Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालसुदूरपश्चिमका धेरै आयोजना संघीय सरकारको बजेटमा

सुदूरपश्चिमका धेरै आयोजना संघीय सरकारको बजेटमा


काठमाडौं, जेठ १६
सरकारले आगामी आर्थिक वर्षको लागि प्रस्तुत गरेको बजेटमा सुदूरपश्चिमका उल्लेख्य योजना समावेश भएका छन् । बिहीबार संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले बैतडी र बझाङमा फस्फोराइडको अन्वेषणको काम अगाडि बढाउने बताए । खतिवडाले सुदूरपश्चिम प्रदेशमा जडीबुटी विकास विशेष कार्यक्रम ल्याउने उल्लेख गरे।

सुदूरपश्चिममा जडीबुटी उत्पादन, प्रशोधन र बजारीकरण गर्ने योजना ल्याएको उनले बताए । साथै कैलालीको हरैयालाई विशेष आर्थिक क्षेत्र बनाइने भएको छ । महाकाली सिँचाइ आयोजनालाई उच्च प्राथमिकता दिदैं राष्ट्रिय गौरवको आयोजनाका रुपमा सूचीकृत गर्ने समेत जनाइएको छ । उक्त आयोजनालाई सरकारले आगामी आर्थिक वर्षमा १० अर्ब २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको अर्थमन्त्री खतिवडाले बताए । यसैगरी सरकारले कैलालीमा रहेको गेटा मेडिकल कलेजलाई सिकलसेल एनिमिया अनुसन्धान केन्द्रको रुपमा विकास गरिने जनाएको छ । बजेट भाषणमा पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालाई पनि अघि बढाइने उल्लेख गरिएको छ । डाक्टर खतिवडाले पश्चिम सेती जल विद्युत् योजनामा लगानी एकीन गरी कार्यान्वयन गर्ने बताए । महाकाली कोरिडोरको कामलाई निरन्तरता दिन आवश्यक बजेट छ्ट्याइएको छ । साथै कञ्चनपुरस्थित महाकालीनदीमाथि निर्माणाधीन पुल सम्पन्न गर्न ८८ करोड बजेट विनियोजन गरेको जनाएको छ ।

सुदूरपश्चिमको राजधानीमा पूर्वाधार विकास गर्न बजेट विनियोजन गर्ने भएको छ । कञ्चनपुरको दोधारा चाँदनीमा सुख्खाबन्दरगाह निर्माण गर्ने बजेट छुट्याएको अर्थमन्त्री खतिवडाले बताए । बझाङको सदरमुकाम चैनपुर देखि चीन संगको सिमाना उरै नाकासम्म सडक निर्माण गर्न बजेट विनियोजित गरिएको छ । यसैगरी सुदूरपश्चिमको राजधानीमा आवश्यक भौतिक पूर्वाधार विकास गर्न आवश्यक बजेट व्यवस्थापन गरेको घोषणा गरिएको छ । धनगढी विमानस्थलको स्तरोन्नतिका लागि आवश्यक बजेट व्यवस्थापन गरिएको बजेटमा उल्लेख छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया