Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियकर्मचारी कटौतीको तयारीमा इलोन मस्क

कर्मचारी कटौतीको तयारीमा इलोन मस्क


अमेरिका । विद्युतीय सवारीसाधन निर्माता टेस्लाका प्रमुख कार्यकारी अधिकृत इलोन मस्कले कम्पनीमा कर्मचारी कटौतीको तयारी गरेका छन् । उनले टेस्लाको १० प्रतिशत कर्मचारी कटाउन चाहेको बताइएको छ ।

यसबारे उनले बिहीबार कार्यकारीहरुलाई इमेल पठाएको र त्यो इमेल आफूले प्राप्त गरेको समाचार संस्था रोयटर्सले जनाएको छ । घरमै बसेर काम गरिरहेका कर्मचारीहरुलाई अब अफिसमै गएर काम गर्नुपर्ने बताएको दुई दिनपछि उक्त इमेल मस्कले पठाएका हुन् । टेस्लाले सन् २०२१ को अन्त्यसम्म कम्पनी र यसका सब्सिडरीहरुमा एक लाख मानिसहरुलाई रोजगारी दिएको थियो । अमेरिकी धितोपत्र विनिमय आयोगलाई पठाएको कागजातमा रोजगारीको तथ्यांक उल्लेख गरिएको थियो ।

हाललाई यसबारे कम्पनीले भने केही नभनिसकेको बताइएको छ । मस्कले अमेरिकी अर्थतन्त्रमा मन्दी आउने प्रक्षेपण गरेका छन् । सोही कारण उनले कार्यबल घटाउन चाहेका हुनसक्छन् । अटो क्षेत्रका उच्च व्यक्तिबाट आएको मन्दीको प्रक्षेपणलाई महत्वपूर्ण मानिएको छ ।

उनले मन्दीको चेतावनी दिए पनि टेस्लाका कार र अन्य विद्युतीय कारहरुको माग भने अहिले पनि बलियो अवस्थामा छ । पछिल्लो समय टेस्लाले चीनको सांघाईस्थित कारखानामा लकडाउनपछि उत्पादन पुनः थाल्न संघर्ष गरिरहेको छ । मस्कअघि जेपी मोर्गान चेसका सीईओ ज्यामी डायमन र गोल्डम्यान स्याकका अध्यक्ष जन वाल्ड्रनले पनि यस्तै चेतावनी दिएका थिए ।

अहिले संयुक्त राज्य अमेरिकामा महंगी ४० वर्षयताकै उच्च छ भने अमेरिकीहरुको जीवनयापन लागत बढिरहेको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया