Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबुटवलमा मेगा बैंकको भवन उद्घाटन

बुटवलमा मेगा बैंकको भवन उद्घाटन


काठमाडौं, फागुन ३०
मेगा बैंक नेपाल लिमिटेडले रूपन्देही जिल्लाको बुटवलमा रहेको आफ्नै जग्गामा निर्मित भवनको उद्घाटन गरेको छ । भवन उद्घाटनको अवसरमा बिहीबार मिलनचोकस्थित आफ्नै जमीनमा नवनिर्मित अत्याधुनिक भवनबाट बुटवलकै पुष्पलाल पार्कमा हाल सञ्चालनमा रहेको बैंकको शाखा कार्यालयलाई स्थानान्तरण गरिएको हो । सोही अवसरमा बैंकको प्रदेश नम्बर ५ को प्रादेशिक कार्यालय पनि उक्त नवनिर्मित भवनबाटै सञ्चालन गरिएको छ । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले बिहीबार एक समारोहका बीच भवनको उद्घाटन गरे । बैंकले आफ्नै भवनबाट सञ्चालन हुनेगरी पहिलो प्रादेशिक कार्यालयका लागि प्रदेश नम्बर ५ लाई रोजेकोमा खुसी व्यक्त गर्दै मुख्यमन्त्री पोखरेलले धन्यवाद व्यक्त गरे । अन्य प्रदेशको तुलनामा प्रदेश नम्बर ५ आर्थिक र औद्योगिक हिसाबले अगाडि रहेको भन्दै मुख्यमन्त्री पोखरेलले बैंकिङ क्षेत्रसँगको सहकार्यका लागि प्रदेश सरकार तत्पर रहेको बताए ।

कार्यक्रममा बैंकका अध्यक्ष भोजबहादुर शाहले बुटवलमा मेगाले आफ्नै जमीनमा अत्याधुनिक भवन निर्माण गरी सञ्चालनमा ल्याएकोमा खुसी लागेको बताए । मेगाको पञ्चवर्षीय रणनीतिक कार्ययोजनाअनुसार आफ्नै भवन निर्माण कार्यलाई अन्य प्रदेशमा पनि तीव्रता दिइने उनले बताए । यस क्षेत्रका जनताको बैंकिङ पहुँच वृद्धि गर्न प्रदेश सरकारसँग हातेमालो गर्न बैंक तयार रहेको भन्दै अध्यक्ष शाहले रोजगारमूलक एवं उत्पादनमूलक क्षेत्रमा गरिने लगानीको पनि बढोत्तरी गर्ने लक्ष्य रहेको बताए । ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने सरकारी नारालाई साकार पार्न कृषि, पर्यटन, भौतिक पूर्वाधार, जलविद्युत्, शिक्षा, स्वास्थ्य क्षेत्रका उद्यमी व्यावसायीसँग हातेमालो गर्न मेगा बैंक तयार रहेको भन्दै उनले सहकार्यका लागि आह्वान पनि गरे । सन्तुलित मुनाफा आर्जनलाई ध्यानमा राखेकाले मेगाको वर्तमान सुदृढ, सबल रहेको तथा भविष्य उज्ज्वल रहेको अध्यक्ष शाहले बताए ।

मेगाकी सीईओ अनुपमा खुञ्जेलीले बैंकको आफ्नै भवन निर्माण भएपछि ग्राहकहरूलाई प्रदान गरिने सेवा, सुविधालगायत कारोबारमा थप सहज हुने भन्दै उनले तत्कालीन पश्चिमाञ्चल विकास बैंकसँगको मर्जरदेखि नै प्रदेश नम्बर ५ मा मेगाको कारोबार उत्साहजनक भएकोमा अब गण्डकी विकास बैंक गाभिएपछि झन् दरिलो उपस्थिति हुने बताए । मेगा बैंक ‘बैंक अफ दि एयर २०१९’ बाट सम्मानित हुनुमा प्रदेश ५ का ग्राहकवर्ग, कर्मचारी र सरोकारवालाहरूको पनि श्रेय रहेको भन्दै उनले आभार व्यक्त गरे । ग्राहकको विश्वास जित्दै अघि बढिरहेकाले मेगा बैंकले बैंकिङ कारोबारसँगै वित्तीय साक्षरता र परोपकारी कार्यलाई पनि प्राथमिकता दिएको सीईओ खुञ्जेलीले बताइन् ।

भवन उद्घाटन कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर ९ का अध्यक्ष विष्णुबहादुर थापा, मेगा बैंक सञ्चालक समितिका सदस्यहरू गोपाल खनाल, मदन आचार्य, डा. इन्द्रबहादुर मल्ल ठकुरी, शिवादेवी काफ्ले, बैंककी नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ तथा बुटवल क्षेत्रका उद्यमी, व्यवसायी तथा नागरिक समाजका अगुवाहरू, कर्मचारीहरूलगायतको सहभागिता थियो । स्थापनाको एक दशक नबित्दै देशभर शाखा सञ्जाल विस्तार गरिरहेको मेगा बैंकको हाल एक सय ११ वटा शाखा, २९ वटा एक्सटेन्सन काउन्टर, एक सय १४ वटा एटीएम सञ्जाल, एक सय १९ वटा शाखारहित बैंकिङ केन्द्रहरू र तीन हजारभन्दा बढी मेगा रेमिट एजेण्ट छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया