Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालनेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

डिजाइनरलाई माई सेकेण्ड टिचरबाट १ लाख नगद पुरस्कार


काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचरले राष्ट्रिय क्रिकेट टोलीको आधिकारिक जर्सी सार्वजनिक गर्दै उत्कृष्ट जर्सी डिजाइन प्रतिस्पर्धाको विजेता घोषणा गरेको छ ।

क्यान र माई सेकेन्ड टिचरले गत महिना संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गरी जर्सी डिजाइनका लागि प्रतिस्पर्धा खुल्ला गरेको थियो । प्रतिस्पर्धामा भाग लिनका लागि जर्सीमा राष्ट्रिय झण्डामा भएको रातो र नीलो रंगको प्रयोग गर्नुपर्ने र राष्ट्रिय क्रिकेट टोलीले पालना गर्ने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को नियमअनुरुप जर्सी डिजाइन हुनुपर्नेजस्ता मापदण्डहरु रहेका थिए ।

जर्सी छनोट समितिका लागि क्यानका तर्फबाट सदस्य छुम्बी लामा, जनरल म्यानेजर रौनक मल्ल र क्रिकेट म्यानेजर विनोद दासले प्रतिनिधित्व गरेका थिए भने प्रायोजकका तर्फबाट एक जनाले प्रतिनिधित्व गरेका थिए । माई सेकेण्ड टिचरको मुख्य प्रायोजन रहेको यस प्रतिस्पर्धामा विजेतालाई पुरस्कारस्वरुप नगद १ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरिएको थियो । छोटो अवधिमै पाँच सय बढी जर्सीका नमूनाहरु आएको यस प्रतिस्पर्धामा आदर्श पोखरेलको डिजाइन उत्कृष्ट साबित भई छनोट भएको छ । नेपाली टोली आईसीसीको बायो बबलमा भएकाले उपस्थित हुन नसकेका कारण प्रेस विज्ञप्तिमार्फत नयाँ जर्सी सार्वजनिक गरिएको हो ।

क्यानका कोषाध्यक्ष रोशन कुमार सिंह र माई सेकेन्ड टिचरका सह–संस्थापक सुलभ बुढाथोकीद्वारा संयुक्त रुपमा जर्सी सार्वजनिक गरिएको थियो भने विजेता आदर्श पोखरेललाई पुरस्कारस्वरुप एक लाख रुपैयाँबराबरको चेक प्रदान गरिएको थियो । माई सेकेन्ड टिचरका सह–संस्थापक बुढाथोकीले नेपाली टोलीको जर्सी राम्रो र उत्कृष्ट होस् भन्ने हिसाबले क्यानसँग खुल्ला प्रतिस्पर्धाबाट डिजाइन छनोटको लागि सहकार्य गरेको बताए ।

प्रतिस्पर्धामा आशा गरेअनुरुप यसमा धेरैभन्दा धेरैले भाग लिएको र नेपाली टोलीले पनि सबैको आँखामा बस्ने खालको जर्सीको डिजाइन पाएको उनको भनाइ छ । उनका अनुसार नयाँ जर्सी नेपाली टोलीले केही दिनमै हुने प्रतियोगिताहरूमा लगाउनेछ । साथै, उत्कृष्ट डिजाइन गर्ने आदर्श पोखरेललाई पुरस्कारस्वरुप नगद १ लाख रुपैयाँ पनि माई सेकेन्ड टिचरका तर्फबाट प्रदान गरेको उनले बताए ।

कार्यक्रममा क्यानका कोषाध्यक्ष रोशन कुमार सिंहले क्रिकेट समर्थकहरुको अटुट माया र विश्वासले गर्दा नेपाली क्रिकेट यहाँसम्म आइपुगेको बताए । समर्थकहरुको यही सद्भाव अनि साथलाई सम्मान गर्र्न आफूहरुले यो प्रतिस्पर्धा आयोजना गरेको उनको भनाइ छ । अब हुने खेलहरुमा नयाँ जर्सीले खेलाडीहरुमा नयाँ ऊर्जा र साहस दिनुका साथै नेपाल र नेपालीप्रतिको आफ्नो जिम्मेवारीको आभास दिलाइरहने उनले बताए । साथै उनले यस अभियानको सहयात्री भएकोमा माई सेकेन्ड टिचरलाई धन्यवाद दिए ।

जर्सीको डिजाइन छनोट गर्दा राष्ट्रिय झण्डाको रंग, राष्ट्रिय सांस्कृतिक एवम् प्राकृतिक सम्पदाहरुको प्रयोग, अन्तर्राष्ट्रिय अभ्यासहरु र डिजाइनरको मौलिकतालाई मध्यनजर गरेर विजयी नमूना छनोट गरेको छनोट समितिका सदस्यहरुको भनाइ छ ।

विजयी जर्सी डिजाइनमा नेपाली झण्डाको रंग, काँधमा नेपालको झण्डा, अगाडि नेपालका गौरव उच्च हिमाल र एकसिङ्गे गैँडा र पछाडि हाम्रो सांस्कृतिक र प्राकृतिक विविधताले उनेको नेपाली समाजको चित्रण गरिएको छ । यो जर्सी लगाएर नेपालले सेप्टेम्बर ५ मा पपुवा न्यु गिनीसँग पहिलो एक दिवसीय खेल खेल्दै छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया