Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालदोलखाका नौ स्थानीय तहहरूलाई तीन अर्ब १८ करोड ३० लाख बजेट

दोलखाका नौ स्थानीय तहहरूलाई तीन अर्ब १८ करोड ३० लाख बजेट


सुबास बस्नेत
दोलखा, जेठ १९
संघीय सरकारले वागमती प्रदेशअन्तर्गतको पहाडी जिल्ला दोलखाका लागि चालू वर्षको भन्दा आगामी आर्थिक वर्षको लागि बजेट बढी छुट्याएको छ । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा दोलखाले चालू आर्थिक वर्षको भन्दा सवा ६३ करोडबढी रकम पाएको हो । संघीय सरकारले अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत आगामी आर्थिक वर्षको लागि दोलखाका ९ स्थानीय तहहरूलाई तीन अर्ब १८ करोड ३० लाखरूपैयाँ बजेट विनियोजन गरेको छ ।

चालू आर्थिक वर्षको लागिदुई अर्ब ५५ करोड १२ लाख रूपैयाँ बजेट विनियोजन भएको थियो ।संघीय सरकारले ७ गाउँपालिकाहरूलाई दुई अर्ब ३१ करोड १९ लाख तथा २ नगरपालिकालाई ८७ करोड ११ लाख बजेट विनियोजन गरेको छ।आर्थिक वर्ष २०७७/७८ का लागि २ नगरपालिका र ७ गाउँपालिकालाई वित्तीय समानीकरण,सशर्त, विशेष र समपुरक अनुदान शीर्षकमा उक्त रकम विनियोजन गरिएको अन्तरसरकारी वित्तीय हस्तान्तरण ०७७/७८ मा उल्लेख छ ।

जिल्लामा सबैभन्दा बढी भीमेश्वर नगरपालिकालाई सबै शीर्षकमा गरी ५६ करोड ५७ लाख विनियोजन गरिएको छ । जिरी नगरपालिकालाई ३० करोड ५४ लाख रकम विनियोजन गरिएको छ । ७ गाउँपालिकामध्ये सबैभन्दा बढी कालिञ्चोक गाउँपालिकालाई ३८ करोड ४० लाख विनियोजन गरिएको छ भने सबैभन्दा कम विगू गाउँपालिकालाई २८ करोड ४५ लाख रूपैयाँ छुट्याइएको छ । त्यस्तै शैलुङ गाउँपालिकालाई ३४ करोड ९४ लाख, मेलुङ गाउँपालिकालाई ३४ करोड ४६ लाख र तामाकोशी गाउँपालिकाले ३२ करोड ८९ लाख विनियोजना गरिएको छ। यसैगरि वैतेश्वर गाउँपालिकालाई ३२ करोड २७ लाख र गौरीशंकर गाउँपालिकालाई २९ करोड ७८ लाख बजेट छुट्याइएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया