Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबीमा बजारआत्मविश्वास दह्रिलो बनाएर अगाडि बढ्न सुझाव

आत्मविश्वास दह्रिलो बनाएर अगाडि बढ्न सुझाव


काठमाडौं । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान स्थापनाको ५६औँ वर्षमा प्रवेश गरेको छ । संस्थान ५६औँ वर्ष प्रवेश गरेको अवसरमा बिहीबार संस्थान परिसरमा आयोजित वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थ मन्त्रालयका राजस्व सचिव डा. रामप्रसाद घिमिरेले संस्थान लामो धरोहर बोकेको संस्था भएको भन्दै भने, ‘यो स्थापनाको कालमा संस्थान एक्लै थियो सिधै हिँडे पुग्थ्यो । अहिले समय फेरिएको छ । दायाँबायाँ प्रतिस्पर्धीहरूसँग प्रतिस्प्रर्धा गर्दै अगाडि बढ्नुपर्ने अवस्था छ । यो प्रतिस्पर्धा गर्ने सन्दर्भमा राष्ट्रिय बीमा संस्थानले सामर्थ्य राख्छ र राख्नुपर्छ ।’

सरकारी विद्यालयहरूले राम्रो ख्याती कमाउन थालेको बेलामा बीमा क्षेत्रले पनि त्यसलाई आत्मसात् गर्नुपर्नेमा जोड दिँदै उनले भने, ‘बीमा संस्थानले लामो इतिहास बोकेको छ । अहिलेको अवस्थामा बीमा संस्थान एक्लो छैन् । प्रतिस्पर्धीहरू बढेका छन् । अब बीमा संस्थानले दायाँबायाँ पनि हेर्नुपर्छ । यो संस्थानलाई समयले दिएको चुनौती पनि हो ।’ बीमा क्षेत्रमा विश्वास गुमाइसकेपछि काम नलाग्ने भन्दै उनले विश्वास मात्रै नभई आत्मविश्वास दरिलो बनाएर अगाडि बढ्न संस्थानलाई आग्रह गरे । बीमा क्षेत्रलाई प्रविधिमैत्री बनाउन आवश्यक रहेको बताउँदै संस्थानले निराश हुनुभन्दा पनि प्रतिस्पर्धा गर्नुपर्ने बेला आएको उनले बताए ।

अहिले समग्र बीमा क्षेत्रमा विभिन्न नयाँ–नयाँ प्रवृत्तिहरू आएकोतर्फ ध्यानाकर्षण गराउँदै सचिव घिमिरेले भने ‘नयाँ–नयाँ जोखिमका प्रकारहरू आएका छन् । जसलाई समयमै बुझ्न र पहिचान गर्न सकेनौँ भने हामी अगाडि बढ्न सक्दैनौँ ।’ प्रतिस्पर्धीहरू आएका छन् उनीहरूको क्षमतालाई आंकलन गरेर प्रतिस्पर्धी अहिलेको समयमा आफूलाई खरोरूपमा अगाडि बढाएर प्रमाणित गर्ने बेला आएको भन्दै उनले भने, ‘सार्वजनिक संस्थान भनेर हिनताबोध र लघुताभाषबाट अगाडि बढ्न सकिँदैन, नयाँ जोस जाँगर चाहिन्छ ।’ बीमा गर्नेको ठूलो संख्या रहेको भन्दै उनले त्यो तथ्याङ्कलाई कसरी व्यवस्थित राख्ने र कसरी सुरक्षित राख्ने सबैको लागि चुनौति रहेको भन्दै उनले भने, ‘सेक्युरिटी र प्राइभेसीको कुरा पनि छ । अर्को कुरा डिजिटल मोडनाइजेसनमा हामी कसरी जाने भन्नेतर्फ पनि ध्यान दिन आवश्यक छ । प्रविधिमा जाँदा पनि दिगो क्षमतामा छ कि छैन ख्याल गर्नुपर्ने अवस्था रहेको छ ।’

बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले संस्थान नेपालको वित्तीय क्षेत्रकै धरोहर भएको भन्दै बीमा बजारमा मानव संशाधन उत्पादनदेखि बजारीकरणमा समेत योगदान पु-याएको बताए । संकटका बेला सहयोग गर्ने भनेको सरकारी संस्था नै भएको भन्दै उनले भने, ‘जसरी रेडियो नेपाल र नेपाल टेलिकमले भूकम्पका बेलामा जनतालाई सहयोग गरेका थिए । त्यो बेला निजी क्षेत्रका कोही आएनन् । त्यसैले कुनैबेला नेपालको राम्रो संस्थानको साख बनाएको बीमा संस्थानले फेरि एक पटक पुरानो साख कायम गर्ने बेला आएको छ ।’ संस्थानको लामो समयदेखिको लेखापरीक्षणको समस्यालाई सुल्झाउनका लागि प्राधिकरण तयार रहेको उनको भनाइ थियो ।

संस्थानका अध्यक्ष ईश्वर पौडेलले संस्थानका समस्या र चुनौतीका सवालमा अर्को वार्षिकोत्सवमा हामी धेरै माथि उठ्यौँ भन्ने अवस्था सिर्जना हुने बताए । पर्याप्त मात्रामा आधुनिक सूचना प्रविधिमैत्री जनशक्तिको अभावमा पनि संस्थानले स्थापनाकालदेखि नै विश्वसनीय संस्थाको रूपमा स्थान बनाउन सफल भएको उनले बताए । बीमा बजारमा निजी र विदेशी कम्पनीहरूको आकर्षण रहे पनि संस्थानले आफ्नो स्थान बनाउन सफल रहेको उनले बताए । संस्थानका प्रशासक कविप्रसाद पाठकले संस्थान स्थापनाको ५६औँ वर्षमा प्रवेश गरिरहँदा मुलुकमा स्थापित जीवन बीमा कम्पनीहरूसँग प्रतिस्पर्धा गर्दै यसले आफ्नो पहिचानलाई थप मजबुत गराउँदै लगेको बताए ।

चालू आर्थिक वर्षको पौष मसान्तसम्ममा संस्थानले छ अर्ब १५ करोड बीमाशुल्क संकलन गरेको छ भने एक अर्ब ५८ करोड दाबी भुक्तानी गरेको छ । यस अवधिमा संस्थानको जीवन बीमा कोष ४५ अर्ब ९१ करोड पुगेको छ । संस्थानको हाल कुल सक्रिय बीमालेख संख्या पाँच लाख ६० हजार रहेको छ’, उनले भने, ‘सरकारबाट प्राथमिकता प्राप्त क्षेत्रहरूमा आफ्नो सोतको उपयोग गर्ने सिलसिलामा माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा २१ करोड १८ लाख सेयर पुँजी लगानी रहेको छ भने ऋण लगानी दुई अर्ब ८० करोड गरेकोमा ब्याज पुँजीकरणसहित हाल चार अर्ब ८८ करोड रहेको छ ।

हाल यो लगानीको ब्याज तथा सावाँको किस्ता प्राप्त भइरहेको छ । जलविद्युत् लगानी तथा विकास कम्पनी लि.मा एक अर्ब सेयर लगानी गरिएको छ । विद्युत् उत्पादन कम्पनी लि.मा छ करोड ६० लाखको संस्थापक सेयर लगानी गरिएको छ । नागरिक लगानी कोषमा कुल सेयर पुँजीमध्ये संस्थानको ३१ दशमलव पाँच प्रतिशत स्वामित्व रहेको छ । यसको अतिरिक्त सनराइज बैंक लि., नेपाल इन्भेष्टमेन्ट बैंक लि., लक्ष्मी बैंक लि., ग्लोबल आईएमई बैंक लि., एनआई सी एसिया बैंक लि. तथा नेपाल पुनर्बीमा कम्पनी लि. जस्ता देशका महत्वपूर्ण वित्तीय संस्थामा संस्थानको संस्थापक तथा साधारण शेयर रहेको छ । विभिन्न बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा ३० अर्ब २० करोड तथा डिबेञ्चरमा पाँच अर्ब १० करोड लगानी रहेको छ । यस अवधिमा लगानीबाट संस्थानले एक अर्ब ८६ करोड आम्दानी गरेको छ ।’

चालू आर्थिक वर्षको अन्तसम्ममा नेपाल बीमा प्राधिकरणबाट स्वीकृति लिई लेखापरीक्षण र बीमांकीय मूल्यांकन सम्पन्न भइसकेको अवधिको साधारणसभा सम्पन्न गर्ने साथै बाँकी अवधिका लेखापरीक्षण र बीमांकीय मूल्यांकनको कार्य सम्पन्न गर्ने संस्थानको भाबी कार्य योजना रहेको उनले बताए । संस्थानको दीर्घकालीन रणनीतिक योजना तर्जुमा गर्ने, नेपाल बीमा प्राधिकरणको निर्देशनबमोजिम पुँजी वृद्धि गर्ने, तोकिएको समयावधिभित्र संस्थानलाई पब्लिक लिमिटेड कम्पनीमा परिणत गर्ने पनि संस्थानको भाबी कार्य योजना रहेको उनले बताए ।

राष्ट्रिय बीमा संस्थान पेशागत अभिकर्ता संघका अध्यक्ष शम्भु ढुंगानाले अभिकर्ताहरूले बीमा संकलन गरेर नै बीमा क्षेत्र फस्टाउने भन्दै अभिकर्ता बीमा क्षेत्रका महत्वपूर्ण स्टेकहोल्डर भएको बताए । विसं २०२४ साल पौष १ गते स्थापना भई फागुन ११ गतेदेखि व्यावसायिक कारोबार सुरु गरी राष्ट्रिय बीमा संस्थान ऐन, २०२५ अनुरूप सञ्चालन हुँदै आएको संस्थान आज स्थापनाको ५५औँ वर्ष पारगरी ५६औँ वर्ष प्रवेश गरेको छ । देशमा बीमा भन्नेबित्तिकै राष्ट्रिय बीमा संस्थान सम्झने स्थितिको निर्माण तथा बीमालाई मेचीदेखि महाकालीका गाउँ/गाउँसम्म पु-याउने ऐतिहासिक अभिभारा बहन गर्दै आइरहेको छ ।

उत्कृष्ट कर्मचारी, शाखा र अभिकर्तालाई सम्मान
वार्षिकोत्सव समारोहमा संस्थानमा कार्यरत अभिकर्तामध्ये १० उत्कृष्ट बीमा अभिकर्तालाई सम्मान गरिएको छ । संस्थानले सर्वोत्कृष्ट व्यवसाय गर्ने बीमा अभिकर्ता हरिशरण शिवाकोटीका साथै मन कुमार रेग्मी (निरौला), राजन रिमाल, शान्ति महर्जन, नारायण प्रसाद गिरी, गजेन्द्र ठाकुर, बिरेन्द्र बहादुर शंकर, धर्मराज जोशी, बद्री प्रसाद उप्रेती र कान्छा थापा क्षेत्रीसमेत गरी १० जना अभिकर्तालाई समान गरेको हो ।

No description available.

संस्थानले देशभरमा रहेका शाखा कार्यालयहरूमध्ये उत्कृष्ट कामकारबाही गर्दै आएका चारवटा शाखा कार्यालयलाई सम्मान गरेको छ । सम्मानित हुने शाखाहरूमा काठमाडौं उपत्यकाभित्रबाट लगनखेलमा रहेको शाखा कार्यालयका साथै उपत्यकाबाहिरबाट नारायणगढ, पोखरा र बुटवल शाखालाई सम्मान गरेको छ । साथै संस्थानले छ जना उत्कृष्ट कर्मचारीलाई पनि सम्मान गरेको छ । संस्थानले सहायक व्यवस्थापक राजकुमार भडेल, कामु सहायक व्यवस्थापक राम प्रसाद मिश्र, सहायक ‘ख’ अस्वीन पौडेल, सहायक ‘ख’ रञ्जना राई, सहयोगी कर्मचारी मध्येमा सवारी चालक मनिष श्रेष्ठ र कार्यालय सहयोगी चित्रकला न्यौपानेलाई नगद पुरस्कारसहित प्रशंसापत्र प्रदान गरी सम्मान गरेको हो ।


क्याटेगोरी : बीमा बजार, बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया