Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयझन्झन् अव्यवस्थित बन्दै उत्तरी नाका

झन्झन् अव्यवस्थित बन्दै उत्तरी नाका


काठमाडौं । नेपाल दुई ठूला देशको बीचामा छ । यी दुवै देशसँग समानरूपको आर्थिक सम्बन्ध राख्नुपर्छ भनिन्छ । त्यो के–कति सम्भव छ भन्नेचाहिँ आफ्नो ठाउँमा होला । तर उत्तर र दक्षिणमा रहेका यी दुई मुलुकका बीचमा रहेको नेपालको व्यापार भने पछिल्ला दिन ज्यादै असमानतामा चलिरहेको छ ।

यसले नेपाली व्यापारीले व्यहोर्नुपरेको कष्टको दुःखद पक्ष भने ओझेलमा पर्दै आएको छ । व्यापारीहरूका अनुसार दक्षिणतिर अलिकति केही भयो भने ठूलो होहल्ला हुन्छ र त्यसको समाधान पनि भइहाल्दोरहेछ तर उत्तरतिरको समस्या भने सधैँ भुसको आगोजस्तो ।

व्यापारीका अनुभवमा उत्तरतिरका नाका तिनका केही सीमित अधिकारीकोे तजबिजमा खुल्ने र अचानक बन्द हुने गरेकाले पनि सधैँ ठूलो घाटा सहनुपरेको हुनुपर्छ । त्यताबाट ठूला नेता आइरहेका छन्, कुरा पनि चलिरहन्छ तर निकास भने केही आउँदैन । यतिबेला आम तहमा नै प्रश्न उठ्न थालेको छ, के यसको कुनै समाधान हुँदैन ।

उत्तरतर्फका नाकाहरूमा समस्या आउन थालेको समय र निहुँ हो, भूकम्प । सात वर्षअघि गएको भूकम्पको बहानामा चीनतर्फ प्रमुख व्यापारिक नाका तातोपानी र रसुवागढीमा अवरोध सुरु भएको थियो । त्यो आजपर्यन्त कायमै छ । दैनिक करोडौँको अंकमा व्यापार हुने नाका सात/आठ वर्ष बन्द हुनु भनेको सामान्य कुरा होइन । अवस्था कस्तो भने ठूलो लगानी गरिएका सामाना विनाकारण विनासूचना बाटैमा रोकिँदाको अवस्थाले दिने तनाव अवर्णनीय रहेको बताउँछन् व्यापारीहरू ।

कतिपय व्यापारीहरू त पेसाबाटै पलायन भइसकेका छन् भने कति हुँदाखाँदाको अवस्थाबाट सुकुमबासी भएका छन् । ठूला व्यापारीले मार्ग परिवर्तन गरिहेका छन् । व्यापारीहरूका अनुसार ती नाकामा चीन कति अनुदार छ भने न्याय–अन्याको कुनै सुनुवाइनैहुँदैन । भारतले नाकाबन्दी गरेको बेला चीनबाट सहयोग प्राप्त हुने भनी धेरै प्रचार गरियो । तर त्योभन्दा ठूलो नाकाबन्दी थियो चीनतर्फ ।

तर त्योचाहिँ चर्चामै आएन । सीमा नाकाको मान्यता नै हुन्छ त्यो आपसी समझदारीमा खुल्ने र बन्द हुनु । तर उत्तरतिर कहिल्यै त्यस्तो भएको पाइएन । व्यापारी भन्छन्, अन्तर्राष्ट्रिय नाका चीनले किन खोल्छ र किन बन्द गर्छ भन्ने सामान्य जानकारी समेत हुँदैन । यसले खासगरी व्यापारिक कारोबारमा असर पर्ने भयो नै । यस्तो संसारभरि कतै हुँदैन । आयातित सामान अनिश्चित कालसम्म यसरी नाकामा नै रोकिँदा समग्र बजारमा नै असर पर्न जान्छ । व्यापारीले व्यहोर्नुपर्ने अनावश्यक नोक्सानी त छँदै छ ।

एक व्यवसायीका अनुसार कम्तीमा खरिद गरेका र बाटोमा अलपत्र सामान मात्र भित्र्याउन दिने हो भने पनि व्यवसायीलाई केही सहज हुनेथियो, त्यसका लागि पनि सरकारले सार्थक कूटनीतिक पहल गरिदेओस् भन्ने सधैँ माग रहन्छ तर त्यसो भइरहेको छैन । केहीअघि नेपालका परराष्ट्र मन्त्रीको चीन भ्रमण भएको थियो । उत्तरी नाकाको समस्याका विषयमा चीनसँग प्रस्ट तर्क राखेको बताइएको थियो । त्यस्तो जानकारी दिइएको अर्को दिन नै तातोपानी र रसुवा नाका कुनै कारण नखुलाई बन्द भए ।

यी नाकाबाट तयारी पोसाक, जुत्ताचप्पल, ब्याग, कस्मेटिक सामान, मखमलका कपडा, खेलौना, मेसिनरी औजार, फर्निचर, कृषि औजार, बीउबिजन, बिजुलीका सामान, निर्माण सामग्री, स्टेसनरीलगायत सामान आउने गर्छन् । तर उताको मनोमानी अवस्थाले व्यापार गर्ने अवस्था घट्दै गएको बताइन्छ । यसले दक्षिणतर्फको निर्भरता बढाउँछ । सरकारले ख्याल गरोस् ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x