Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालस्टार्टअप एन्ड इनोभेसन समिति गठन

स्टार्टअप एन्ड इनोभेसन समिति गठन


काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघले स्टार्टअपहरूको प्रवर्द्धनमार्फत मुलुकभित्र उद्यमशीलता विकास, रोजगारी सिर्जनामा कार्य गर्न वर्तमान कार्यकालमा स्टार्टअप एण्ड इनोभेसन समिति गठन गरेको छ । महासंघमा स्टार्टअप एण्ड इनोभेसन समिति पहिलोपटक गठन भएको हो । कार्यकारिणी समितिका सदस्य रञ्जितराज आचार्यको सभापतित्वमा गठित समितिमा स्टार्टअप एण्ड इनोभेसन क्षेत्रमा स्थापित युवा उद्यमीहरू संलग्न रहेका छन् ।

समितिले नवउद्यमीहरूलाई अर्थतन्त्रको मूल प्रवाहमा जोड्ने, महासंघले आर्थिक रुपान्तरण मार्गचित्रमार्फत अगाडि सारेको प्रतिवर्ष चार लाख रोजगारी सृजना गर्ने लक्ष्यलाई पूरा गर्ने कार्यमा सहयोग गर्ने, स्टार्टअप/उद्योग व्यवसायबारे अध्ययन गर्ने, मुलुकभित्र नवीनतम सोचसहितको उद्यमशीलता प्रवर्द्धन गर्न उद्योग मन्त्रालयअन्तर्गत लगानी प्रवद्र्धन महाशाखासँगको सहकार्यमा स्टार्टअप नीति निर्माणका लागि पहल गर्ने, नयाँ सोचसहित केही गर्न अघि सरेका नवउद्यमीहरूको पहिचान गरी उनीहरूलाई अगाडि बढ्न आवश्यक पुँजी लगानीस्वरूप जुटाई सहयोग गर्नेलगायतका महत्वपूर्ण कार्यहरू गर्नेछ ।

यस्तै समितिले ५० वटा स्टार्टअप/उद्योग व्यवसायहरूको व्यावसायिक सफलताका लागि समितिअन्तर्गत रहेको इन्भेस्टर फोरममार्फत ५० लगानीकर्तासँग साक्षात्कार गराई लगानी तथा व्यावसायिक साझेदारीका लागि कार्यक्रम तर्जुमा गरेको छ । यसका लागि यही चैत महिनाको तेस्रो साताबाट आवेदन खुला गरिने समितिको भनाइ छ । यसमा आवेदन दिन चाहने स्टार्टअप/उद्योग व्यवसायहरू कम्तीमा एक वर्ष र सोभन्दा बढी सञ्चालनमा आएको हुनुपर्नेछ । आवेदन सबै क्षेत्र (जस्तो कृषि, उत्पादनमूलक, सूचना प्रविधि, सेवा)का लागि खुला गरिनेछ ।

समितिका अनुसार स्टार्टअप/उद्योग व्यवसायहरू लगानीका लागि छनौट भइसकेपश्चात् उनीहरूलाई लगानीकर्तामाझ पु-याउन पहिलो तीन महिनाको मेन्टरसिप कार्यक्रममा समावेश गराइनेछ । उद्यमशीलतासम्बन्धी परामर्श दिन लामो व्यावसायिक अनुभवी हासिन गर्न भएका सफल २० जना मेन्टरहरूको रोस्टर तयार गरिएको छ ।

एक स्टार्टअप/उद्योग व्यवसायलाई एक मेन्टरका हिसाबले २० स्टार्टअप/उद्योग व्यवसायलाई मेन्टरसिप कार्यक्रमअन्तर्गत लामो व्यावसायिक अनुभव बटुलेका मेन्टरहरूमार्फत करिब तीन महिना परामर्श दिई उद्यम गर्न सक्षम बनाइनेछ । मेन्टरसिपमा सफलतापूर्व मेन्टरिङ पूरा गरेका स्टार्टअप/उद्योग व्यवसायलाई मात्र लगानी जुटाउनका लागि लगानीकर्तामाझ आफ्नो व्यवसायको प्रस्तुतिका लागि मौका प्रदान गरिने समितिले जनाएको छ । केन्द्रबाहेक जिल्लास्तरमा पनि स्टार्टअप/उद्योग व्यवसायलाई आवश्यक पर्ने मार्गदर्शनका लागि भर्चुअल माध्यमबाट मेन्टरहरू उपलब्ध गराइनेछ ।

यस्तै प्रत्येक महिनाको पहिलो शुक्रबार हरेक क्षेत्रका सफल उद्यमीसँग स्टार्टअपहरूलाई सहयोग पुग्ने गरी ज्ञान शृंखलाको रूपमा प्रत्येक अंग्रेजी महिनाको पहिलो शुक्रबार फस्ट फ्राइडे टक आयोजना गरिने समितिले जनाएको छ । कार्यक्रममा सफल उद्यमीहरू र यस क्षेत्रका विज्ञहरूको सहभागिता रहनेछ । आगामी अप्रिल २ तारिखमा पहिलो कार्यक्रम आयोजना गर्ने कार्यतालिका छ ।

उक्त कार्यक्रममा हिमालयन जाभाका प्रमुख गगन प्रधानद्वारा सफल फ्रेन्चाइज बिजनेस मोडलबारे प्रस्तुतिसहित अन्तर्क्रिया गर्ने कार्यक्रम छ । सो कार्यक्रममा फ्रेन्चाइज बिजनेससँग सम्बन्धित स्टार्टअप/उद्योग व्यवसायलाई सहभागी गराइने समितिले जनाएको छ । साथै विभिन्न संघ/संस्थाको समन्वयमा स्टार्टअप डाइरेक्टरी बनाउने र डाइरेक्टरीमार्फत आफूलाई चाहेको स्टार्टअपसँग सम्पर्क गरी लगानी गर्नसक्ने अवसर सिर्जना गरिने समितिले जनाएको छ ।

यसैगरी समितिले नेपालमा नविन सोचसहित स्टार्टअप/उद्योग व्यवसाय सुरु गरेका उद्यमी व्यवसायीहरूका वास्तविक समस्या तथा चुनौतीहरूका विषयमा छलफल गरी सरकारका तर्फबाट गर्नुपर्ने सहयोगका विषयमा सुझाव तयार गर्ने र यस क्षेत्रका लागि हुनुपर्ने नीतिगत सुधारका विषयमा सरकारलाई सुझाव पेश गर्नेछ । नेपालमा पछिल्लोपटक नवीनतम सोचमा आधारित उद्यम व्यवसायमा विस्तारै बढोत्तरी हुँदै आएको पाइन्छ  ।

पछिल्लो पाँच वर्षमा नेपालमा स्टार्टअपहरू राम्रो फस्टाएको कुरालाई विभिन्न अध्ययनहरू समेत देखाएको छ । खासगरी महाभूकम्प र कोभिडपश्चात् नेपालमा पनि स्टार्टअप व्यवसायले गति लिनथालेको हो । प्रविधिमा आधारित साना तथा मझौला व्यवसायहरू उच्च वृद्धि भइरहेको देखिन्छ । विश्व इनोभेसन सूचकांकमा नेपाल १२६ देशहरुमध्ये १०९औँ स्थानमा छ ।

स्टार्टअपको सुरुवात गरेका उद्यमीहरूका अनुसार नेपालमा पुँजीको सहज उपलब्धता, करको उच्चदर, स्टार्टअपमैत्री नीतिको अभाव, नियामक अवरोधहरु र नयाँ सुरु गर्न लाइसेन्सको समस्या मुख्य चुनौती छ । उद्यमशीलता विकासका लागि आवश्यक पुँजी जुटाउन साना तथा मझौला व्यवसायीलाई पनि बजारमा प्रवेश गराउनुपर्छ । नेपालमा उद्यमशीलता वृद्धिका लागि आवश्यक पुँजी लगानी गर्ने प्रवृत्तिको अभाव छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया