Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयसभामुखले आफ्नो शैली सच्याउन जरुरी

सभामुखले आफ्नो शैली सच्याउन जरुरी


काठमाडौं । नामैले सभामुख । यो भनेको त्यो सभाको मुख हो । संसद्का बैठकमा सांसदहरूले सम्बोधन गर्दा पनि सोझै कसैलाई गर्दैनन् । सभामुख महोदयमार्फत भन्दै आफ्ना कुरा कसैप्रति राख्ने हो । यति महत्वको भए पनि सभामुख आफैँचाहिँ कार्यकारी हुँदैन । कतिसम्म भने यो पदले त निर्णायक अवस्थामा बाहेक आफ्नो मत समेत प्रकट गर्न पाउँदैन । कुनै विषयमा समान अवस्था आएमा मात्र मतदान गरेर निकास दिने हुन्छ । यसको अर्थ हो, सभामुख भनेको कार्यकारी नहुँदा नहुँदै पनि संसद्को गतिरोधलाई निकास दिने पद पनि हो । यसले त्यस्तो भूमिका निर्वाह गर्नैपर्छ र ऊबाहेक अरुले गर्न मिल्दैन पनि । त्यसै कारण सभामुखमा नियुक्त हुनासाथ सबैभन्दा पहिले यो पदले आफ्नो राजनीतिक आस्था त्याग्नुपर्छ । त्यसले दिने सन्देश हो, सभामुख स्वतन्त्र र वास्तवमा नै सभाप्रति मात्र उत्तरदायी छ ।

यतिबेला संसद् गतिरोधमा छ । विषय भने धेरै छन् । एउटा राजनीतिक दल सभामुखका कारण भनी प्रतिनिधिसभाको निरन्तर अवरोधमा छ । दिनै गनिँदा यस्तो अवरोध एक सय ७० दिनको भयो । यसमा सभामुखले आफ्नो भूमिका निर्वाह गर्न नसकेको भन्ने आलोचना भइरहेको अवस्था छ भने पछिल्लो समय सरकार र सभामुखका बीचमा पनि तनाव देखियो । सरकारले प्रस्तुत गरको कुनै पनि बिजनेसमा सभामुखको कुनै राय हुँदैन । केवल त्यसलाई सहजीकरण गर्ने मात्र भूमिका हुन्छ वा हुनुपर्छ सभामुखको । तर पछिल्ला दिन सरकारले गुनासो गर्न थालेको छ । सभामुखले संसद्मा प्रस्तुत गर्न लागिएको विषयमा पनि बाधा हाले भन्ने उसको महसुस जायज हुन सक्तछ । गुणदोष सरकारकोे हो । सभामुखले आफ्नो दलको र आफ्नै विचार के हो भनी निर्क्योल गर्न थाले भने अवस्था संकटमा पर्छ । यतिबेला एउटा विषय छ संसद्मा प्रस्तुत भएर छलफल हुनुपर्ने । संसद्मा प्रस्तुत हुने कुनै पनि विषय सभामुखको विवेकभन्दा सांसदहरूको अधिकारको विषय बन्छ । सभामुखले त्यसलाई प्रस्तुत गर्ने मात्र हो । त्यसमा सभामुख चुकेका देखिन्छ । पूर्वप्रधानमन्त्रीले पनि गुनासो गरिरहेका छन् त्यसबेला सरकारले प्रस्तुत गरेको विषयलाई सभामुखले बीचमा रोकिदिए भनेर । अहिले पनि अवस्था त्यस्तै देखियो । सरकार त्यही भनिरहेको छ र सभामुखका कारण आफूले काम गर्न नपाएको भन्ने उसको गुनासो दिनहुँ प्रकट भइरहेको छ । यस्तो अवस्था सभामुखले आउनबाट रोक्नुपर्थ्यो ।

सभामुखले सदनको विश्वास लिनुपर्छ । त्यसलाई आफ्नो नियन्त्रणमा राख्नुपर्छ । त्यसो भएन भने सदन चल्दैन । तर यसो भनेर विभिन्न विचार भएका दलहरूका बीच विषयमा सहमति जुटाएर ल्याऊ अनि मात्र सदनमा प्रस्तुत हुन्छ भनी अडान लिँदा विषय थातीमा रहने अवस्था आउँछ । यतिबेला एउटा विकास परियोजना एमसीसी त्यसको नमूना भएको छ । सरकार संसद्मा प्रस्तुत गर्न खोज्ने र सभामुख सहमति खोज्ने गर्दा स्थिति तनावपूर्ण रह्यो । सभामुखले उनको आाफ्नो दलको विचार बोकेजस्तो महसुस गरे सबैले । सभामुखले विषयलाई सरकाले प्रस्ताव गरेअनुसार विषयलाई प्रस्तुत गर्ने तिनमा उठेका प्रश्नमाथि छलफल गराउने, मत मतान्तर गर्न मौका दिने र निर्णयार्थ प्रस्तुत गरेर सभाले देखाएको वा प्रकट गरेको मतअनुसार परिणाम सुनाउनेजस्ता सहजकर्ताको भूमिका निर्वाह गर्ने मात्रमा आफूलाई राखेका भए उनीप्रति यस्तो आलोचना आउने थिएन । यतिबेला सभामुख संसद् निरन्तर अवरोध गरिरहेको दलजस्तै उनी पनि अवरोधकका रूपमा चिनिएका छन् । यो राम्रो भएन । सभामुखले आफ्नो शैली सच्याउन जरुरी छ । 


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया