Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबैंकहरूको मुद्दती निक्षेपमा ५२ करोड लगानी गर्दै राष्ट्र बैंक

बैंकहरूको मुद्दती निक्षेपमा ५२ करोड लगानी गर्दै राष्ट्र बैंक


काठमाडौं । नेपाल राष्ट्र बैंकले संस्थागत निक्षेप लगानीको लागि प्रस्ताव आह्वान गरेको छ । राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ५२ करोड रुपैयाँबराबरको रकम संस्थागत निक्षेपको रुपमा बैंक तथा वित्तीय संस्थाहरुमा राख्न प्रस्ताव आह्वान गरेको हो । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरु, राष्ट्रियस्तरका विकास बैंक र राष्ट्रियस्तरका वित्त कम्पनीमा लगानी गर्नसक्ने गरी प्रस्ताव आह्वान गरेको हो ।

राष्ट्र बैंकले निष्काशन गरेको सूचनाअनुसार बैंक तथा वित्तीय संस्थाहरुले यही चैत ३० गते बिहीबार बेलुका ७ बजेसम्म आफ्नो संस्थाले संस्थागत निक्षेपकोरुपमा राख्न चाहेको रकम र दिन चाहेको ब्याज समेत तोकेर प्रस्ताव पेस गर्नुपर्नेछ । राष्ट्र बैंकका अनुसार यसरी राखिने रकमको अवधि तीन सय ६६ दिन अर्थात् २०८० वैशाख १० गतेदेखि २०८१ वैशाख १० गतेसम्मको लागि हुनेछ ।

लगानीको लागि छुट्याइएको कुुल रकममध्ये वाणिज्य बैंकहरुको लागि ४१ करोड ६० लाख रुपैयाँ, विकास बैंकहरुको लागि सात करोड ८० लाख रुपैयाँ र फाइनान्स कम्पनीहरुको लागि दुई करोड ६० लाख रुपैयाँ छ । रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा वित्तीय संस्थाहरु सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको हुनुपर्नेछ । यीबाहेक तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको, निष्क्रिय कर्जा (एनपीए) कुल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुनुपर्ने प्रावधानहरु तोकिएका छन् ।

यसैगरी कर्जा तथा स्वदेशी निक्षेप र प्राथमिक पुँजी अनुपात यस बैंकले निर्धारण गरेको सीमाभित्र रहेको, सर्वसाधारणको लागि छुट्याइएको सेयर जारी गरिसकेको, निकटतम अघिल्लो आ.व.मा सञ्चालन मुनाफा (व्यवस्थापछि) मा रहेको, लगानी गरिने बैंकको कुनै पनि सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालकलाई राष्ट्र बैंकले जरिवाना गरेको अवस्थामा त्यस्तो जरिवाना गरिएका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालक बैंकमा नरहेको, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए, फुकुवा भएको कम्तीमा छ महिना पूरा भएको, लगानी गरिने बैंक नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ बमोजिमको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको तथा समस्याग्रस्त घोषणा भएकोमा सो फुकुवा भएको छ महिना अवधि पूरा भएको एवं रियलस्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको हुनुपर्ने प्रावधानहरु तोकिएका छन् ।

ब्याजदर एकल अंकमा झार्ने बैंकर्स संघको निर्णय
नयाँ वर्ष २०८० को सुरुवातसँगै बैंक तथा वित्तीय संस्थाको ब्याजदर घट्ने भएको छ । बुधबार वाणिज्य बैंकहरूका प्रमुख कार्यकारी अधिकृतहरूको संस्था नेपाल बैंकर्स संघको बैठकले ब्याजदर घटाउने निर्णय गरेको हो ।

बैठकले वैशाख १ गतेदेखि लागू हुनेगरी मुद्दती निक्षेपको ब्याजदर १० प्रतिशत विन्दुभन्दा तल झार्ने निर्णय गरेका हो । हाल ११ प्रतिशत रहेको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर १ दशमलव शून्य एक प्रतिशत विन्दुले घटाएर नौ दशमलव ९९ प्रतिशतमा झार्ने निर्णय भएको बैंकरले बताएका छन् ।

यस्तै ६ देखि ८ प्रतिशतको बीचमा रहेको बचतको ब्याजदर न्यूनतम पाँच दशमलव चार प्रतिशत र अधिकतम सात दशमलव चार प्रतिशतमा झार्ने निर्णय गरेको छ । कल निक्षेपमा बचतको तल्लो सीमाको ५० प्रतिशत हुनेगरी ब्याजदर कायम गर्ने निर्णय गरेको छ ।

बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर एकल अंकमा ल्याए पनि रेमिट्यान्स खातामा एक प्रतिशत बढी ब्याज दिनुपर्ने व्यवस्थाका कारण १० दशमलव ९९ प्रतिशत ब्याजदर दिनुपर्नेछ ।

निक्षेपको ब्याजदर घटे पनि कर्जाको ब्याजदर पनि केही सस्तिने अवस्था आउँछ । पछिल्लो तीन महिनाको निक्षेपको ब्याजदरको औसत ब्याजदरको आधारमा आधार दर निर्धारण हुने भएकाले कर्जाको ब्याजदर पनि घट्नेछ । यसरी हेर्दा जेठपछि ऋणीले महसुस गर्नेगरी ब्याजदर घट्ने बैंकरहरूले बताएका छन् । असारसम्म स्प्रेड दर चार प्रतिशतमा झार्नुपर्ने व्यवस्था भएकाले साउनपछि कर्जाको ब्याजदर अझै बढी घटने देखिन्छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया