Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारग्याटविकको यात्रु संख्या डेढ करोडले घट्यो

ग्याटविकको यात्रु संख्या डेढ करोडले घट्यो


लन्डन, भदौ १५
ग्याटविक एयरपोर्टको यात्रु संख्यामा ह्वात्तै गिरावट आएको छ । सन् २०२० को पहिलो छ महिनासम्ममा १ करोड ४७ लाखले यात्रु घटेको एयरपोर्टले जनाएको छ । कोरोना महामारीका कारण विश्वभर यात्रा प्रतिबन्ध जारी गरेपछि विमानस्थलको यात्रु घटेको छ । व्यवसाय उँधो लागेपछि कम्पनीले ३४ करोड ४० लाख पाउन्ड स्टर्लिङ घाटा व्यहोरिसकेको छ ।

सामान्य अवस्थामा फर्किने संकेत अझैसम्म नदेखिएको ग्याटविकले जनाएको छ । उसले कोभिड महामारी सुरु हुनुअघिको अवस्थामा फर्किन चार/पाँच वर्ष लाग्ने समेत बताएको छ । बेलायतको वेस्ट ससेक्समा रहेको विमानस्थलले महामारीको कारण नराम्ररी आर्थिक नोक्सानी व्यहोरेको छ ।

विमान सेवा प्रदायक भर्जिन एटलान्टिकले ग्याटविकको अपरेसन बन्द गर्ने जनाइसकेको छ भने ब्रिटिश एयरवेजले पनि छोटो दूरीका उडान हिथ्रोमा शिफ्ट गरेको छ । उक्त विमानस्थलमा उसले धेरै कर्मचारी कटौती समेत गरिसकेको छ । तथ्यांकअनुसार ग्याटविक भएर यात्रा गर्ने संख्या ६६ प्रतिशतले घटेर केवल ७५ लाखमा झरेको छ । यो जुनसम्मको छ महिने तथ्यांक हो ।

विमानस्थलले यो अवधिमा ३४ करोड ३९ लाख करअघिको नोक्सानी व्यहोरेको छ । एक वर्षअघिको सोही समयमा कम्पनीले ५ करोड ९४ लाख नाफा आर्जन गरेको थियो । विमानस्थलले यसअघि नै छ सय रोजगारी कटौती गर्ने योजना घोषणा गरिसकेको छ । अहिले ७५ प्रतिशत कर्मचारीले सरकारले दिएको राहत स्किममा काम गरिरहेका छन् भने त्यो सुविधा अक्टोबरपछि बन्द हुनेछ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया