Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालनेपाल पर्वतारोहण संघको बागमती प्रदेश समितिलाई प्रमाणपत्र

नेपाल पर्वतारोहण संघको बागमती प्रदेश समितिलाई प्रमाणपत्र


काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)ले आफूअन्तर्गतको बागमती प्रदेश कार्यसमितिलाई प्रमाणपत्र वितरण गरेको छ । एनएमएको प्रदेश शाखा समन्वय समितिले आइतबार नागपोखरी नक्साल काठमाडौंस्थित एनएमए सचिवालयको सभा हलमा आयोजना गरेको एक कार्यक्रममा नवगठिन समितिका पदाधिकारी र सदस्यहरुलाई प्रमाणपत्र वितरण गरेको हो ।

गत असार २३ गते काठमाडौंमा भएको बागमती प्रदेशभित्र रही पर्वतीय पर्यटनमा सक्रिय रहेका पर्यटन व्यवसायी तथा आरोहीहरुको भेलाले दलबहादुर गुरुङको अध्यक्षतामा एनएमको बागमती प्रदेश समिति गठन गरेको थियो । दलबहादुर पछिल्लो २० वर्षदेखि पर्यटन क्षेत्रमा सक्रिय रहँदै आएका व्यक्तित्व छन् । बागमती प्रदेश समितिमा मिलन कुमार तामाङ उपाध्यक्ष, फुडोमा शेर्पा सचिव र ठाकुर धरेल कोषाध्यक्ष रहेका छन् । यस्तै, दावा सिङ्गी हेल्मो, अमर गुरुङ, सुप्पा तामाङ, कुलदाश तामाङ, सुनिता गहतराज, लोप्साङ शेर्पा, ध्रुव श्रेष्ठ, आकाश गुरुङ, कामी शेर्पा, ऊर्जा तामाङ र ज्ञानबहादुर तामाङ समितिका सदस्य रहेका छन् ।

प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरुलाई संघका अध्यक्ष सन्तवीर लामाले प्रमाणपत्र प्रदान गरेका थिए । त्यसलगत्तै संघ अध्यक्ष लामाले समितिका पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए । सो अवसरमा संघका शाखा समन्वय समितिका संयोजक तथा संघका सचिव टीकाराम गुरुङले नवगठित समितिले नेपालको पर्वतीय पर्यटनको विकास र विस्तारका लागि महत्वपूर्ण काम गर्ने विश्वास लिएको बताए ।

यस्तै, महासचिव कुलबहादुर गुरुङले नयाँ कार्यसमितिलाई पूर्णरुपमा नेपाली पर्वतीय पर्यटनको विकासका लागि काम गर्ने बताए । सो अवसरमा संघले धौलागिरि आरोहणका लागि जानलागेका सानु शेर्पालाई संघको झण्डा हस्तान्तरणसहित विदाइ गरेको छ । सानु विश्वभर रहेका आठ हजारभन्दा माथिका १४ वटा हिमालको सफल आरोहण गरिसकेका कीर्तिमानी आरोही हुन् । उनले धौलागिरिको चुचुरोमा संघको झण्डा फहराउनेछन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया