Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य २ हजार डलर प्रतिऔंस माथि

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य २ हजार डलर प्रतिऔंस माथि


काठमाडौं, साउन २२
सुन पहिलोपटक प्रतिऔँस २ हजार अमेरिकी डलर माथि मूल्यमा कारोबार भएको छ । अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ताहरु महामारी जारीरहँदा सुनमा झुम्मिएपछि सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको बताइएको छ । लगानीकर्ताहरुले आफूसँग भएको नगद बहुमूल्य धातुमा खर्च गरिरहेका छन् । विशेषगरी कोभिड १९ को महामारी र वासिङटन र बेइजिङबीचको तनावले सुनको मूल्य पछिल्लो समय निरन्तर बढिरहेको छ ।

अन्य बहुमूल्य धातु चाँदीको मूल्य पनि यो वर्षको सुरुदेखि नै बढिरहेको छ । यो वर्षमात्रै सुन ३० प्रतिशतभन्दा बढीले उकालो लागेको छ । कोरोना महामारी चार महिनायता नियन्त्रणमा आउनुको साटो विश्वभर दोस्रो र तेस्रो लहर चलिरहेको छ । अमेरिकामा यसको सबैभन्दा खराब प्रभाव देखिएको छ । झण्डै डेढ लाख अमेरिकीको महामारीकै कारण ज्यान गइसकेको छ ।

बहुमूल्य धातुको मूल्यवृद्धिमा विश्वका केन्द्रीय बैंकहरु र विभिन्न देशले घोषणा गरेका अर्बौँ डलरका राहत प्याकेजसँगै महंगी बढ्नसक्ने चिन्तामा लगानीकर्ता रहेका छन् । यसको प्रभाव पनि सुनमा देखिएको अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएका छन् । त्यस्तै डलर कमजोर हुनुलाई पनि यसको कारण मानिएको छ । अहिले विश्वभर २० खर्ब अमेरिकी डलरको राहत प्याकेज ल्याएर अर्थतन्त्रलाई महामारी प्रभावबाट जोगाउने प्रयास गरिरहेको बैंक अफ अमेरिकाले जनाएको छ । सुनको मूल्य अझै आकाशिने विश्लेषकहरु बताउँछन् । सन् २०११ सेप्टेम्बरयता सुनको मूल्य यसरी बढेको थिएन ।

भारतमा प्रति १० ग्राम ५६ हजार नाघ्दा नेपालमा प्रतितोला १ लाख कट्यो : यसैबीच, अन्तर्राष्ट्रिय बजारमा कीर्तिमान कायम गरेको सुन नेपालको छिमेकी देश भारतमा समेत उच्च दरमा बढिरहेको छ । बुधबार भारतमा प्रति १० ग्राम १३ सय ६५ भारु महंंगिँदै ५६ हजार १ सय ८१ भारु कायम भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पछिल्लोपटक ५४ हजार ८ सय १६ भारुमा कारोबार भएको थियो । त्यस्तै चाँदी प्रतिकिलो ५ हजार ९ सय ७२ भारुले महंगिएको छ । मंगलबार मात्रै ५ भारु घटेको चाँदी उक्त दरमा बढेर प्रतिकिलो ७२ हजार ७ सय २६ भारुमा कारोबार भएको छ ।

त्यस्तै नेपालमा पनि सुनको मूल्यले बुधबार कीर्तिमान कायम गरेको छ । बुधबार छापावाल सुन १ लाख १ हजार ४ सय रुपैयाँ प्रतितोला मूल्य पुगेको हो । त्यस्तै तेजाबी सुन १ लाख ९ सय रुपैयाँ र चाँदी प्रतितोला १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भएको छ । नेपालमा प्रतितोला सुनको मूल्य बुधबार अहिलेसम्मकै सर्वाधिक हो ।

मंगोलियाले किन्यो ११ टन सुन : मंगोलियाको केन्द्रीय बैंकले यस वर्षको पहिलो सात महिनामा ११.३ टन सुन खरिद गरेको छ । सिन्ह्वाका अनुसार मुलुकको आर्थिक स्थायित्व सुनिश्चित गर्न सुन खरिद गरिएको बैंक अफ मंगोलियाले जनाएको छ । मंगोलियामा नौ महिनाको आयात धान्न सक्ने विदेशी मुद्रा संचित रहेको छ । बैंकका अनुसार मंगोलियाको यस वर्षको छ महिनाको अवधिमा ३ अर्ब ६० करोड अमेरिकी डलर सञ्चित रहेको छ । विश्वका सबैजसो केन्द्रीय बैंकले आफ्नो विदेशी मुद्रा सञ्चिति बढेसँगै सुन खरिद गर्ने प्रचलन रहेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया