Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारतीव्र अवमूल्यनपछि डलरसमान हैसियतमा युरो

तीव्र अवमूल्यनपछि डलरसमान हैसियतमा युरो


ब्रसेल्स । अमेरिकी डलर र युरोको मूल्य २० वर्षयता पहिलोपटक समान अवस्थामा आइपुगेको छ । अत्यधिक अवमूल्यन भएको कारण युरो डलरसँग बराबर हुन आइपुगेको एजेन्सीहरुले जनाएका छन् । यो वर्षमात्रै करिब १२ प्रतिशतले युरोको अवमूल्यन भएको छ ।

अहिले यी दुई मुद्राबीच एक सेन्टभन्दा पनि कमको अन्तर देखिएको छ । सोमबार युरोको मूल्य करिब १.००४ डलरको हाराहारीमा आएको थियो । महंगी र रुस–युक्रेन युद्धको कारण ऊर्जा आपूर्तिबारे अनिश्चितता छाएपछि युरोपमा मन्दीको डर प्रबल बन्दै गएको छ । यही कारण मुद्राको मूल्यमा गिरावट आएको बताइएको छ । युद्धअघिसम्म युरोपेली संघको ४० प्रतिशत ग्यास रुसबाट आउँथ्यो । तर अहिले यो स्थिति बदलिएको छ । युरोपेली देशहरु अहिले ग्यास र तेलमा रुसप्रतिको निर्भरता कम गरिरहेका छन् । यस्तोमा रुसले पनि केही युरोपेली देशमा दिने ग्यासको परिमाण घटाएको छ ।

भर्खरै मात्र रुसले जर्मनीलाई नर्ड स्ट्रिम पाइपलाइनबाट दिने ग्यासको आपूर्तिमा ६० प्रतिशतले कटौती गरिदिएको छ । ऊर्जा संकटसँगै युरोप आर्थिक सुस्तीबाट गुज्रिन पुगेको छ । युरोपेली केन्द्रीय बैंकले महंगीमा लगाम लगाउन यही महिना ब्याजदर वृद्धिको संकेत गरिसकेको छ । सन् २०११ पछि ब्याजदरमा बढोत्तरी हुनलागेको यो नै पहिलोपटक हो । युरोप क्षेत्रमा महंगीको दर ८.६ प्रतिशत छ ।

जर्मनीलाई अहिले सन् १९९१ पछि पहिलोपटक व्यापारमा घाटा परेको छ । यसको कारण तेलको मूल्यवृद्धि र आपूर्ति शृंखलामा आएको कठिनाइ हो । यसले आयातको लागत बढाइदिएको छ । अमेरिकी फेडसहित धेरै देशका केन्द्रीय बैंकले ब्याजदर बढाइरहेका छन् । यसबाहेक आर्थिक वृद्धिमा पनि धेरै देशमा सुस्तता देखिइसकेको छ । यसले युरोमाथि दबाब बढाइरहेको छ । यसबाट लगानी सुरक्षित गर्न लगानीकर्ता समेत अमेरिकी डलरको सहारा लिन सक्ने देखिएको छ ।

पछिल्लो हप्तामात्रै ड्युची ग्लोबलका एफएक्स रिसर्च प्रमुख जर्ज सारावेलोसले यदि युरोप र अमेरिकामा मन्दी देखिए अमेरिकी डलरप्रतिको रुझान अझै बढ्ने बताएका थिए । उनले युरोको मूल्य ०.९५ डलरबाट ०.९७ डलरसम्म जानसक्ने बताएका थिए । यदि यस्तो भए युरोप घुम्ने अमेरिकी मानिसलाई भने खुसीको खबर पनि हुनसक्नेछ । तर यो विश्व अर्थतन्त्रको स्थिरताको लागि भने नराम्रो हुनेछ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया