Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालराजधानीका २४ चोकमा ट्राफिक लाइटबाट ट्राफिक व्यवस्थापन

राजधानीका २४ चोकमा ट्राफिक लाइटबाट ट्राफिक व्यवस्थापन


काठमाडौं ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकाको सवारी व्यवस्थापनमा ट्राफिक लाइट, सीसीटीभी, विभिन्न अनलाइन सफ्टवेयरजस्ता प्रविधिहरूको प्रयोग गरी ट्राफिक व्यवस्थापन गरिरहेको छ । सवारी व्यवस्थापनलाई म्यानुअलबाट प्रविधिमैत्री बनाई सुरक्षित, व्यवस्थित र सहज बनाउन मंगलबारबाट त्रिपुरेश्वरमा समेत नयाँ ट्राफिक लाइट जडान गरी सञ्चालनमा ल्याइएको छ ।

मंगलबार एक कार्यक्रमका बीच रोटरी क्लब अफ त्रिपुरेश्वरका अध्यक्ष भुवन श्रेष्ठले त्रिपुरेश्वरमा नयाँ जडान गरिएको ट्राफिक लाइट महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम प्रसाद ढकाललाई हस्तान्तरण गरेका छन् । रोटरी क्लब अफ त्रिपुरेश्वरले ‘ग्रिन त्रिपुरेश्वर’ कार्यक्रमअन्तर्गत कामनपासँग समन्वय गरी नयाँ ट्राफिक लाइट जडान गरेको हो ।

उक्त अवसरमा बोल्दै ट्राफिक महाशाखाका प्रमुख एसएसपी ढकालले ‘यसरी नै ट्राफिक प्रहरीसँग सबै मिलेर लागिपर्ने हो भने उपत्यकाको ट्राफिक व्यवस्था सहज बन्न लामो समय नलाग्ने बताए । उनले काठमाडौं उपत्यकामा भइरहेको जाम, सवारी दुर्घटना तथा ट्राफिक समस्या समाधानको लागि प्रविधिको विकास र प्रयोगलाई प्राथमिकता दिइँदै आएको बताए ।

पछिल्लो समय महाशाखाले उपत्यकाका विभिन्न निकायहरूको समन्वयमा ट्राफिक बत्ती जडान कार्यलाई तीव्रता दिएको छ । एकान्तकुना, कुपण्डोल, झम्सिखेल, हनुमानस्थान, मैतीदेवी, सोह्रखुट्टे, सीतापाइला, बौद्ध, ग्रान्डीलगायतका ११ स्थानमा ट्राफिक लाइट जडानका लागि स्थानीय निकाय, सडक विभागलगायत अन्य संघ÷संस्थासँगको समन्वयमा काम भइरहेको महाशाखाले जनाएको छ ।

ट्राफिक लाइट सञ्चालन आएका स्थानहरूका ट्राफिक लाइटको पूर्ण पालना गरिदिनु सम्पूर्ण पैदलयात्री तथा सवारी चालकहरूलाई महाशाखाले विशेष अनुरोध पनि गरेको छ । प्रविधिमैत्री ट्राफिक व्यवस्थापनमा प्राथमिकता दिँदै महाशाखाले सम्बन्धित निकायसँग समन्वय गरी विगत नौ वर्षदेखि बिग्रेर रहेका सिंहदरबार, पद्मोदय (सभागृह जाने मोड), पद्मोदय (अनामनगर जाने मोड), पुतलीसडक, नयाँ बानेश्वर, पुरानो बानेश्वर, सुविधानगर, गौरीगाउँ, मुनिभैरव, कालिमाटी चोक, कालिमाटी शालिक, परोपकार, टंकेश्वर, नयाँ ठिमी चोक, गौशाला, मित्रपार्क, नारायणगोपाल चोक, महापाल, पुल्चोक, हरिहरभवन, अल्का अस्पतालअगाडि, कमलपोखरी ल्होत्से चोक र हाडीगाउँ (भाटभटेनी अगाडि) लगायत क्षेत्रका ट्राफिक लाइट सञ्चालनमा पनि ल्याइसकेको छ ।

उक्त ट्राफिक लाइट हस्तान्तरण तथा उद्घाटन कार्यक्रममा पूर्वएआईजी विज्ञानराज शर्मा, पूर्वएआईजी विजयलाल कायस्थ, पूर्वडीआईजी रमेश खरेल, कामनपा ११ नं. वडाका अध्यक्ष हिरालाल तण्डुकार, रोटरी क्लब अफ त्रिपुरेश्वरका प्रतिनिधि, ट्राफिक महाशाखाका प्रहरी अधिकृतहरू, नागरिक समाज समेतको उल्लेख्य उपस्थिति रहेको महाशाखाले जानकारी दिएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया