Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयराष्ट्र लुटमा जनसहभागिता (सम्पादकीय)

राष्ट्र लुटमा जनसहभागिता (सम्पादकीय)


काठमाडौं,अहिले संघीय शासन प्रणालीको भन्दा पनि संघीय शासन व्यवस्थाभित्रको प्रदेश सरकारहरूको विषयमा जनताको असन्तुष्टि धेरै छ । प्रदेश सरकारका गतिविधि, त्यहाँ हुने खर्च, प्रदेश सरकारले गरेका विकास निर्माणका काम, प्रदेश सांसदहरूको भूमिका, प्रदेशसभामा हुने खर्च र सुविधाजस्ता विषयलाई लिएर आलोचना हुँदै गर्दा देशभर अहिले संघीयताविरुद्ध नै माहोल निर्माण हुँदै गएको छ । आखिर जनताले असन्तुष्टि व्यक्त गरेका प्रदेश सरकार र प्रदेश संसद्को गैरराजनीतिक चरित्र र खर्च गराइलाई लिएर हो ।

तर, त्यसमा राजनीतिक दलहरूले सुधार गर्न नसक्नाले अहिले प्रदेश नै खारेज गर्नुपर्छ भन्ने खालका आवाज उठ्न थालेका छन् । संघीयता आएको आठ वर्षकै अवधिमा संघीयताको बारेमा यति ठूलो आवाज उठ्नु सामान्य कुरा होइन । संघीयताभित्रको प्रदेश संरचनालाई बेला–बेलामा विभिन्न राजनीतिक दलका नेताहरूले नेता व्यवस्थापनको स्थानको रूपमा चित्रण गर्नेगरेका छन् । अखिर प्रदेशमा गएका नेताहरूको व्यवहारले पनि करिब–करिब त्यस्तै कुरा पुष्टि गर्दै गएको देखिन्छ ।

प्रदेश सरकारको व्यवस्था नेपालकै संविधानले गरेको हो । २०७२ सालमा जारी भएको संविधानले नै तीन तहको सरकार मात्र होइन संसद्कै कल्पना गरेको छ । त्यहीअनुसार संघ, प्रदेश र स्थानीय तहमा सरकार गठन भएका हुन् । ती तहमा संसद् पनि छ । अर्थात् आफूलाई आवश्यक पर्ने कानुन बनाएर राजपत्रमा प्रकाशित गरी लागू गर्ने अधिकार संघ, प्रदेश र स्थानीय तहलाई दिइएको छ । त्यसको अभ्यास स्थानीय र प्रदेश तहले राम्रैसँग गरेका छन् । यद्यपि कहाँ कति जनप्रतिनिधि हुने भन्ने कुरा संविधानमै उल्लेख भएका कारण दलहरूले त्यसलाई चलाउन सकेका छैनन् नत्र नेता व्यवस्थापनका लागि उनीहरूले जति पद पनि सिर्जना गर्ने थिए ।

त्यस्तो भएको भए संघीयताको विरुद्ध ठूलै आवाज उठिसकेको हुन्थ्यो । संविधानले केही बन्धन लगाएको कारण दलहरू आफ्ना लागि धेरै छाडा हुन पाएका छैनन् । तर, छाडा भने भएकै छन् ।संविधानले जति नै कडाइ गरे पनि प्रदेशमा सरकार गठन र विस्तार गर्ने क्रममा आम सर्वसाधारणले पचाउनै नसक्ने गरी दलहरूले सहमति गर्नेगरेका छन् । त्यो सहमति राष्ट्रलाई राम्रो बाटोतर्फ लैजानका लागि भन्दा पनि राष्ट्रको सम्पत्ति अनावश्यकरूपमा खर्च गर्नका लागि हुनेगरेको छ । पछिल्लो पटक बागमती सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले जसरी मन्त्रिपरिषद् विस्तार गरेका छन् त्यसलाई आम नागरिकले पचाउन नसक्ने अवस्था देखिएको छ । जम्कट्टेलले आइतबार आफ्नो मन्त्रिपरिषद् विस्तार गरेर १२ सदस्यीय बनाएका छन् ।

उनले विस्तार गरेको सरकारमा नेपाली कांग्रेसका छ, नेकपा माओवादी केन्द्रका मुख्यमन्त्रीसहित चार, एकीकृत समाजवादीका दुई जना मन्त्री छन् । तर, प्रदेशमा मन्त्रालयको संख्या भने ११ वटा मात्र छ । देशमा आम्दानीका स्रोतहरू सीमित बनेको छ । चालू खर्च धान्न कठिन छ । पुँजीगत खर्चका लागि सरकारले ऋण लिनुपर्ने अवस्था छ । यो बेलामा संघ, प्रदेश र स्थानीय तहले चालू खर्च घटाउने काम गर्नुपर्नेमा चालू खर्च घटाउने तर विकास खर्च भएको ठाउँमा बरु भुक्तानी रोक्ने काम गरेका छन् ।

जनताको साथ पाउने हो भने चालू खर्च घटाएर पुँजीगत खर्च बढाउनतर्फ सरकार लाग्नुपर्ने थियो । तर त्यसको ठीक विपरीत गएर आफू मन्त्री बन्न पाए पुँजीगत खर्च नभए पनि हुन्छ भन्ने जुन मानसिकता नेताहरूमा देखिएको छ त्यो भने राष्ट्र लुटमा जनसहभागिता हो । बागमती मात्र होइन प्रत्येक प्रदेशमा सरकार गठन र विस्तारका बेला यस्तै अराजक गतिविधि हुने गरेको छ । यस्तो गतिविधि गर्नु भनेको दलहरूले नै संघीयताको विरुद्ध जनमत सिर्जना गर्नु हो ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #page4

तपाईको प्रतिक्रिया