Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारफोर्ब्सको सूचीमा बेजोस संसारकै धनी

फोर्ब्सको सूचीमा बेजोस संसारकै धनी


अमेरिका ।
चर्चित म्यागजिन फोर्ब्सको ३५औँ वार्षिक अर्बपति सूची सार्वजनिक भएको छ । सूचीअनुसार यो वर्ष अमेजनका जेफ बेजोस संसारकै धनी बन्न सफल भएका छन् । संसारकै धनाढ्य उनको सम्पत्ति १ खर्ब ७७ अर्ब अमेरिकी डलर पुगेको छ । एक वर्षअघिको तुलनामा उनको सम्पत्ति ६४ अर्ब डलर बढी हो । अमेजनको सेयर मूल्य बढ्दा बेजोस सर्वाधिक धनी बन्न पुगेका हुन् ।

दोस्रो स्थानमा भने टेस्लाका प्रमुख एलन मस्कले ओगटेका छन् । उनको सम्पत्ति १ खर्ब ५१ अर्ब डलर छ । एक वर्षअघि उनको सम्पत्ति १ खर्ब २६ अर्ब डलर थियो । तर उनी छोटो समयमा धेरै धनार्जन गर्ने अर्बपति हुन् । गत वर्ष उनी ३१औँ नम्बरमा थिए । तर यो वर्ष टेस्लाको सेयर ७०५ प्रतिशतले बढेपछि उनी संसारकै दोस्रो ठूलो धनी बनेका हुन् ।

तेस्रो स्थान फ्रेन्च लक्जरी सामान व्यापारी बर्नार्ड आर्नल्ट बनेका छन् । उनको सम्पत्ति १ खर्ब ५० अर्ब डलर छ । चौथो स्थानमा माइक्रोसफ्टका मालिक बिल गेट्स छन् । उनको सम्पत्ति १ खर्ब २४ अर्ब डलर छ । पाँचौँ स्थानमा रहेका फेसबुकका मार्क जुकरबर्गको सम्पत्ति ९७ अर्ब डलर छ । छैठौँ स्थानमा भने बर्कशाइर हाथावेका वारेन बफेट छन् । उनको सम्पत्ति ९६ अर्ब डलर छ । सातौँ स्थानमा सफ्टवेयरका मालिक ल्यारी एलिसन छन् । उनी ९३ अर्ब डलर सम्पत्तिका मालिक हुन् । गुगल प्रमुख ल्यारी पेज ९१ अर्ब ५० करोड डलरसहित आठौँ स्थानमा रहँदा गुगलकै सर्जे ब्रिन ८९ अर्ब डलरसहित नवौँ स्थानमा छन् ।

यता भारतीय अर्बपति पनि उच्च १० धनीभित्र अटाएका छन् । उनी ८४ अर्ब ५० करोड डलरसहित दशौँ स्थानमा पुगेका हुन् । फोब्र्सको ताजा सूचीअनुसार संसारभर दुई हजार सात सय ५५ जना अर्बपति रहेका छन् । एक वर्षअघिभन्दा यो ६ सय ६० जना बढी हो । यी सबैको कुल सम्पत्ति नै १ सय ३१ खर्ब अमेरिकी डलर पुग्ने फोब्र्सले जनाएको छ । यीमध्ये ४ सय ९३ जना नयाँ अर्बपति बनेका छन् । हरेक १७ घण्टामा एक जना नयाँ अर्बपति बनेको फोब्र्सले जनाएको छ । तिनमा पनि २ सय १० जना चीन र हङकङका छन् भने ९८ जना अमेरिकाका छन् ।

नयाँ अर्बपतिमध्ये सबैभन्दा धनी भने अमेरिकी राज्य नेवाडाकी मिरियम एडेल्सन छिन् । उनको सम्पत्ति ३८ अर्ब २० करोड डलर छ । जनवरीमा क्यासिनो बादशाहका रुपमा परिचित उनका पति शेल्डन एडेल्सनको मृत्यु भएपछि सम्पत्ति उनको नाममा आएको हो । संसार कोरोनाको चपेटामा रहँदा पनि ८६ प्रतिशत अर्बपतिको सम्पत्ति एक वर्षअघिको तुलनामा बढेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया