Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारस्वावलम्बन लघुवित्तको २२औँ वार्षिकोत्सव

स्वावलम्बन लघुवित्तको २२औँ वार्षिकोत्सव


काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.को २२औँ वार्षिकोत्सव एक समारोहबीच काठमाडौंमा सम्पन्न भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न समारोहको सभापतित्व सञ्चालक समितिका अध्यक्ष डा. सुमित्रा मानन्धर गुरुङले गरेकी थिइन् ।

वित्तीय संस्थाले प्रत्येक वर्ष माघको पहिलो साता देशका विभिन्न स्थानमा विविध कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाउँदै आएको र यस पटक पनि विभिन्न स्थानमा वित्तीय साक्षरता, स्वास्थ्य शिविर, समुदाय विकास, वातावरण संरक्षण तथा अन्य सामाजिक कार्य गरी वार्षिकोत्सव समारोहको आयोजना गरेको छ ।

समारोहको उद्घाटन गर्दै प्रमुख अतिथि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चौधरीले स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले उत्कृष्ट वित्तीय संस्थाको रूपमा सदस्यलाई लघुवित्त सेवा पु-याएको र २२औँ वार्षकोत्सवले थप ऊर्जाका साथ कार्यक्षेत्रमा लाग्न शुभकामना दिइन् । लघुवित्तले सदस्य तथा विपन्न परिवारको आर्थिक सामाजिक अवस्थालाई सुधार गरेका प्रशस्त उदाहरण हुँदाहुँदै पनि हाल लघुवित्त सम्बन्धमा देखिएका गैरकानुनी र नीतिविपरीतका गतिविधिले समस्याको समाधान नहुने र सदस्यलाई अझै अप्ठ्यारोमा पारेको उनले बताइन् । लघुवित्त संस्थाहरूको संख्या वृद्धिसँगै अस्वस्थ प्रतिस्पर्धा वृद्धि भएकोले गुणस्तरीय सेवा प्रवाहका लागि लघुवित्त संस्थाहरू २०–२५ वटामा ल्याई गुणस्तरीय र दिगो सेवा प्रभावकारी ढंगले प्रवाह गर्न सुझाव दिइन् ।

समारोहमा सांसद तथा लघुवित्त अभियन्ता लिलानाथ श्रेष्ठले गरिबी न्यूनीकरणमा लघुवित्तको प्रभावकारी भूमिका रहेको बताए । आजको बिग्रँदो आर्थिक अवस्थामा सुधार ल्याउन लघुवित्तको योगदान रहने बताए । त्यस्तै, सांसद तथा लघुवित्त अभियन्ता योगेन्द्र मण्डलले लघुवित्तको मर्म र उद्देश्यअनुरूप चल्नसके लघुवित्तको सार्थकता हुने बताए । उनले लघुवित्तले महिलालाई उद्यमी बनाउँदै रोजगारी श्रृजनामा योगदान पु-याएको बताए ।

नेपाल राष्ट्र बैंकका सञ्चालक चिन्तामणि सिवाकोटीले लघुवित्तले मुलुकको गरिबी निवारणमा पु-याएको योगदान नजरअन्दाज गर्न नमिल्ने र महिला सशक्तीकरणमा उत्कृष्ट प्ल्याटफर्म लघुवित्तले प्रदान गरेको बताए । उनले लघुवित्त क्षेत्रमा देखिएको अस्वस्थ प्रतिस्पर्धाले लघुवित्तको छवीमा ठूलो असर पुगेको र यसलाई समयमै सुधार गर्नु आवश्यक बताए । सञ्चालक समितिका अध्यक्ष तथा समारोहका सभापति डा. सुमित्रा मानन्धर गुरुङले लघुवित्त गरिबी निवारणको उपयुक्त अस्त्र भएकोले यसको स्वस्थ विकास र विस्तारमा जोड दिनुपर्ने बताए । लघुवित्त वित्तीय संस्थाले कार्यक्रममा आबद्ध सदस्यहरूको आयस्तरमा वृद्धि गर्न उनीहरूलाई विभिन्न क्षमता अभिवृद्धि तालिमको आवश्यकता रहेकोले सोहीअनुरूप लघु उद्यमशीलता विकासका लागि वित्तीय संस्था अगाडि बढ्ने बताए ।

प्रमुख कार्यकारी अधिकृत नरेन्द्र सिंह विष्टले समारोहमा उपस्थित सम्पूर्ण ग्राहकहरूलाई स्वागत गर्दै वित्तीय संस्थाले हाल सातै प्रदेशका ६१ जिल्लामा रहेका एक सय ४५ शाखा कार्यालयबाट दुई लाख ६३ हजारभन्दा बढी घरपरिवारलाई प्रत्यक्ष सेवा पु¥याएको बताए । समारोहमा संस्थाका विभिन्न शाखामा आबद्ध ग्राहक सदस्यले आफ्नो विचार व्यक्त गरेका थिए । समारोहमा वित्तीय संस्थामा आबद्ध ज्येष्ठ ग्राहक सदस्यहरू, उत्कृष्ट लघुउद्यमी, वचतकर्ता तथा केन्द्रहरू, सञ्चालक समितिका पूर्वसञ्चालकहरूलगायत २० वर्ष सेवा गरेका कर्मचारीहरूलाई सम्मान गरिएको थियो । साथै, उत्कृष्ट शाखा कार्यालय, कर्मचारीका छोराछोरीहरूमध्ये २०७८ सालको एसईई परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने छ जनालाई नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया