Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालकालिञ्चोकमा बढ्यो पर्यटकको चहलपहल

कालिञ्चोकमा बढ्यो पर्यटकको चहलपहल


दोलखा ।
कोरोना भाइरसको कारण लामो समय सुनसान बनेका जिल्लाको पर्यटकीय तथा धार्मिक स्थल कालिञ्चोकमा पर्यटकको चहलपहल बढ्न थालेको छ । कोरोनाका कारण करिब आठ महिनादेखि कालिञ्चोक लगाइएको निषेधाज्ञा हटेसँगै मन्दिरमा दर्शन गर्ने र केबलकार चढ्ने पर्यटकको चहलपहल बढेको हो । जाडो मौसममा कालिञ्चोकमा हिउँ पर्ने हुँदा हिउँ खेल्नको लागि यहाँ देशका विभिन्न भागबाट मानिसहरु आउने गरेका छन् ।

कालिञ्चोक कुरिबजारमा होटल व्यवसाय गर्दै आएका स्थानीय नवराज तामाङका अनुसार अहिले दैनिक ५० देखि ६० जनाको हाराहारीमा मानिसहरु मन्दिर दर्शन गर्नको लागि आउने गरेका छन् । कालिञ्चोक मन्दिर दर्शनार्थीका लागी अघिल्लो सातादेखि खुल्ला गरिएको थियो । मन्दिर र केबलकार खुलेपछि कालिञ्चोक आउने पर्यटकको संख्या दिनानुदिन थपिँदै गएको होटल व्यवसायी तामाङको भनाइ छ । पर्यटकीय गन्तव्यको रूपमा परिचित कालिञ्चोक खुल्दा होटल व्यवसायी पनि उत्साहित देखिएका छन् । जिल्लाको माथिल्लो क्षेत्र कालिञ्चोक, शैलुङ, जिरीलगायतका पर्यटकीय क्षेत्रमा ओहोरदोहोर बढ्दा सदरमुकाम चरीकोटमा समेत चहलपहल बढ्ने गरेको छ ।

कालिञ्चोक र भिमेश्वर मन्दिर दर्शन गर्नको लागि शुक्रबार र शनिबार धेरै पर्यटक पुग्ने गरेका छन् । जिल्लामा अहिले काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, काठमाडौं लगायतका जिल्लाका मानिसहरु मन्दिर दर्शन गर्न तथा घुम्न आउने गरेका छन् । कोरोनाका कारण ठूलो लगानी गरेर खोलेका होटल तथा रेस्टुरेन्ट खाली हुँदा आर्थिक संकट झेल्दै आएका होटल व्यवसायीहरुको पनि आम्दानीको स्रोत खुलेको होटल व्यवसायी किशोर तामाङले बताए । चैतदेखि आम्दानीको मुख्यस्रोत बन्द हुँदा बैंक तथा सहकारीको किस्ता, हर्जना तिर्न समस्या भएको व्यवसायीहरुले बताउँदै आएका थिए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया