले नेपाल बंगलादेश बैंकको एक सय कित्ताबराबर नबिल बैंक लिमिटेडको ४३ कित्ता सेयर प्राप्त गर्नेछन् ।

उक्त साधारणसभाले नेपाल बंगलादेश बैंक लिमिटेडलाई नबिल बैंक लिमिटेडले प्राप्ति (एक्विजिसन) गर्ने सम्बन्धमा भएको सम्पत्ति, दायित्व, तथा कारोबारको मूल्यांकनकर्ता पीकेएफ टीआर उपाध्याय एन्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्सको नियुक्ति तथा निजलाई भुक्तानी गरिएको पारिश्रमिक, सम्पत्ति तथा दायित्व मूल्यांकन प्रतिवेदन समझदारीपत्र तथा अन्तिम सम्झौतापत्रलगायतका सम्पूर्ण काम कारबाहीहरूलाई अनुमोदन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

२०७८ चैत्र मसान्तको वित्तीय विवरणअनुसार नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरेपश्चात् नबिल बैंकको चुक्ता पुँजी २२ अर्ब ८३ करोड २९ लाख आठ हजार पुग्नेछ भने कर्जा रकम तीन खर्ब नौ अर्ब र निक्षेप रकम तीन खर्ब २० अर्ब रूपैयाँ पुग्नेछ । त्यसैगरी बैंकको गैरकोषमा आधारित व्यवसायको आकार एक खर्ब ४५ अर्ब रूपैयाँ पुग्नेछ ।

प्राप्तिपश्चात् नबिल बैंकको शाखा सञ्जाल वृद्धि भई दुई सय ५४ पुग्नेछ । त्यसैगरी, नौ महिनाको संयुक्त खुद मुनाफा चार अर्ब ४६ करोड रूपैयाँ पुग्नेछ । नेपालको बैंकिङ सेवामा अग्रणी स्थानमा रहँदै आएको नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरेपश्चात् वाणिज्य बैंकहरूमध्ये नबिल बैंकको निक्षेप, कर्जा, गैरब्याज आम्दानी, गैरकोषमा आधारित व्यवसाय, तथा कुल नाफालगायतका विभिन्न सूचकांकहरूमा अग्रणी स्थानमा सुनिश्चित गर्नेछ । यस प्राप्तिसँगै नबिल बैंकले बजारमा आफ्नो नवीन सेवा र थप शाखा सञ्जालमार्फत नयाँ रणनीतिअनुसार बजारमा आफ्नो उपस्थितिलाई थप मजबुत बनाउने छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया