Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालसामाजिक सुरक्षा भत्तामा व्यापक अनियमितता

सामाजिक सुरक्षा भत्तामा व्यापक अनियमितता


सुबास बस्नेत
दोलखा ।
दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर एकमा सामाजिक सुरक्षा भत्तामा चरम अनियमितता हुनेगरेको पाइएको छ । मृत्यु भइसकेका, एउटै व्यक्तिलाई दोहोरो भत्ता, किर्ते हस्ताक्षर र गलत विवरण भरेर सामाजिक सुरक्षा भत्ता लिने गरेको पाइएको हो ।

२०७२ साल मंसिर २४ गते मृत्यु भएकी मेलुङ गाउँपालिका वडा न १ की पदममाया उप्रेतीको नाममा २०७६ साल असार मसान्तसम्म वृद्धभत्ता निकासा भएको पाइएको छ । त्यस्तै सोही ठाउँका चित्र कुमारी उप्रेती, हिरामाया श्रेष्ठको नाममा समेत मृत्यु भएको लामो समयसम्म वृद्धभत्ता निकासा हुँदै आएको छ । चित्रकुमारी उप्रेतीका छोरा हेमराज उप्रेतीले आमाको मृत्युपछि आफूहरूले भत्ता नबुझेको बताए । तर मृत्युदर्ता गरिएका व्यक्तिको नाममा समेत वृद्धभत्ता बुझेका भरपाइहरू सार्वजनिक भएका छन् ।

उक्त वडामा मृत्यु भएका व्यक्तिको औँठाछाप तथा आफन्तको किर्ते हस्ताक्षर गरेर ठूलो रकम अपचलन गरेको पाइएको हो । सो वडाका स्थानीयका अनुसार वडाका जनप्रतिनिधिको मिलेमतोमा नै सामाजिक सुरक्षा भत्तामा अनियमित हुनेगरेको छ । स्थानीय ओमबहादुर बस्नेतका अनुसार २०७३ साल फल्गुण २१ गते मृत्यु भएकी उनकी आमाको नागरिकता नम्बर १६३६ लाई दर्तामा राखेर आर्थिक वर्ष ०७६/०७७ सम्म नै वृद्धाभत्ता निकासा भइरहेको छ । उनले किर्ते तथा गलत तथ्यांकका आधारमा वृद्धाभत्ता निकासा गरेर सरकारी कोषको अपचलन गर्ने सचिव, वडा अध्यक्षलगायत सबैमाथि छानबिन गरेर कारबाहीको गर्नुपर्ने बताए ।

मृत्यु भएका व्यक्तिका नाममा निरन्तर वृद्धाभत्ता निकासा गरेर अनियमितता गरिएको यो वडामा कतिपयलाई दोहोरो भत्तासमेत उपलब्ध गराइएको छ । सिम्टेकी गंगामाया कुमाललाई सिरियल नम्बर ५३ र ५४ मा एउटै नाम र एउटै नागरिकता नम्बर राखेर दोहोरो भत्ता दिइएको खुलेको छ । त्यसैगरी सिम्टेकै सिताराम बुढाथोकीका नाममा सिरियल नम्बर २७१ र २७२ मा एउटै नागरिकता नम्बर १७५/१५९६ नम्बर राखेर दोहोरो भत्ता निकासा गरिएको छ ।

उक्त वडामा वृद्धभत्ता, विधुवा भत्तामा मात्रै नभई अपांग, दलितलगायतका भत्ता तथा सुविधामा समेत चरम अनियमितता भएको पाइएको छ । सिम्टेका दलित बालक सुरज घतानी, रेजिना लकान्द्री, सुपिया सुन्दाश, असलेशा सुदर्शन नेपालीका नाममा दोहोरो सुविधाको रकम निकासा भएको छ । दोहोरो सुविधा निकासा भएको बारे परिवारका सदस्य तथा भत्ता बुझ्नेहरू आफैँ अनविज्ञ रहेका छन् ।

उनीहरूले एउटा सुविधाको निकासमा त सास्ती ब्यहोर्नुपर्ने भन्दै दोहोरो सुविधा वडाले नै लिएर अनियमितता गरेको दाबी गर्छन् । मेलुङ गाउपालिका वडा न १ सिम्टेकी सर्मिला दर्नालले आफ्नी छोरी कुसुम दर्नालको दलित बालबालिका सुरक्षा भत्ताका लागि पटक–पटक वडाध्यक्षलाई फोन गरिन् । ‘कहिले मिटिङ त कहिले व्यस्त भन्दै टार्ने काम भइरह्यो । पछि बुझ्दा त उनको नाममा पहिलेदेखि नै भत्ता निकासा भइरहेको रहेछ’, दर्नालले भनिन् । जिल्लाबाहिर रहेका कतिपय नागरिकको भत्ता समेत सो वडाका कार्यालय सहयोगी आफैंले औठाछाप गरेर बुझ्ने गरेका छन् ।

साथै यही वडाले भारतमा जीवित अवस्थामा रहेका व्यक्तिलाई समेत मृतकका रूपमा प्रमाणपत्र जारी गरेको छ । गणेशकुमारी खरेलका नाममा भारत सरकारले रासन कार्ड दिएको छ । तर मेलुङ गाउपालिकाको वडा कार्यालयले उनले उनलाई मृतक भन्दै प्रमाणपत्र जारी गरेको छ । यता वडा अध्यक्ष ईश्वर कोइरालाले भने भत्ता लिन लामो समयसम्म वडामा उपस्थित नहुँदा र आफ्नो नाममा आउने सामाजिक सुरक्षालगायतका भत्ता आफन्तलाई बुझ्न् पठाउनाले यो समस्या देखिएको बताए ।

कतिपय ब्यक्तिले छिमेकीको भत्ता पनि आफैंले बुझिदिन आउने गरेकाले दोहोर भुक्तानी भएको हुनसक्ने उनको भनाइ छ । भारतमा जीवित रहेकी महिलालाई मृत्यु भएको प्रमाणपत्र दिएको बारेमा भने गाउँपालिकाले छानबिन गरिरहेको उनले बताए । साथै उनले सामाजिक सुरक्षा भत्तामा भएका अनियमितताका बारेमा पनि छानबिन समिति गठन गरिएको र छानबिनपछि दोषीलाई कारबाही गरिने बताए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया