Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालनेटवर्किङ व्यापारबारे अध्ययन गर्न संसदीय उपसमिति गठन

नेटवर्किङ व्यापारबारे अध्ययन गर्न संसदीय उपसमिति गठन


काठमाडौं, साउन १६
गैरकानुनी नेटवर्किङ व्यापारबारे अध्ययन गर्न संसदीय उपसमिति गठन गरिएको छ । पछिल्लो समय नेटवर्किङ व्यापार सञ्चालनको लागि अनुमति दिन थालिएको भन्दै बिहीबार प्रतिनिधिसभाअन्तर्गत रहेको उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिले सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय उपसमिति गठन गरेको हो ।

अध्ययनका लागि १५ दिनको समय दिइएको उपसमितिमा पाण्डेसहित प्रकाश रसाइली, अमृतादेवी अग्रहरी, सरितादेवी गिरी र कृष्ण कुमार श्रेष्ठ सदस्य रहेको समितिका सभापति विमल श्रीवास्तवले जानकारी दिए । वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन २०७४ र नियमावली २०७६ अनुसार व्यवसाय गर्ने अनुमति पाएका सातवटा नेटवर्क व्यापार गर्ने कम्पनीलगायतको अध्ययन गरेर प्रतिवेदन बुझाउन उपसमितिलाई जिम्मेवारी दिइएको छ ।

सरकारले नेटवर्किङ व्यापारका लागि केही संस्थाहरुलाई स्वीकृति दिनथालेपछि समितिमा उजुरी परेको थियो । त्यसैगरी छलफलमा सहभागी अधिकांश सांसदले नेटवर्किङ व्यवसाय गैरकानुनी भएको बन्द त्यसलाई बन्द गर्नुपर्ने धारणा राखेका थिए । उनीहरुले हालको ऐन समेत संशोधन हुनुपर्ने समेत बताएका थिए । इजाजत पाउनेमा नेचर हब्र्स इन्टरनेशनल प्रालि, ग्लोबल ओरियन्स नेपाल प्रालि, आइबोस ग्लोबल लाइफ इन्टरनेशनल प्रालि, न्यु विवेक इन्टरप्राइजेज प्रालि, केयर मार्ट्स इन्टरनेशनल प्रालि, युटर्न इन्टरनेशनल प्रालि र हेल्दी लिभिङ नेपाल प्रालिले इजाजत पाइसकेका छन् । अन्य ६ कम्पनी इजाजत पाउनको लागि प्रयासरत छन् ।

त्यसैगरी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले समेत नेटवर्किङ व्यापारको लागि अनुमति दिएको माथिका सबै कम्पनीको कारोबार शंकास्पद रहेको बताएको थियो । विभागले यसै साता नेचर हब्र्सलाई स्पष्टीकरण समेत सोधेको थियो । हब्र्सले आफ्नो वेबसाइटमा नेटवर्किङ शैलीकै विषयवस्तु समावेश गरेकाले तत्कालै त्यस्ता सामग्री हटाउन समेत निर्देशन दिइएको थियो । यता उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भने नेटवर्किङ व्यापार पहिलोका जस्तो ठगी हुने व्यापार नभएको बताएको छ । पिरामिड शैलीमा गरिने सो व्यापारले यसअघि समेत सर्वसाधारणलाई ठगी गरेका थिए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया