Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमहालक्ष्मीको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम

महालक्ष्मीको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम


काठमाडौं । महालक्ष्मी विकास बैंकले विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न शाखामार्फत स्वास्थ्य प्रतिष्ठान, नेपाल प्रहरी तथा विद्यालयलाई सहयोग गरेको हो ।

बैंकको नेपालगञ्ज शाखाद्वारा कोहलपुर नगरपालिका वडा नं ११ मा अवस्थित निर्धन उत्थान सञ्जिवनी स्वास्थ्य प्रतिष्ठानलाई सेमी अटो एनालाइजर मेसिन हस्तान्तरण गरेको छ । स्वास्थ्य प्रतिष्ठानमा उपचारका निमित्त आउने त्यस क्षेत्रमा बसोबास गर्ने विपन्न वर्गका समुदायलाई न्यूनतम मूल्यमा किड्नी, लिभर, सुगर र युरिक एसिडसम्बन्धी प्रयोगशाला चेकजाँचमा सहजता पु-याउने उद्देश्यले बैंकले उक्त सहयोग गरेको थियो ।

निर्धन उत्थान सञ्जिवनी स्वास्थ्य प्रतिष्ठान बाँकेका अध्यक्ष पुर्णिमा शाहीलाई बैंकका लुम्बिनी प्रदेश ‘ख’का प्रदेशिक प्रबन्धक खगेन्द्रबहादुर साउद र नेपालगञ्ज शाखाका शाखा प्रबन्धक विन्दुप्रसाद शर्माले संयुक्तरूपमा हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा अध्यक्ष पूर्णिमा शाहिले सहयोगप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा व्यक्त गरिन् ।

यस्तै बैंकको काठमाडौंको डल्लु र ठमेल शाखाद्वारा जिल्ला प्रहरी परिसर, टेकु, काठमाडौंलाई ब्यारिकेट, कोन तथा गोप्रो क्यामरा हस्तान्तरण गरेको छ । काठमाडौं महानगरपालिकामा सार्वजनिक सुरक्षा, अमन चयन कायम राख्न, सम्भावित अपराधको रोकथाम नियन्त्रण तथा अनुसन्धान गर्न, तीव्र गतिमा सवारीसाधन चलाउने, मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने चालकहरूको नियन्त्रण तथा चेकजाँच गर्ने प्रयोजानार्थ बैंकले उक्त सहयोग प्रदान गरेको थियो ।

जिल्ला प्रहरी परिसर, टेकुका प्रहरी बरिष्ठ उपरीक्षक धनबहादुर कार्कीलाई डल्लु शाखाका शाखा प्रवन्धक आशिषबहादुर धमला र ठमेल शाखाका शाखा प्रबन्धक युधिरमान सिंहले संयुक्तरूपमा उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

यस्तै बैंकको वीरगञ्ज शाखाद्वारा वीरगञ्ज महानगरपालिका वडा नं १४ मा अवस्थित सिद्धार्थ माध्यामिक विद्यालयलाई छ थान स्मार्ट टेलिभिजन हस्तान्तरण गरेको छ । बाल विकास ईसीडीदेखि १२ कक्षासम्म अध्यापन गराइने विद्यालयलाई विद्यार्थीमैत्री बनाउन मद्दत पु-याउने उद्देश्यले बैंकले ईसीडीदेखि पाँच कक्षासम्मका विद्यार्थीहरूका लागि स्मार्ट टेलिभिजन सहयोग गरेको हो । सिद्धार्थ माध्यामिक विद्यालय व्यवस्थापन समितिका सदस्य शिवशंकर पटेललाई बैंकका मधेस प्रदेशका प्रादेशिक प्रबन्धक सुदिपचन्द्र पोखरेल र वीरगञ्ज शाखाका शाखा प्रबन्धक पुरुषोत्तम अधिकारीले संयुक्तरूपमा टेलिभिजन हस्तान्तरण गरेका हुन् ।

बैंकले आगामी दिनमा पनि संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक रूपान्तरणका विभिन्न कार्यक्रम सञ्चालन गर्दै जाने जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया