Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयखोपमा मिसमास स्वास्थ्यमाथि खेलबाड

खोपमा मिसमास स्वास्थ्यमाथि खेलबाड


काठमाडौं । पछिल्लो समय नेपालले कोरोनाविरद्धको खोपमा भने कीर्ति राखेको छ । छोटो समयमा सकेसम्म ठूलो संख्यालई कोरोना भाइरसविरुद्धको खोप दिनेमा नेपाल त्यस्तो देशमा पर्छ जो खोप उत्पादकहरूले पनि त्यस्तो गर्न सकेका छैनन् होेला । यद्यपि यो माघमा खोप दिन थालिएको वर्षदिन भयो तर यसले रफ्तार लिएको भने पाँच÷सात महिना मात्रै भएको छ । खोपका बारेमा सरकारी घोषणा छ, आउँदो चैतसम्ममा सबैलाई दिइसक्ने भन्ने । सम्भवतः सरकारी घोषणा कुनै पूरा भएका छन् भने त्यो यही खोप देखिन्छ । त्यसै पनि सरकारले खोपकार्ड नभएकाहरूलाई सार्वजनिक स्थलमा प्रवेश रोकेर ऊ आफैँ पनि खोप दिन बाध्यात्मक ठाउँमा छ । यो वास्तवमा नै सकारात्मक पक्ष भन्नुपर्छ । यस्तो तत्परताले आफैँमा परिणाम दिन्छ । पछिल्लो समय कोरोनाको घट्दो क्रम पनि खोपकै कारण भन्ने अध्ययनले देखाएको छ ।

तर खासगरी बुस्टर डोज दिने भनिएको ठाउँमा भने केही विवादास्पद कामहरू भइहेका पाइयो । त्यसले मान्छेको जीवनसँगै खोलबाड भएको हो कि भन्ने व्यापक शंका उब्जिएको छ । यो हो खोपमा मिसमास । यसले खोप दिन खाोज्नेहरूका लागि पनि द्विविधा जन्मायो । कारण हो जुन खोप उपलब्ध छ त्यही दिने नीति बनाउनु । खोप भनेको त्यसै पनि लाऊँ कि नलाऊँ भन्ने हुन्छ । कतिपय अवस्थामा यसले पार्ने नकारान्मक प्रभावको बढी प्रचार हुन्छ । खोपका बारेमा जब पहिलो र दोस्रो मात्राको कुरा आयो त्यस क्रममा एउटै कम्पनीको खोप हुनुपर्छ भनियो । यही मान्यताका आधारमा पहिलो चरणमा वृद्धवृद्धाहरूलाई जुन खोप दिइयो त्यो उपलब्ध नहुँदा अर्को मात्रा दिन पाँच÷छ महिना ढिलो भएको थियो । यो सन्दर्भ हो भारतमा उत्पादित आस्ट्राजेनेकाको कोभिशिल्ड खोप । त्यही कम्पनीको खोप उपलब्ध नभएका कारण दोस्रो मात्रा दिन नै रोकिएको अवस्थामा अहिले भने भण्डारणमा जुन उपलब्धा छ त्यही दिन थालिएपछि नागरिकमा शंका उब्जने भयो नै । यो काम सरकारको गम्भीर त्रुटिबाट भएको बुझ्न सकिन्छ । यसले कतिपय ठाउँमा सरकारले गरेका राम्रा कामको समेत आलोचना भयो । आलोचनाले मात्र पुगेन नागरिकको स्वास्थ्यसँग खेलबाड गरेको आरोप लाग्न गयो जो गम्भीर कुरा हो ।

नेपालमा सबैभन्दा पहिले खोप भित्रिएको हो भारतमा उत्पादित आस्ट्राजेनेकाको कोभिशिल्ड । भारतीय अनुदान र नेपाल आफैँले खरिद गरेको गरी भारतमा उत्पादित आस्ट्राजेनेकाको कोभिशिल्डका २० लाख मात्रा नेपलमा आउनुपर्ने थियो । पछि १० लाख मात्रा उतै रह्यो र पहिलो मात्रा दिएकाहरूले पनि दोस्रो मात्रा पाएनन् लामो समयसम्म । त्यो जानकारी रहेका नागरिकलाई अहिले भने भण्डारणमा जुन उपलब्ध छ त्यही दिन थालिएपछि यसलाई खोपमा मिसमास भन्नु उपयुक्त मानियो । नेपालमा बढी प्रचलनमा आएको खोप हो चिनियाँ उत्पादनको भेरोसेल । त्यो पर्याप्त हुँदाहुँदै पनि पहिले दिइएन र अहिलेचाहिँ बुस्टर डोजका सन्दर्भमा भने जसले जे लगाए पनि हुन्छ भन्न थालियो । राज्यस्तरबाट यस्तो शंकायुक्त काम हुनु निश्चय नै आपत्तिको विषय हो । यता यहीबेला कतिपय ठाउँमा चाहिँ पहिलो मात्रा जुन कम्पनीको दिइएको हो त्यही दिनु पनि भनिरहिएको छ । यसले खोपै नलगाइने हो कि भन्नेतर्फ वातावरण बनाउँछ । सरकार सतर्क हुनुपर्छ । जनताको स्वास्थ्यमाथिको यस्तो खेलबाड अविलम्ब रोक्नुपर्छ । 


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया