Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयसंक्रमितप्रति सरकार असहिष्णु बन्दै

संक्रमितप्रति सरकार असहिष्णु बन्दै


देशमा संक्रमितहरूको संख्या बढ्दै जाँदा सरकार भने आफ्ना सामान्य कर्तव्यसमेत भुलेर सबै कुराबाट हात उठाएको महसुस हुन थालेको छ । कोरोनाका बारेमा सूचना दिँदा दिनैपिच्छे सरकारका प्रवक्ताको सन्देश हुनेगरेको छ, ‘अब हामी केही गर्न सक्तैनौँ, जे गर्नुपर्छ तिमीहरू आफैँ गर ।’ त्यसै पनि कोरोनाका बारे समाजमा धारणा राम्रो छैन । यसको संक्रमण भएपछि त्यसलाई अछुत मान्ने काम झन्झन् बढिरहेको छ । मानौँ कोरोना सम्बन्धित व्यक्तिले जानीबुझीकन आफैँ ल्याएको हो ।

कतिसम्म भने चिकित्सकहरू कोरोना लागेर आफ्नो घरमा बस्दासमेत अपमान व्यहोर्नुपरेका विवरणहरू आइरहेका छन् । सरकारले यसलाई भैपरी आएको घटनाका रूपमा लिएर उपचारको सम्पूर्ण जिम्मा आफूले लिएको भए त्यसको सन्देश भिन्न प्रकारको हुनेथियो र कोरोना लागेपछि राज्यबाट समेत अपहेलित हुनुपरेको अवस्थाबाट नागरिकहरू केही हदसम्म जोगिने थिए । यसमा राज्य चुकेको अवस्था छ ।

पछिल्लो समय उसले पहिलो त पीसीआर परीक्षणका लागि महंगो शुल्क तोकिदियो । सरकारले तोकेको शुल्क निजीभन्दा दुई हजार नै बढी रहेको देखिन्छ । यो परीक्षण एकपल्ट मात्र गरेर हुने होइन । सरकारले आफ्नो परीक्षण आफैँ गर भनिँदा आर्थिकरूपमा कमजोर वर्गको उपचार कसरी गर्ने भन्ने एउटा त्रास नै फैलिन्छ । यसको अर्थ हो, यस्ता कमजोर वर्गका लागि राज्य छैन ।

देशमा गएको साउन महिना एउटा लहरजस्तै चल्यो कर तिर्नेको । दृश्यहरू देख्दा कस्तो लाग्यो भने कतै सरकार नै कोरोनाको विस्तारमा त लागेको होइन ? एकातिर भीडभाड नगरौँ भन्ने अर्कातिर आफैँले ठूला जरीवानाका अंक तोकेर कर तिर्नका लागि बाध्य बनाइएको छ । कर तिर्न भीड लाग्ने देखिएपछि त्यसका लागि सरकाले अर्को वैकल्पिक व्यवस्था पनि त गर्नसक्ने थियो । तर पूर्वदेखि पश्चिमसम्म कठोर प्रकारको लाइनमा बसेर मान्छेले कर तिरे । सरकारको संक्रमण विस्तार हुन नदिने सन्दर्भको व्यवस्थापन कस्तो छ भन्ने देखिएको ठाउँ पनि यही भयो । यता करमा सरकार यस्तो देखियो र उता सेवामा चाहिँ सबैतिरबाट हात झिकेको अवस्था । त्यसो हो भने सरकार आफ्नो सामान्य कर्तव्यबाट पति च्युत भएको हो त ?

यस्तो बेलामा देशभरिबाट कर तिरेका तर कुनै सेवा नपाएका मार्मिक रिपोर्टहरू आइरहेका छन् । सामान्यदेखि उद्योग क्षेत्रमा पनि भन्न थालिएको छ, सरकारलाई तिरेको करको कुनै कदर भएन । नागरिकको कर तिर्ने दायित्व हो भने सरकारको पनि ती नागरिकप्रति कर्तव्य बन्छ, उनीहरूलाई परेको बेला सहयोग गर्नुपर्ने । उद्योग क्षेत्रमा अहिले आफूले पैसा तिरेर गरेका परीक्षणपछि आएका परिणाममा राज्यबाट अनुगमन समेत भएन भन्ने गुनासो आउन थालेका छन् ।

वास्तवमा नै यो दुःखद पक्ष हो । उद्योगीका सार्वजनिक भएका भनाइअनुसार आफ्नै खर्चमा गरिएको परीक्षणमा कोरोना पोजेटिभ रिपोर्ट आयो । त्यसपछि संघीय, प्रदेश र स्थानीय सरकारले गर्ने व्यवहार भने निकृष्ट किसिमको देखियो । आफ्नै आइसोलेसन सञ्चालन गर्न खोजिँदा पनि दिइएन । यो भनाइ सत्य हो भने वास्तवमा नै राज्य सहयोगीभन्दा बढी नकारात्मक पक्षबाट प्रस्तुत हुनथालेको देखिन्छ । यसबारे सरकार समयमै सचेत होस् ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया