Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल लाइफको २२औँ वार्षिक साधारणसभा

नेपाल लाइफको २२औँ वार्षिक साधारणसभा


काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्सको २२औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईको अध्यक्षतामा बिहीबार होटल भिष्वा, वीरगञ्ज, पर्सामा कम्पनीले वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

सो अवसरमा सञ्चालक समितिका तर्फबाट अध्यक्षबाट प्रस्तुत भएको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरिएको छ । लेखापरीक्षकको प्रतिवेदनसहित आव २०७७/७८ को वासलात, नाफा–नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणउपर छलफल गरी स्वीकृत गरिएको छ । त्यसैगरी, साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को वितरणयोग्य मुनाफाबाट सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम चुक्ता पुँजीको १५ दशमलव ७८ प्रतिशतका दरले हुनआउने एक अर्ब २९ करोडबराबरको नगद लाभांश (लाभांश कर समेत) दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ । आवं २०७८/७९ को लागि एसएआर एसोसिएट्सलाई लेखापरीक्षकको रूपमा पुनर्नियुक्ति गर्दै सञ्चालक समितिले गरेको स्वतन्त्र सञ्चालक पारुल ढकालको नियुक्तिलाई अनुमोदन गरेको छ ।

अध्यक्ष संघईले आव २०७७/७८ को वार्षिक वित्तीय विवरण तथा सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गर्दै विगत २२ वर्षमा जीवन बीमा क्षेत्रमा कम्पनीको व्यावसायिक हिस्सा र गरिमालाई तमाम चुनौतीहरूबीच अझै नयाँ उचाइमा अगाडि बढाउनका लागि संरचनात्मक सुधार, संस्थागत सुशासनको पूर्ण पालना, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली, सेवा प्रणालीमा नवीन प्रविधिको प्रयोग, सम्पत्ति र दायित्वबीचको सन्तुलन, ग्राहककेन्द्रित योजना, विकेन्द्रीकरण, तालिम एवं अनुसन्धान तथा नयाँ बजारीकरण रणनीति अवलम्बन गरी रहेको र कम्पनीको समग्र विकासका लागि प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले सेयरधनीहरूको सल्लाह सुझावका लागि धन्यवाद दिए । उनले आफू कम्पनीको व्यवसाय वृद्धिमा दत्तचित्तका साथ काम गरिरहेको र कम्पनीले नेपाल बीमा प्राधिकरणबाट जारी लगानी निर्देशिकाको परिधिभित्र रही दिगो एवं भरपर्दो लगानीका क्षेत्रहरूमा लगानी विस्तार तथा विविधीकरण गर्दै जाने नीति लिएको जानकारी गराए ।

No description available.

सभामा, सेयरधनीबाट गत २१औँ वार्षिक साधारणसभाबाट कम्पनीको संस्थापक र सर्वसाधारण सेयरको अनुपात ५१ः४९ कायम भइसकेकोले सञ्चालक समिति गठनमा पनि सोहीबमोजिमको अनुपात कायम गर्नका लागि अनुरोध भएकोमा छलफल हुँदा कम्पनी ऐन, २०६३ को दफा ६७ को उपदफा ३ (क) बमोजिम पहिले नै सूचित नगरिएको विषयमा साधारणसभामा तत्काल विशेष प्रस्ताव राख्नका लागि चाहिने आवश्यक गणपुरक संख्या नपुगेकोले यस वार्षिक साधारणसभामा उक्त विषयलाई विशेष प्रस्तावका रूपमा स्वीकार गर्न नसकिएको परिस्थितिलाई आत्मसात् गरी आगामी वार्षिक साधारणसभामा सो विषयलाई अगाडि बढाइने कुरा जानकारी दिइएको थियो ।

नेपाल लाइफले २०७९ असोज मसान्तसम्ममा लगानी एक खर्ब ४९ अर्ब ७६ करोड रूपैयाँ गरिसकेको र जीवन बीमाकोषमा एक खर्ब ४२ अर्ब नौ करोड सञ्चित भइसकेको जानकारी पनि कम्पनीले दिएको छ । साथै, कम्पनीमा दुई लाख १२ हजार तीन सय ६२ भन्दा बढी प्रशिक्षित अभिकर्ता रहेको र कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि देशभर स्थापित एक सय ९७ कार्यालय सञ्जालहरूमार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया