Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयलगानी : स्वदेशी खुम्चँदै, विदेशी के होला ?

लगानी : स्वदेशी खुम्चँदै, विदेशी के होला ?


काठमाडौं । वैशाखको तेस्रो हप्ताको लगानी सम्मेलनबाट नेपालले ठूलो लगानी भित्र्याउने भनेर सरकारले व्यापकरूपको प्रचारबाजी गरिरहेको छ । त्यस्तै होस् भन्ने कामना पनि गरौं । वैदेशिक लगानीले देशको क्षमतालाई बढाउँछ । तर अवस्था भने त्यस्तो देखाउँदैनन् । विगतमा सम्पन्न भएका लगानी सम्मेलनमा जति प्रतिबद्धता देखाइएको थियो त्यसको सानो अंश मात्रै आएको देखिन्छ । अहिलेको सम्मेलनका क्रममा त सरकारको तयारी पनि पर्याप्त देखिएन । भनेजति वा अपेक्षा गरिएजति लगानी नआउनुमा नियम कानुनहरू नै बाधक रहेका भनेर विगतदेखि नै औल्याइँदै आइएको छ । तर बाधक रहेको भनेर औँल्याइएका त्यस्ता कानुनहरू सुधार गरिएका छैनन् । अर्थमन्त्रीले हालै संसद्ले नभ्याए अध्यादेशमार्फत बाधक मानिएका कुरा संशोधन गरिने बताएका छन् । यसको अर्थ हो सरकार कामभन्दा कुरा बढी गरिरहेको छ ।

यस्ता कानुनमा सुधार गरेर लगानीकर्तालाई बेलैमा जानकारी गराउनुपर्नेमा त्यसो भएन । अर्कोतर्फ यतिबेला त देशभित्रकै लगानी भइरहेको छैन । केन्द्रीय बैकले हालै प्रकाशित गरेको विवरण देशभित्रै लगानी घट्दै गएको छ । निश्चय नै यसको सन्देश सकारात्मक हँुदैन । केन्द्रीय बैंकको तथ्याङ्कअनुसार आजको मितिसम्ममा वित्तीय प्रणालीमा छ खर्बको हाराहारीमा लगानी योग्य रकम बचतमा छ । केही पहिले ब्याजदर पनि घटेको थियो । ब्याजदर घट्दा लगानी बढ्ने अनुमान थियो । तर यो समयमा नयाँ कर्जा लिन कतै पनि उत्साह देखिएन । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको बितेको आठ महिनामा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप सात दशमलव २६ प्रतिशत अर्थात् चार खर्ब ३५ अर्ब ८७ करोड रुपैयाँले बढेको छ । गत आर्थिक वर्षको सोही अवधिमा निक्षेप पाँच दशमलव पाँच प्रतिशत अर्थात् दुई खर्ब ८० अर्ब ५७ करोड रुपैयाँले बढेको थियो । यो भनेको निक्षेप दोब्बरले बढेको हो । राष्ट्र बैंकको अध्ययन भन्छ, २०८० फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १४ दशमलव छ प्रतिशतले बढेको छ । कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः छ दशमलव पाँच प्रतिशत, २८ प्रतिशत र ५८ दशमलव सात प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः सात दशमलव नौ प्रतिशत, २५ दशमलव सात प्रतिशत र ५९ दशमलव आठ प्रतिशत थियो ।

यद्यपि विगतको तुलनामा कर्जाको प्रवाह नबढेकोचाहिँ होइन । चालू वर्षको आठ महिनामा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा चार दशमलव दुई प्रतिशत अर्थात् एक खर्ब ९९ अर्ब ५० करोड रुपैयाँले बढेको देखिएको छ । अघिल्लो वर्षको यो अवधिमा यस्तो कर्जा दुई दशमलव आठ प्रतिशत अर्थात् एक खर्ब २८ अर्ब १८ करोड रुपैयाँले बढेको थियो । यसले अघिल्लो वर्षको तुलनामा कर्जा बढेको देखाए पनि बैकमा निक्षेप जसरी बढिरहेको छ, त्यो अनुपातमा लगानी बढेको छैन । चालू वर्षको आठ महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा शून्य दशमलव तीन प्रतिशत मात्रै रहेको विवरणहरूले देखाउँछन् । यसलाई पनि राम्रो संकेत मानिँदैन । वैदेशिक लगानीकर्ताहरूले यी विवरणहरू केलाउन थाले भने चित्र राम्रो आउँदैन । यस्ता सम्भावित प्रश्नहरूमा सरकार तयार भएर बस्न आवश्यक हुन्छ । बढी लगानी भएको मानिएका क्षेत्रमा पनि कर्जा प्रवाह आठ प्रतिशतकै हाराहारीमा छ । यी विवरणहरू समग्र हार्दिक अवस्था झल्काउने तहका हुन् । किन यस्तो भइरहेको छ भन्नेमा सरकार गम्भीर हुनुपर्छ ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया