Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबिमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आजबाट

बिमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आजबाट


काठमाडौं । बिमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आजबाट राजधानीमा सुरु भएको छ । नेपाल बिमा प्राधिकरणको आयोजनामा यही जेठ २५ देखि २७ गतेसम्म काठमाडौंमा एसियन इन्स्योरेन्स मिट २०२३ सुरु भएको हो ।

सम्मेलनको मूल उद्देश्य बिमा क्षेत्रको आगामी जोखिम रहेको छ । सम्मेलन आयोजनामा इन्टरनेसनल एसोसियसन अफ इन्स्योरेन्स सुपरभाइजर (आईएआईएस), एसियन डेभलपमेन्ट बैंक (एडीबी) र एक्सिस टु इन्स्योरेनस इनिसियटिभको सहयोग रहेको नेपाल बिमा प्राधिकरणले जानकारी दिएको छ ।

विश्वमा नवीनतम् विकाससँगै बिमा क्षेत्रमा देखापरेका नयाँनयाँ जोखिमहरूको पहिचान, जोखिम न्यूनीकरणका लागि प्राविधिक क्षमताको विकास र बिमा क्षेत्रको दिगो विकासका लागि आपसी सहयोग एवम् साझेदारी अभिवृद्धि गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको प्राधिकरणको भनाइ छ । सम्मेलनमा जलवायु परिवर्तन, महामारीलगायतका कारण बिमा क्षेत्रमा देखिएका जोेखिम, जोखिम न्यूनीकरणका अन्तर्राष्ट्रिय अभ्यास, जोखिम न्यूनीकरणसम्बन्धी आपसी अनुभव, जोखिम न्यूनीकरणका लागि क्षमता अभिवृद्धि र बिमा क्षेत्रको भावी गन्तव्यलगायतका विषयमा प्रस्तुतीकरण एवम् छलफल हुने कार्यक्रम रहेको छ ।

यसैगरी, विभिन्न देशका बिमा क्षेत्रका नियामक निकायहरूका काम कारवाही, नयाँनयाँ जोखिमहरूको व्यवस्थापनका लागि बिमा कम्पनीहरूलाई तयारी अवस्थामा राख्न नियामक निकायहरूले निर्वाह गर्दै आएको भूमिका, नियामक निकायहरूबीचको सम्बन्ध सुदृढीकरण, बिमा व्यवसायको स्वच्छ विकासका लागि नियामक निकायहरूबीचको आपसी सहयोग एवम् साझेदारी अभिवृद्धि, बिमा क्षेत्रलाई सबल, नवीन सोच र जवाफदेही किसिमले अघि बढाउनेलगायत विषयमा छलफल हुनेछ । सम्मेलनमा जोखिममा आधारित सुरक्षाको कार्यान्वयन, बिमामा नवीनतम् डिजिटल प्रणाली अवलम्बन, बिमा व्यवसायको विकासका लागि नियामक निकायको क्षमता अभिवृद्धि, बिमा क्षेत्रमा जलवायु परिवर्तनका कारण आउने चुनौतीहरूको न्यूनीकरणका लागि नियामक निकाय, बिमक र पुनर्बिमकहरूको भूमिका, भूकम्प बिमाका सम्बन्धमा एसियाली अनुभव, कृषि बिमाको विकास तथा अभ्यास, जोखिममा आधारित सुपरीवेक्षणसम्बन्धी संरचना, जीवनबिमा व्यवसायका अभ्यास, अवसर र चुनौतीलगायतका विषयहरूमा बिमा क्षेत्रका नियामक निकाय, बिमक, पुनर्बिमक र बिमा विज्ञहरूबाट कार्यपत्रहरू प्रस्तुति र कार्यपत्रमाथि छलफल एवम् अन्तर्क्रिया हुने कार्यक्रम रहेको छ । सम्मेलनको आयोजनाबाट विभिन्न देशका बिमा क्षेत्रका नियामक निकायहरू बीचको सम्बन्धलाई अझ सुदृढ तुल्याउन, नियामकीय काम कारबाहीलाई अझ परिष्कृत बनाउन, बिमा क्षेत्रमा नवीनतम् प्रविधिको प्रयोगलाई बढावा दिन, बिमा क्षेत्रका समस्याहरू शीघ्र पहिचान गरी न्यूनकरण गर्न, बिमा क्षेत्रलाई बदलिँदो परिवेशअनुसार नवीन सोचका साथ अगाडि बढाउन र समग्र बिमा क्षेत्रलाई सबल, विश्वसनीय, जवाफदेही र दिगो बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।

तीन दिनसम्म हुने सम्मेलनमा पहिलो दिन नेपाललगायत भारत, बङ्गलादेश, श्रीलङ्का, भुटान, कम्बोडिया, इन्डोनेसिया, माल्दिभ्स, थाइल्याण्ड, चीन (मकाओ), जोर्डन र मलेसियालगायतका देशका बिमा क्षेत्रका नियामक निकायहरूका पदाधिकारीहरूको सहभागिता रहने छ । यसैगरी, सम्मेलनको दोस्रो र तेस्रो दिन विभिन्न देशका बिमा क्षेत्रका नियामक निकायका पदाधिकारीहरूका साथै बिमा क्षेत्रसँग सम्बन्धित सरकारी निकायका पदाधिकारी, बिमा कम्पनी, पुनर्बीमा कम्पनी, बिमा सर्भेयर, बिमा अभिकर्ता, बिमाङ्की, बिमा ब्रोकर, बिमा विज्ञ र विभिन्न बिमा सेवा प्रदायक सङ्घ संस्थाका पदाधिकारीहरूको सहभागिता रहने छ । सम्मेलनमा करिब तीन सय ५० जनाको सहभागिता रहने छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया