Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालमोटरसाइकल चोरी गर्ने दुई जना पक्राउ

मोटरसाइकल चोरी गर्ने दुई जना पक्राउ


काठमाडौँ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल चोरी गर्ने दुई जनालाई मोटरसाइकलसहित पक्राउ गरेको छ । पीडित सहायता एकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले नयाँबजारस्थित सडक खण्डबाट आयुष थापामगर र बालाजुस्थित सडकखण्डबाट रोशन लामिछाने सवार गरिरहेको मोटरसाइकलसहित आइतबार पक्राउ गरेको ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

नयाँबजार सडकखण्डबाट जिल्ला धादिङ त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ५ चैनपुर बस्ने वर्ष २२ को आयुष थापामगरलाई प्रदेश ३–०२–००८ प २६०७ नम्बरको कालो रातो रंगको २२० सीसीको पल्सर मोटरसाइकलसहित पक्राउ गरिएको महाशाखाले जनाएको छ । अनुसन्धानको क्रममा उक्त मोटरसाइकलको वास्तविक नंम्बर लु ५२ प ७३३५ खुल्न आएको छ ।

उक्त नम्बरको मोटरसाइकल २०७६ भदौ ६ गते काठमाडौँ ठमेलस्थित भगवानबाहाल मन्दिरअगाडि पार्किङस्थलबाट हराएको हुँदा खोजतलास गरी पाऊँ भनी कुमार रानामगरले महाशाखामा निवेदन दिएका थिए । उक्त निवेदनका आधारमा मोटरसाइकल र मानिस पक्राउ गरी आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी वृत्त, लैनचौर पठाइएको महाशाखाले जनाएको छ ।

त्यस्तै, काठमाडौँ बालाजु सडकखण्डबाट दोलखाको भीमेश्वर नगरपालिका वडा नं. ३ भीमफेदी घर भई हाल काठमाडौँ रानिवन बस्ने वर्ष २४ को रोशन लामिछानेलाई वाग्मती प्रदेश ०२–०१७ प ३४४७ नम्बरको कालो रातो रंगको २२० सीसीको पल्सर मोटरसाइकलसहित पक्राउ गरिएको हो । उक्त नम्बरको मोटरसाइकल मिति २०७७ मंसिर १४ गते काठमाडौँ वनस्थलीबाट हराएकोले खोजतलास गरिपाऊँ भनी राम कृष्ण ढकालले हुलियासहितको निवेदन महाशाखामा दिएको थिए ।

उक्त निवेदनका आधारमा मोटरसाइकल र मानिस पक्राउ गरी आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी वृत्त, बालाजु पठाइएको महाशाखाले जनाएको छ । महाशाखाले पुस महिनामा मात्रै ४१ वटा मोटरसाइकल अनुसन्धानको लागि ल्याएको छ भने चोरीमा संलग्न ११ जना व्यक्तिहरूलाई पक्राउ गरी मुद्दा समेत चलाइसकेको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया