Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबीमा समितिका पदाधिकारी माल्दिभ्स भ्रमणमा : सार्कस्तरीय बीमा नियमनकारी निकायहरूको संगठन सक्रिय बनाउन नेपालद्वारा प्रस्ताव

बीमा समितिका पदाधिकारी माल्दिभ्स भ्रमणमा : सार्कस्तरीय बीमा नियमनकारी निकायहरूको संगठन सक्रिय बनाउन नेपालद्वारा प्रस्ताव


काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल नेतृत्वको टोली माल्दिभ्स भ्रमणमा रहेको छ । समितिको प्रतिनिधिमण्डल र माल्दिभ्सको वित्तीय क्षेत्रको नियमनकारी निकाय माल्दिभ्स मौद्रिक प्राधिकरणका अध्यक्ष अली हासिम नेतृत्वको प्रतिनिधिमण्डलबीच माल्दिभ्सको राजधानी मालेमा भेटवार्ता भएको हो । माल्दिभ्सको बैंक, धितोपत्र बजारसहित बीमा क्षेत्रको समेत नियमन गर्ने निकाय माल्दिभ्स मौद्रिक प्राधिकरणको मालेस्थित कार्यालयमा हिजो द्विपक्षीय भेटवार्ता भएको हो ।

भेटवार्तामा नेपालका तर्फबाट बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल, कार्यकारी निर्देशक राजुरमण पौडेल र निर्देशक सुशीलदेव सुवेदी तथा नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष डा. रवीन्द्र घिमिरे र सहायक प्रमुख कार्यकारी अधिकृत दामोदर भण्डारी सहभागी रहेका थिए ।

यसैगरी माल्दिभ्सका तर्फबाट माल्दिभ्स मौद्रिक प्राधिकरणका अध्यक्ष अली हासिम, डेपुटी गभर्नर अहमद इमाद र बीमा विभागका कार्यकारी निर्देशक हसन फियाज सहभागी रहेका थिए । त्यस अवसरमा बीमा समितिका अध्यक्ष सिलवालले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) स्तरीय बीमा नियमनकारी निकायहरूको संगठन सार्क इन्स्योरेन्स रेगुलेटर्स फोरमलाई सक्रिय बताउन राखेको प्रस्तावलाई माल्दिभ्स मौद्रिक प्राधिकरणका अध्यक्ष हासिमले सकारात्मकरूपमा लिँदै उक्त फोरमलाई सक्रिय बनाउन सक्दो भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

भेटवार्ताकै क्रममा अध्यक्ष सिलवालले नेपाली बीमा कम्पनीहरूलाई माल्दिभ्समा शाखा कार्यालय खोल्न के–कस्तो व्यवस्था छ भनी राखेको जिज्ञासामा माल्दिभ्सको प्राधिकरणका अध्यक्ष हासिमले विदेशी बीमा कम्पनीहरूले माल्दिभ्समा सजिलै शाखा कार्यालय वा संयुक्त लगानीमा कम्पनी खोल्नसक्ने व्यवस्था रहेको जानकारी दिए । अध्यक्ष हासिमले आगामी दिनमा दुई देशका नियमनकारी निकायहरूबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउने प्रतिबद्धता समेत व्यक्त गरे । त्यस अवसरमा बीमा समिति र माल्दिभ्स मौद्रिक प्राधिकरणबीच आगामी दिनमा नियमनकारी अनुभव, सूचना, विवरण तथा तथ्यांक आदि आदानप्रदान गर्ने र बीमा क्षेत्रमा विद्यमान चुनौतीहरूको मिलेर सामना गर्ने सहमति समेत भएको छ ।

आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी प्रतिवेदन दिन बीमा समितिको निर्देशन
बीमा समितिको आयोजनामा समितिको कार्यालय, कुपण्डोल, ललितपुरमा निर्जीवन बीमा कम्पनीहरूका परिपालन अधिकृत र सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण हेर्ने कार्यान्वयन अधिकारीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बीमा समितिका कानुन तथा नियमन महाशाखाका प्रमुख एवं निर्देशक दिनेश कुमार लालले समितिबाट उपलब्ध गराइएको ढाँचामा परिपालन प्रतिवेदन र सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी (एएमएल, सीएफटी) सम्बन्धी प्रतिवेदन तोकिएको मितिमा समितिमा पेस गर्न निर्देशन दिए ।

निर्देशक लालले परिपालन अधिकृतहरूले कम्पनीमा बीमा ऐन, नियम रसमितिबाट जारी निर्देशिका, निर्देशन एवं परिपत्रअनुरूप काम भएको छ छैन र समस्याहरू के–के छन् भन्नेबारेमा तथ्यपरक ढङ्गले उल्लेख गरी समस्या समाधानको कार्ययोजनासहित परिपालन प्रतिवेदन पेस गर्नुपर्ने बताए । निर्देशक लालले बीमा क्षेत्रमा सम्पत्ति शुद्धीकरणको जोखिमलाई ध्यानमा राखेर पर्याप्त काम भएको नपाइएकाले त्यस्तो जोखिमलाई समेत विशेष ध्यान दिई एएमएल, सीएफटीसम्बन्धी प्रतिवेदन तयार गरीसम्बद्ध निकायमा समेत जानकारी दिन निर्देशन दिए ।

Open photo

साथै, उनले एएमएल, सीएफटी संवेदनशील विषय भएकाले त्यसलाई गम्भीरतापूर्वक लिनुपर्ने बताए । कार्यक्रममा बीमा समितिका नियमन शाखा प्रमुख एवं उपनिर्देशक कुन्दन सापकोटाले परिपालन प्रतिवेदनसम्बन्धी प्रस्तुति दिँदै परिपालन प्रतिवेदनमा कम्पनीका काम कारबाहीका साथै कमी–कमजोरी समेत प्रस्टसँग उल्लेख गर्न र सञ्चालक समितिबाट स्वीकृत गरेर मात्र समितिमा पेस गर्न आग्रह गरे । यसैगरी, समितिका उपनिर्देशक (कानुन) हृदयश्वर पण्डितले एएमएल, सीएफटीसम्बन्धी प्रस्तुति गर्दै बीमा क्षेत्रमा सम्पत्ति शुद्धीकरणको जोखिमका आधारमा जोखिम विश्लेषण गर्न र शंकास्पद कारोबार पहिचानगरी सम्बद्ध निकायमा समेतजानकारी दिन आग्रह गरे ।

कार्यक्रममा बीमा समितिका निर्देशक पूजन ढुङ्गेल (अधिकारी), उपनिर्देशक (कानुन) शाम्भराज लामिछाने र सहायक निर्देशकहरू प्रदिप गौतम तथा गीता नेपाल आचार्य र निर्जीवन बीमा कम्पनी तथा पुनर्बीमा कम्पनीहरूका परिपालन अधिकृतहरूका साथै सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण हेर्ने कार्यान्वयन अधिकारीहरूको सहभागिता रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया