Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालएमालेका चार सांसद पदमुक्त,माओवादी सांसदको पद गुम्ने संकेत

एमालेका चार सांसद पदमुक्त,माओवादी सांसदको पद गुम्ने संकेत


काठमाडौं । नेकपा एमालेले निकालेका चार जना प्रदेश सांसदको पद गुमेको छ । नेकपा माओवादी केन्द्रले हटाएका संघीय संसद्का चार जना सांसदले मागेको अन्तरिम आदेश पनि सर्वोच्च अदालतले नदिएपछि ती सांसदको पद गुम्ने देखिएको छ । यद्यपि उनीहरुको रिटमा माओवादीसँग कारण देखाउ आदेश जारी भएको छ । त्यसरी रिट निवेदन दिनेहरुमा माओवादीका लेखराज भट्ट, टोपबहादुर रायमाझीलगायत चार जना छन् ।

फ्लोर क्रस गर्ने कर्णाली प्रदेशसभाका चार प्रदेशसभा सदस्यलाई निष्कासन गर्ने गरी यसअघि दिएको अन्तरिम आदेश सर्वोच्च अदालतले खारेज गरेपछि उनीहरुको सांसद पद गुमेको हो । अब उनीहरु सांसद बन्न पुनः निर्वाचित हुनुपर्नेछ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश प्रकाश ढुङ्गानाको संयुक्त इजलासले यसअघि जारी गरेको अन्तरिम आदेश खारेज गरेको हो । अन्तरिम आदेशविरुद्ध नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आफैँ भ्याकेट निवेदनसहित सर्वोच्च अदालत गएका थिए । संसदीय दलको निर्णयविपरीत फ्लोर क्रस गर्नु लोकतान्त्रिक पद्धति एवं संस्कार र मान्यताअनुकूल नभएको सर्वोच्चको ठहर छ ।

यसअघि प्रदेशसभाका चारै सदस्यलाई एमालेले ह्विप उल्लंघन गरेको भन्दै कारबाही गरेको थियो । एमालेले गरेको उक्त कारबाहीलाई यसअघि न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अन्तरिम आदेशमार्फत बदर गरेको थियो । सो अन्तरिम आदेश खारेजीको माग गर्दै एमाले अध्यक्ष ओलीले गत असार ७ गते सर्वोच्चमा भ्याकेट निवेदन दिएका थिए । प्रधानन्यायाधीश जबरा र न्यायाधीश ढुङ्गानाले भ्याकेट निवेदनउपर सुनुवाइ गर्दै ‘मागबमोजिम हुने’ आदेश दिएका थिए ।

एमाले केन्द्रीय कमिटीले निर्णय गरेर दशौँ राष्ट्रिय महाधिवेशन आयोजक समिति गठन भएको र सो आयोजक समिति नै एमालेको आधिकारिक कार्यकारी कमिटी भएको हुनाले कारबाहीलाई मान्यता दिन अध्यक्ष ओलीले भ्याकेट हालेका थिए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया