Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबीवाईडीसँग पछि प-यो मस्कको टेस्ला

बीवाईडीसँग पछि प-यो मस्कको टेस्ला


अमेरिका । चिनियाँ कारनिर्माता बीवाईडीले इलोन मस्कको टेस्लालाई उछिनेको छ । चर्चित अर्बपति वारेन बफेटको बर्कशाइर हाथावेको समेत सहयोग रहेको बीवाईडीले बिक्रीमा टेस्लालाई उछिनेर पहिलो स्थान ओगटेको हो ।

बीवाईडी बिक्री भएको गाडीको आधारमा विश्वकै ठूलो विद्युतीय सवारीसाधन उत्पादक बनेको हो । मजबुत हुँदै गएको औद्योगिक आपूर्ति शृंखलासँगै चीनमा विद्युतीय सवारीसाधन निर्माणले तीव्रता पाएसँगै बीवाईडीले टेस्लालाई ‘ओभरट्र्याक’ गरेको हो । शेन्जेनमा रहेको कम्पनीले यो वर्षको पहिलो छ महिनामा विद्युतीयसँगै हाइब्रिड गाडीहरु ६ लाख ४१ हजार हाराहारीमा बिक्री गरेको छ । यो भनेको एक वर्षअघिको सोही अवधिको तुलनामा ३०० प्रतिशतले धेरै भएको कम्पनीले नियामकीय निकायमा जुलाई ५ मा पेस गरेको कागजातले देखाएको छ ।

यो वर्षको पहिलो छ महिनामा टेस्लाले भने पाँच लाख ६४ हजार सवारीसाधन बिक्री गरेको छ । यो भनेको वार्षिक ४६ प्रतिशत वृद्धि हो । एक वर्षअघि कम्पनीले तीन लाख ८६ हजार २ सय सवारीसाधन बिक्री गरेको थियो । टेस्लाले दुई लाख ५४ हजार छ सय ९५ कार र एसयूभीहरु अप्रिलदेखि जुनको अन्त्यसम्म बिक्री गरेको छ । जुन पहिलो तीन महिनाको तुलनामा १८ प्रतिशत कम हो ।

खासगरी सांघाईमा कोभिड संक्रमण बौरिएसँगै कारखाना बन्द हुँदा टेस्लाको उत्पादन र बिक्रीमा असर परेको हो । न्युयोर्कको सेयरबजारमा टेस्ला इन्कको सेयर ४.९ प्रतिशतले घटेर प्रतिकित्ता ६४८.५० डलर कारोबार भएको थियो । सुरुवातमा धेरै घटे पनि पछि २.४ प्रतिशत मात्रै घटेको बताइएको छ ।

यता बीवाईडीको कारसँगै ब्लेड ब्याट्रीहरु अत्यधिक बिक्री भएको छ । दुई महिना लामो लकडाउनका कारण टेस्लाले उत्पादनमा ५० देखि ७० हजार युनिटले कमी आएको थियो । अहिले उत्पादन सुरु भए पनि आपूर्तिको समस्या उस्तै हुँदा कम्पनी दबाबमा परेको छ । टेस्लाको बिक्रीमा ४० प्रतिशत चीनले नै ओगटेको छ । चीनको कोभिड लकडाउनले टेस्लासागै अन्य चिनियाँ विद्युतीय निर्माता लि अटो, नियो, पेंग मोटर्सलाई समेत अप्ठ्यारो पारेको बताइएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया