Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालप्रधानसेनापतिको कार्यभार शर्मालाई हस्तान्तरण

प्रधानसेनापतिको कार्यभार शर्मालाई हस्तान्तरण


काठमाडौं । कायममुकायम प्रधानसेनापतिको कार्यभार बलाधिकृत रथी प्रभुराम शर्माले सम्हालेका छन् । प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले सोमबार एक कार्यक्रमका बीच कायममुकायम प्रधानसेनापति शर्मालाई कार्यभार हस्तान्तरण गरेका हुन् । थापाले आफ्नो ४१ वर्ष लामो सैनिक सेवा एवं प्रधानसेनापतिको तीनवर्षे कार्यकाल आगामी भदौ २४ गते पूरा गर्दै छन् । कार्यकाल पूरा हुनुभन्दा पहिला एक महिना घरबिदा बस्ने प्रचलनअनुसार सेनापति थापा मंगलबारबाट घरबिदा बस्ने भएकोले प्रधानसेनापतिको कार्यभार हस्तान्तरण गरेका हुन् ।

नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबारबाट लागू हुनेगरी शर्मालाई कायममुकायम प्रधान सेनापति सम्हाल्ने अख्तियारी प्रदान गरेकी थिइन् । नेपाली सेनाका पूर्वप्रधानसेनापतिहरु, निमित्त रक्षासचिवलगायत रथीवृन्द, अधिकृत, पदिक तथा सकलदर्जाहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा प्रधानसेनापति थापाले नेपाली सेनाले शर्माको रुपमा एक अनुभवी र क्षमतावान् नेतृत्व प्राप्त गर्न लागेकोमा खुशी व्यक्त गर्दै आगामी दिनहरुमा नेपाली सेना थप पेसेवर हुने विश्वास लिएको बताए । त्यसैगरी शर्माले सैनिक संगठनमा सामूहिक भावना नै सर्वोपरि रहेको र यसका लागि तालिमको महत्व रहेको चर्चा गर्दै विगतका उपलब्धिहरुलाई संस्थागत गर्दै सुधारका विषयहरुलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरेका थिए ।

यसअघि नेपाली सेनाका सकल दर्जालाई सम्बोधन गर्दै प्रधान सेनापति थापाले पद्धति र प्रणालीहरुको सुदृढीकरणमा सबैको योगदान हुनुपर्ने तथा नेपाली सेनाका सकल दर्जाले सिपाहीको विशिष्ट चरित्रलाई सदैव कायम राख्नुपर्ने कुरामा जोड दिएका थिए । उक्त कार्यक्रमपश्चात् पूर्वप्रधानसेनापतिहरूले जंगी अड्डा परिसरमा वृक्षरोपण समेत गरेका थिए । उक्त बुझबुझारथ कार्यक्रमको पूर्वसन्ध्यामा आइतबार जंगी अड्डा परिसरमा रात्रिभोजको आयोजना समेत गरिएको थियो । साथै, प्रधानसेनापति थापाले सोमबार वीरगतिप्राप्त सकलदर्जाको सम्मानमा वीर स्मारक, छाउनी तथा श्री सैनिक मञ्च, टुँडीखेलमा श्रद्धाञ्जली समेत अर्पण गरेका थिए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया