Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालशैलुङमा निर्माण भयो थामी गुम्बा

शैलुङमा निर्माण भयो थामी गुम्बा


सुबास बस्नेत
दोलखा, असार २५
दोलखाको शैलुङ गाउँपालिकाले चालू आर्थिक वर्षमा थामी गुम्बा निर्माण गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा गुम्बा निर्माणको लागि छुट्याएको १० लाख बजेटले सीमान्तकृत थामी समुदायको लागि गुम्बा निर्माण गरेको हो । गाउँपालिकामा बसोबास गर्ने थामी जातिको संरक्षण गर्ने उद्देश्यले थामी गुम्बा निर्माण गरेको शैलुङ गाउँपालिका अध्यक्ष भरत दुलालले जानकारी दिए । थामी समुदायका आफ्ना नागरिक आफ्नो बर्सैनि मुख्य चाडपर्वमा दर्शन गर्न गुम्बा खोज्दै अन्य ठाउँ जाने गरेकाले पालिकामै दर्शन गर्ने व्यवस्थासहित चालू वर्षमा १० लाख रुपैयाँ बजेट छुट्याएर गुम्बा निर्माण गरिदिएको जानकारी दिए ।

करिब ३० हजार जनसंख्या रहेको शैलुङ गाउँपालिकामा आ–आफ्नै किसिमका धर्म माने समुदाय रहेका छन् । गाउँपालिकामा करिब ५ प्रतिशत अर्थात् १५ सय जना क्रिश्चियन धर्म मान्ने क्रिश्चियन धर्मावलम्बी छन् । उनीहरूको लागि पनि गाउँपालिकाले १० लाख रुपैयाँ बजेट विनियोजन गरेर चर्च बनाउने योजना बनाएको छ । जनभावना र आफ्नै भूमिमा बसोबास गर्ने नागरिकहरूको चाहना र अनुरूप गाउँसभाबाटै पारित गरेर चर्च बनाउन बजेट विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष दुलालले बताए ।

धर्मनिरपेक्षतालाई व्यवहारमा उतार्न तथा गुम्बा र चर्चलाई पनि पर्यटनसँग जोड्न सकिने भएकोले बजेट विनियोजन गरिएको अध्यक्ष दुलालको भनाइ छ । १२८ दशमलब ६७ वर्गकिलोमिटर क्षेत्रफल रहेका गाउँपालिकाले कालापानी–शैलुङ पर्यटकीय करिडोरअन्र्तगत वडा नम्बर ३ को जुगे गुरुङडाँडामा चर्च बनाउन प्रस्ताव गरिएको अध्यक्ष दुलालले जानकारी दिए । गाउँपालिकाले हिन्दु धर्म मान्ने समुदायका लागि टोल–टोलमा विभिन्न किसिमका मन्दिर निर्माण गरेको पनि जनाएको छ । गाउँपालिकाले चालू आर्थिक वर्षमा छनोट गरेका करिब तीन सयवटा योजना सम्झौता करिब सम्पन्न भएको जनाएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया