Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालचोकर्म पोखरी फुट्दा सोलु खोलामा पानीको बहाब बढ्यो

चोकर्म पोखरी फुट्दा सोलु खोलामा पानीको बहाब बढ्यो


महेन्द्र शाही
सोलुखुम्बु, साउन २५
सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका १ मा रहेको सेतो पोखरी (चोकर्म) फुटेको छ । दूधकुण्ड पोखरीकै आकारमा रहेको उक्त पोखरी फुटेकै कारण सोलु खोलामा पानीको बहाब बढेको प्रत्यक्षदर्शी फुछिरिङ शेर्पाले जानकारी दिए । शुक्रबार बिहानैदेखि सोलु खोलामा पानीको बहाब उच्च देखिएपछि दूधकुण्ड पोखरी या अन्य कुनै पोखरी फुटेको हुनसक्ने अनुमान गरिँदै आएको थियो । ताल फुटेको भन्दा पनि पहिरो गएर नदि थुनिएको हो कि भन्ने आशंका समेत व्यक्त गरिएको थियो । तर शेर्पाले ताल फुटेको बताएसँगै पानीको बहाब बढ्नुको कारण एकिन भएको छ ।

दूधकुण्ड क्षेत्रमा रहेका शेर्पाले चोकर्म ताल फुटेर तीन भागमध्ये एक भाग पानी बगिसकेको बताए । उक्त पोखरी पूर्णरूपमा फुट्ने खतरा भने उच्च रहेको उनको भनाइ छ । पोखरीको अन्य वरिपरिको भाग चिरा–चिरा परिसकेको भन्दै नदि किनारका स्थानीयले उच्च सतर्कता अपनाउनुपर्ने सुझाब दिइएको छ । यता सोलुखुम्बु प्रहरीले भने आधिकारिकरूपमा यसको पुष्टि गरेको छैन । स्थानीय भाषामा (चोकर्म) भनिने सेतो पोखरी फुटेको खबर प्राप्त भए पनि आधिकारिक पुष्टि हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मन्दी चौहानले जानकारी दिए ।

सोलुखोलामा पानीको बहाब उच्च हुँदा जुनबेसी क्षेत्रमा नदिको पानी बस्तीमा समेत प्रवेश गरेको छ । अहिले पानीको बहाब केही मात्रमा कम भए पनि जोखिम भने कायम रहेको नाम्गेल शेर्पाले बताए । खोला किनारका स्थानीयलाई समयमा नै सचेत नगराउने हो भने थप क्षति हुनसक्ने उनको भनाइ छ । सोलु खोलाको मुहान क्षेत्रमा पर्ने सहश्रवेणीमा रहेको एउटा चौरीगोठ तथा ३ वटा काठे साँगु समेत बगाएको भन्दै शेर्पाले क्षतिको विवरण संकलनमा ढिला गर्न नहुने समेत बताएका छन् । पोखरी क्षेत्रमा टेलिफोनको नेटवर्कले काम गर्दैन । जसले गर्दा विवरण संकलनमा समेत समस्या भएको हो ।

यता सोलुखुम्बु प्रदेश सभा (ख)का सांसद एवं नेकपा प्रदेश १ संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले मौसम खुलेको अवस्थामा आइतबार हेलिकोप्टरमार्फत स्थलगत अध्ययनमा जाने बताएका छन् । पोखरी फुटेको खबरले त्रास फैलियको भन्दै बास्तविकता अध्ययन गरी थप तयारी गरिने उनको भनाइ छ । जिल्ला सदरमुकामा सल्लेरीदेखि ३० कोष उत्तरपूर्व क्षेत्रमा पर्ने दुधकुण्ड क्षेत्र पुग्नको लागि हिँडेर दुई दिन लाग्छ ।

सोलुदूधकुण्ड नगरपालिका वडा नम्बर एकमा पर्ने दूधकुण्ड क्षेत्रमा करिब दर्जन बढी साना–ठूला ताल रहेको बताइन्छ । तर ती तालको अवस्थाको बारेमा आधिकारिकरूपमा अध्ययन भने गरिएको छैन । उक्त ताल फुटेको खण्डमा सोलु खोलामा निर्माणाधीन ३ वटा हाइड्रोपावरमा क्षति पुग्छ भने कम्तीमा ३ वटा बस्ती नै विस्थापित हुने देखिन्छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया