Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालकालङ्गा जलविद्युत् आयोजना ९० प्रतिशत सम्पन्न

कालङ्गा जलविद्युत् आयोजना ९० प्रतिशत सम्पन्न


बझाङ ।
निजी क्षेत्रको लगानीमा निर्माण भइरहेको सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठूलो कालङ्गा जलविद्युत् आयोजनाको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । बझाङको बुङ्गल नगरपालिकामा निर्माणाधीन ६५ मेगावाट क्षमताको कालङ्गा जलविद्युत् आयोजनाको ९० प्रतिशत निर्माण सकिएको छ ।

झण्डै १० अर्ब लागत अनुमान गरिएको आयोजनाको ३८.४६ मेगावाटको अपर कालङ्गाको जलविद्युत् आयोजनाको ८.७ किलोमिटर, १५.३३ मेगावाटको कालङ्गा जलविद्युत् आयोजनाको ३.४ किलोमिटर र १०.०७ मेगावाट क्षमताको सानीगाड जलविद्युत् आयोजनाको २.९ किलोमिटर सुरुङ निर्माणको काम सकिएको छ । १५.३३ मेगावाट क्षमताको आयोजनाको इन्टेक, सुरुङ, पेनस्टक, पाइप जडान र विद्युत्गृह निर्माण सकिएको छ ।

९० प्रतिशतभन्दा बढी पूर्वाधार निर्माणको काम सकेको उक्त आयोजनाले यही चैतमा विद्युत् उत्पादनको तयारी गरेको छ । सन २०१७ देखि निमार्ण सुरु भएको आयोजनाले २०२० भित्रै काम सम्पन्न गर्ने लक्ष्य लिएको थियो । भूगोलले साथ नदिँदा निर्माण कार्यमा ढिलाइ भएको आयोजना कम्पनीले जनाएको छ । आयोजनाको पावर हाउस निर्माण, बाँध, सुरुङ र पेनस्टक पाइप जडान भइरहेकोे छ ।

टनेल निर्माणलाई अन्तिमरुप दिनुका साथै पावर हाउसमा विद्युतीय उपकरण जडानको काम भइरहेकाले समग्रमा ९० प्रतिशत आयोजनाको काम सकिएको आयोजनाका प्रमुख पुष्प चित्रकारले बताए । उनले भने, ‘३८.४६ मेगावाटको अपर कालङ्गामा टनेल फिनिसिङको काम भइरहेको छ । १५.३३ मेगावाटको कालङ्गा जलविद्युत् आयोजनाको सबै काम सकिएको छ । अब यही चैतमा परीक्षणको तयारीमा छौँ ।’ सन् २०२० भित्रै निर्माणकार्य सम्पन्न गर्ने लक्ष्य लिएको भए पनि कोरोना महामारीले पारेको प्रभाव, भौगोलिक विकटता र वनसम्बन्धी कानुन र झन्झटिलो प्रशासनिक प्रक्रियाले पनि आयोजना ढिलाइ भएको हो । काममा ढिलाइ हुँदा लागत पनि बढेको छ ।

सुदूरपश्चिमलगायत देशमा हजारौंको संख्यामा रोजगारी सिर्जना हुने र निर्माणसम्पन्न भएपछि तीन सय ५० भन्दा बढी स्थानीयले रोजगारीको अवसर प्राप्त गर्नेछन् । यो आयोजनाले नेपालमा भइरहेको लोडसेडिङको समस्या कम गर्न सहयोग गर्ने अपेक्षा आयोजनाले लिएको छ । यो आयोजना सुदूरपश्चिमको विकासका लागि कोशेढुङ्गा साबित हुने कालङ्गा हाइड्रो प्रालिका संस्थापक वीरेन्द्र मल्लले बताए ।

यस क्षेत्रमा विभिन्न उद्योगका लागि आवश्यक प्रशस्त कच्चा पदार्थ छन् । विद्युत् नहुँदा उद्योग स्थापना गर्न सकिएको छैन । यो आयोजना निर्माणसम्पन्न भएसँगै विभिन्न उद्योग स्थापनाका लागि सम्भावना रहेकाले विभिन्न कलकारखाना तथा उद्योगहरू सञ्चालनमा पनि यस आयोजनाले सहयोग पुग्नेछ । आयोजना निर्माण सुरु भएसँगै यस क्षेत्रका युवाले योग्यता र दक्षताअनुसार रोजगार पाइरहेको छन् । हिजोका दिनमा रोजगारका लागि विदेशिने युवा हाल यसै आयोजनामा काम गरिरहेको र यस आयोजनाले बझाङको मुहार फेरिने मल्लले बताए ।

जलविद्युत् आयोजनाका निर्माणका लागि ७५ प्रतिशत बैंकको लगानी र १५ प्रतिशत प्रतिष्ठित व्यापारीको लगानी छ । निजी क्षेत्रको लगानीमा निर्माण हुनलागेको यो प्रदेशकै सबैभन्दा ठूलो जलविद्युत् आयोजना भएको आयोजनाको दाबी छ । प्रक्रियामै समय लाग्ने भएकाले सेयर निष्काशनमा केही ढिलाइ हुने जनाइएको छ । देशको राजनैतिक गतिरोध र आफ्नो पुँजीको सुरक्षा नहुने भएपछि निजी क्षेत्र लगानी गर्न मानिरहेको छैन । निजी क्षेत्रको लगानीबारे सरकारले एकपटक सोच्नु जरुरी छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया