Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालमहामारी र प्राकृतिक विपत्तिले सिकाएको पाठ, आर्थिक सुरक्षाको लागि बीमा

महामारी र प्राकृतिक विपत्तिले सिकाएको पाठ, आर्थिक सुरक्षाको लागि बीमा


कुनै पनि कुरा भत्किन्छ भने त्यहाँ नयाँ कुरा बन्ने अवसर प्राप्त हुन्छ । कोही लड्छ भने अवश्य उठ्छ नै, केही कुरा बिग्रिन्छ भने नयाँ कुरा बन्छ । यस अर्थमा हरेक नकारात्मक कुराको पछाडि केही कुरा सकारात्मक निस्किन्छ । विगतको महामारी, प्राकृतिक विपत्ति अथवा भनौं अन्य कुनै घटनाक्रमबाट हामीले सिकेको यही नै हो । वि.सं. २०७२ सालको शक्तिशाली भूकम्प होस् वा अहिलेको कोरोना महामारी । यसबाट उत्पन्न भएका धेरै नकारात्मक कुराहरु त छँदै छन् । तर यहाँ केही सकारात्मक कुराहरु पनि छन्, जसले केही नयाँ सम्भावनाहरुलाई उजागर गरिदिएको छ । कुनै पनि किसिमको महामारी वा प्राकृतिक विपत्तिबाट हुनसक्ने सम्भावित आर्थिक क्षतिलाई केही हदसम्म न्यूनीकरण गर्न सिकाएको छ । यो सिकाइको प्रत्यक्ष उदाहरण हो, नेपाली बीमा बजार ।

विगतको भूकम्प र अहिलेको कोभिड १९ को विश्व महामारीकै कारण आम नागरिकमा बीमाको महत्वबारे उजागर भएको छ । त्यही कारण पनि विगतको तुलनामा पछिल्ला वर्षहरुमा नेपालमा बीमाको पहुँच बढ्दै गएको छ ।

बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिका अनुसार २०७७ भदौ मसान्तसम्ममा नेपालको कुल जनसंख्या तीन करोड ९६ हजार पाँच सय ६० रहेको थियो । जसमध्ये २२ दशमलव ३७ प्रतिशत जनता बीमाको दायरामा आएका थिए । त्यसको ठीक एक वर्षपछि अर्थात् २०७८ भदौ मसान्तसम्ममा नेपालमा बीमाको पहुँच केही हदसम्म बढेको छ । यस अवधिमा नेपालको कुल जनसंख्या तीन करोड चार लाख ६७ हजार चार सय ८० रहेकोमा २५ दशमलव ५९ प्रतिशत जनतामा बीमाको पहुँच पुगेको छ ।

No description available.

बीमाको यो पहुँच विस्तारमा विगतको भूकम्प र अहिलेको कोभिड १९ को महामारीले नै ठूलो भूमिका खेलेको छ । आर्थिक सुरक्षाको लागि बीमा अनिवार्य रहेछ भन्ने बुझाइ आम नागरिकमा परेको छ । त्यहीकारण पनि पछिल्लो समय नेपालमा बीमाको पहुँच विस्तार भएको छ । अहिले नेपालमा हाल १९ कम्पनीहरुले जीवन बीमा, २० कम्पनीहरुले निर्जीवन बीमा र दुई कम्पनीले पुनर्बीमासहित गरी कुल ४१ बीमा कम्पनीहरुको कारोबार सञ्चालन गर्दै आएका छन् । यीमध्ये सबैजसो बीमा कम्पनीहरुको चुक्ता पुँजी बढेको छ ।

चालू आर्थिक वर्षको भदौ मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुको मात्र चुक्ता पुँजी १७ दशमलव ९६ प्रतिशतले बढेको छ । जसअनुसार गत आवको सोही अवधिमा ३३ अर्ब ४४ करोड रुपैयाँ रहेको जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी बढेर ३९ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ पुगेको छ । यसैगरी निर्जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी पनि गत आवको भदौ मसान्तको तुलनामा चालू आवको भदौ मसान्तसम्ममा १५ दशमलव ९९ प्रतिशतले बढेको छ । जसअनुसार गत आवको भदौ मसान्तममा १७ अर्ब रुपैयाँ रहेको निर्जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी चालू आवको भदौ मसान्तसम्ममा बढेर १९ अर्ब ७१ करोड ९१ लाख रुपैयाँ पुगेको छ ।

चालू आवको भदौ मसान्तसम्ममा बीमा दायरामा आएको कुल जनसंख्या भने २५ दशमलव ५९ प्रतिशत छ । गत आवको सोही अवधिमा भने बीमाको पहुँचमा आएको कुल जनसंख्या २२ दशमलव ३७ प्रतिशत रहेको थियो । समितिका अनुसार बीमा कम्पनीहरुको कुल कार्यालय संख्या पनि गत आवको भदौ मसान्तको तुलनामा ११ दशमलव ५७ प्रतिशतले बढेर तीन हजार एक सय १५ पुगेको छ ।

गत आवको सोही अवधिमा भने यस्तो संख्या दुई हजार सात सय ९२ रहेको थियो । बीमा कम्पनीमा कार्यरत कर्मचारीहरुको कुल संख्या पनि पछिल्लो अवधिमा १० दशमलव शून्य चार प्रतिशतले बढेको छ । गत आवको भदौ मसान्तमा बीमा कम्पनीहरुमा कार्यरत कुल कर्मचारी संख्या १० हजार ९१ रहेकोमा अहिले यस्तो संख्या बढेर ११ हजार एक सय चार पुगेको छ ।

बीमा समितिका अनुसार गत आवको भदौ मसान्तसम्मको तुलनामा चालू आवको भदौ मसान्तसम्ममा कुल बीमाशुल्क संकलन रकम पनि ३४ दशमलव २२ प्रतिशतले बढेको छ । गत आवको भदौमा सबै किसिमका बीमा कम्पनीहरुको कुल बीमा शुल्क रकम २५ अर्ब ७३ करोड रुपैयाँ रहेकोमा चालू आवको भदौ मसान्तसम्ममा यस्तो रकम बढेर ३४ अर्ब ५३ करोड ४७ लाख २० हजार रुपैयाँ पुगेको छ । यस अवधिमा निर्जीवन बीमा कम्पनीहरुले मात्र संकलन गरेको कुल बीमा शुल्क रकम भने छ अर्ब ३९ करोड ८१ लाख रुपैयाँ रहेको छ ।

गत आवको सोही अवधिमा निर्जीवन बीमा कम्पनीहरुको यस्तो रकम चार अर्ब ७७ करोड रुपैयाँ रहेको थियो । यसैगरी चालू आवको भदौ मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले मात्र संकलन गरेको कुल बीमाशुल्क रकम २८ अर्ब १३ करोड ६६ लाख २० हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा जीवन बीमा कम्पनीहरुले संकलन गरेको यस्तो रकम २० अर्ब ९६ करोड रुपैयाँ रहेको थियो ।

यसैगरी चालू आवको भदौ मसान्तसम्ममा कुल निर्जीवन बीमा लेखको संख्या भने सात दशमलव ६६ प्रतिशतले बढेर चार लाख ७३ हजार दुई सय ६४ पुगेको छ । गत आवको सोही अवधिमा यस्तो संख्या चार लाख ३९ हजार पाँच सय ८८ रहेको थियो । यसैगरी चालू आवको पछिल्लो अवधिमा कुल जीवन बीमा लेखको संख्या पनि १० दशमलव ८४ प्रतिशतले बढेर ८७ लाख ९६ हजार ८८ पुगेको छ । गत आवको सोही अवधिमा भने यस्तो संख्या ७९ लाख ३५ हजार पाँच सय ५३ पुगेको थियो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया