Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारशनिबार अहिलेसम्मकै उच्च संक्रमित भेटिए : डब्ल्यूएचओ

शनिबार अहिलेसम्मकै उच्च संक्रमित भेटिए : डब्ल्यूएचओ


काठमाडौं, असार २२
विश्वमा कोभिड–१९ संक्रमितको संख्या शनिबार अहिलेसम्मकै उच्च रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ । डब्लुएचओका अनुसार शुक्रबारदेखि शनिबार बिहानसम्मको २४ घण्टाको अवधिमा विश्वभर संक्रमितको संख्या दुई लाख १२ हजार ३ सय २६ रहेको थियो ।

यो अवधिमा सबैभन्दा बढी संक्रमितको संख्या अमेरिकी क्षेत्रमा रहेको डब्लुएचओले जनाएको छ । अमेरिकी मुलुकहरूमा पनि संयुक्त राज्य अमेरिका र ब्राजिलमा २४ घण्टामा संक्रमित दुई लाख १२ हजार ३ सय २६ व्यक्ति मध्ये झण्डै आधा संक्रमित भेटिएका थिए । उक्त अवधिमा ब्राजिलमा ५३ हजार २ सय १३ र संयुक्त राज्य अमेरिकामा ४८ हजार १ सय ५ व्यक्तिमा संक्रमण पुष्टि भएको थियो ।

आइतबारसम्ममा विश्वभर एक करोड १३ लाख ८६ हजारभन्दा बढी कोभिड–१९ बाट संक्रमित भएका छन् । समाचार तयार पार्दासम्म यो भाइरस संक्रमित पाँच लाख ३३ हजार ६१९ जनाको ज्यान गुमेको पुष्टि विश्व स्वास्थ्य संगठनले गरेको छ । संक्रमणका कारण सबैभन्दा बढी अमेरिकामा एक लाख ३२ हजार ३ सय १८ जनाको मृत्यु भएको छ । त्यस्तै ब्राजिलमा ६४ हजार ३ सय ६५ जनाको मृत्यु भएको छ ।

अमेरिका र ब्राजिलमा क्रमशः २९ लाख ३५ हजार ७ सय ७० र १५ लाख ७८ हजार ३ सय ७६ व्यक्ति संक्रमित रहेका छन् । रूसमा संक्रमित संख्या छ लाख ७४ हजार ५ सय १५ रहेको छ भने मृत्युदर अन्य ठूला मुलुकको तुलनामा कम रहेको छ अर्थात् कोभिड–१९ का कारण रूसमा दश हजार २७ व्यक्तिको मृत्यु भएको छ ।

त्यस्तै भारतमा छ लाख ७३ हजार ९ सय ४ संक्रमित र १९ हजार २ सय ७९ मृत्यु, पेरूमा दुई लाख ९९ हजार ८० संक्रमित र १० हजार ४ सय १२ मृत्यु, स्पेनमा दुई लाख ९७ हजार ६ सय २५ संक्रमित र २८ हजार ३ सय ८५ मृत्यु, चिलीमा दुई लाख ९१ हजार ८ सय ४७ संक्रमित र छ हजार १ सय ९२ मृत्यु भएको छ ।

बेलायतमा संक्रमितको संख्या दुई लाख ८४ हजार ९ सय रहेको छ भने ४४ हजार १ सय ९८ जनाको मृत्यु भएको छ । यसबाहेक बढी संक्रमित र मृत्यु भएका मुलुकहरूमा मेक्सिको, इटली, इरान, पाकिस्तान, साउदी अरब, टर्की जर्मनी र चीन रहेका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया